काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ ।
घटना अनुसन्धान गर्न गठित समितिले गौचनको हत्या योजनाकार देखिएका समिरमानसिंह बस्नेतले ५५ अर्ब रुपैयाँमध्ये ठेक्का लागेको करिब १३ अर्बको २ प्रतिशत कमिसन तथा घैटेको परिवारलाई थप एक करोड दिन माग गर्दा गौचनले नमान्दा उनको हत्या भएको निष्कर्ष निकालेको छ ।
तराई–मधेसको मेरुदण्ड मानिएको पूर्व–पश्चिम र उत्तर दक्षिण गरी करिब १८ सय किलोमिटर हुलाकी लोकमार्ग बनाउने ठेक्का पाएको भारतीय ठेकेदार भागेपछि नेपाली निर्माण कम्पनीले ठेक्का पाएका थिए । विभिन्न निर्माण कम्पनीलाई ठेक्का दिलाउन र असन्तुष्टलाई मिलाउने जिम्मा गौचनले लिएको जानकार स्रोतले बतायो ।
पहिलो चरणमा ५ सय १८ किलोमिटर मार्ग बनाउन १३ अर्ब ५० करोड रुपैयाँको लागत निकालिएको थियो । त्यसमध्ये ४ सय ५८ किलोमिटरको ठेक्का स्वीकृत भएको थियो । स्रोतका अनुसार ठेकेदार चयनमा महासंघका पदाधिकारीले प्रत्यक्ष हस्तक्षेप गरेका थिए । ‘आफूनिकटलाई ठेक्का दिलाउन गौचन आफैं आयोजनाको कार्यालय गएर दबाब दिने गरेका थिए,’ आयोजनाबारे जानकार एक अधिकारीले भने, ‘ठेकेदारहरू मिलाउने जिम्मा उनैले लिँदा आन्तरिक विवादसमेत देखिएको थियो ।’
गौचन संलग्न निर्माण परियोजना र उनको व्यक्तिगत दुस्मनीलाई आधार बनाएर डिआइजी गणेश केसीको संयोजकत्वमा बनेको समितिले अनुसन्धान गर्दा हुलाकी लोकमार्गको ठेक्का प्रक्रियामा सक्रियता देखिएको छ । ठेक्का प्रक्रियामा आन्तरिक विवादबारे अनुसन्धान गर्दा एकमुष्ट ठेक्का लिएर त्यसलाई टुक्राएर काम दिनेक्रममा केही विवाद देखिए पनि समितिले हत्यासम्म जानसक्ने आधार फेला पारेन । निर्माण प्रक्रियामा संलग्न अधिकारीहरूसँगको सोधखोजमा ठेक्काबापतको गुन्डा समूहलाई दिने कमिसनको जिम्मा गौचनले लिएको र अन्य समूहझै बस्नेत समूहले कुल ठेक्काको २ प्रतशित कमिसन मागेको खुल्न आएको छ । पहिलो चरणको १३ अर्ब रुपैयाँको २ प्रतिशत कमिसन छुट्याउँदा २६ करोड हुन्छ ।
‘अन्य गुन्डा समूहले कमिसनवापतको पैसा पाएको तर आफूलाई नदिएपछि बस्नेतले फोन गरेर लोकमार्गमा परेको ठेक्काको २ प्रतिशत कमिसन मागेको देखियो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘योसँगै कुमार घैटेको परिवारलाई एक करोड दिनसमेत दबाब दिएको खुल्यो ।’
लोकमार्ग निर्माण ठेक्काबापत २ प्रतिशत कमिसन मागेको तथ्य प्रहरीले निर्माण व्यवसायमा संलग्न व्यवसायीबाट समेत पुष्टि गरेको छ ।
१२ वर्षअघिको सहमतिअनुसार प्रारम्भमा भारतीय ठेकेदार कम्पनीले निर्माण काम सुरु गरे पनि तोकिएको समयमा काम पूरा नगरेपछि नेपाल सरकारले भारतीय कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।
५५ अर्ब रुपैयाँ बजेटको लोकमार्ग बनाउन भारत सरकारले ८ अर्ब दिने सहमति गरेको छ । ५५ अर्बमा ९ सय ७५ किलोमिटर पूर्व पश्चिम र ८ सय १७ किलोमिटर उत्तर दक्षिण सडक बनाउने योजना पारित भइसकेको छ । जसमा ११ सय किलोमिटरको काम सुरु भइसकेको छ ।
घैटेको परिवारलाई एक करोड दिन धम्की
घैटेको परिवारलाई एक करोड रुपैयाँ दिन दिएको दबाबको पुष्टि बस्नेत निकटबाट गरिएको एक अधिकारीले बताए । घैटे बाचुन्जेल गजुरमुखी निर्माण सेवा प्रालिको नाममा ठेक्कापट्टामा संलग्न थिए । २०७२ भदौ ४ मा आफ्नै घरअघि उनी इन्काउन्टरमा मारिएका थिए । उनी मारिनुअघि उनको शेयर रहेको कम्पनीले बागमती करिडोर निर्माण, गोंगबु–गल्कोपाखा सडक, कालीमाटी–कीर्तिपुर सडक पिच, बबई सिँचाइ आयोजना र जनकपुर बर्दिवास रेल्वे निर्माणलगायतको ठेक्का पाएको थियो ।
घैटेको मृत्युपछि महानगरीय प्रहरी अपराध महाशाखाले उनको लगानीबारे अनुसन्धान गर्दा ३० करोड रुपैयाँ बढी खुलेको थियो । निर्माण ठेक्का कम्पनीसँगै, होटल, घरजग्गा, रेष्टुरेष्टमा रहेको उनको अधिकांश लगानी अरुको नाम रहेको खुले पनि अनुसन्धान निचोडमा पुग्न सकेन ।
इन्काउन्टरमा मारिएका घैटेको श्रीमती र एक छोरी छिन् । उनले पहिलो श्रीमतीसँग छोडपत्र गरेका थिए । उनको मृत्युपछि अर्की एक युवतीले आफू घैंटेको श्रीमती भएको दाबी गरेपछि सम्पत्ति विवाद भएको थियो ।
घैटे जीवित हुँदा बस्नेत उनकै समूहमा संलग्न थिए । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको इन्काउन्टरमा घैटे मारिएपछि बस्नेत भारत पलायन भएका थिए । एक प्रहरी अधिकारीका अनुसार ‘घैटे दाजुको छोरी र भाउजू हुनुहुन्छ, उहाँलाई एक करोड दिनू’ भनेर बस्नेतले फोनमार्फत गौचनलाई भनेको पाइएको छ ।
गौचनको हत्यापछि बस्नेतले आफूनिकट केही व्यक्तिलाई फोन गरेर ‘घैटेको पैसा गौचनले लिएको र सोही पैसा दिनुभन्दा नमानेकाले हत्या गरेको’ दाबी गरेको सूचना प्रहरीले पाएको छ ।
‘घैंटे जीवित हुँदा गौचनसँग सम्बन्ध रहेको देखिए पनि दुवैबीच आर्थिक लेनदेन रहेको खुल्ने कुनै आधार भने फेला परेको छैन,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘तर, बस्नेतले ठेक्काको कमिसनसँगै घैटेको परिवारलाई पैसा दिन धम्क्याएको देखियो ।’
प्रकाशित: ३० कार्तिक २०७४ ०२:३९ बिहीबार