१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सडक पुनःमर्मत नहुँदा ज्यान जोखिममा

गाईघाट – सोह्र वर्षअघि निर्माण भई सञ्चालन हुँदै आएको सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अहिलेसम्म पनि पुनःमर्मत हुन सकेको छैन। 
लोकमार्ग खण्डमा सञ्चालन हुने अधिकांश सवारीका साधन उच्च जोखिममा पर्दै गएका छन्। सडक निर्माण भएको एक वर्षदेखि नै सडक भत्कन थाले पनि अहिले यतिका वर्ष भइसक्दासम्म यसको पुनःमर्मतसमेत नभएपछि अहिले यो मार्ग अति नै जोखिममा रहेको यातायात सञ्चालक तथा ट्राफिक प्रहरी बताउँछन्। 

उदयपुरको कटारीदेखि घुर्मीसम्मको २७ किमी सडकखण्ड अहिले अति नै जीर्ण अवस्थामा छ। सडकका दायाँबायाँ सबै भत्किसकेको तथा सडकका बीचबीचमा ठूला खाल्डा परेका कारण साना सवारीका साधन सञ्चालन गर्न दिनानुदिन जोखिम बढ्दै गएको यातायात व्यवसायी राजकुमार मगर बताउँछन् । उनी भन्छन्, “यस क्षेत्रका अधिकांश सडकका छेउ र बीचका भागमा एक फिटभन्दा गहिरो खाल्डा परेका छन्, छेउमा अन्य गाडीलाई साइड दिँदा पनि गाडी छेउको खाल्डामा फसेर पल्टिने र पहरामा झर्ने अवस्था छ ।” 

यातायात व्यवसायी होम तामाङको पनि गुनासो उस्तै छ । तामाङका अनुसार अधिकांश सडकका छेउका खण्ड नै भत्किसकेका कारण पनि छेउबाट गाडी हाँक्नाले दुर्घटना निम्तिने घटनासमेत हुँदै आएको छ। 

यातायात व्यवसायी भन्छन्, “एक त वानवे हो, दोहोरो गाडी हाँक्न साँगुरो छ, बीच र छेउको भागसमेत भत्किसकेका कारण अर्को गाडीलाई साइडदिन समेत अब जोखिमपूर्ण भइसकेको छ, छेउको गाडी खतरामा पर्न थालेको छ।” 

अहिले सडकको अवस्था झनै जीर्ण बन्दै गएको र अर्कातिर यातायात व्यवसायीले समेत यातायातको साधनको क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन सञ्चालन गरेपछि यात्रुको ज्यान उच्च जोखिममा परेको कटारी हर्देनी –५ का विष्णु खत्री बताउँछन्। 

विसं २०५२ देखि नै निर्माण शुरु भएर २०५८ सालमा नेपाली सेनाले बनाएको उक्त सडकखण्ड अहिले सोह्र वर्ष बितिसक्दा पनि एकपटक पनि कालोपत्रे नभएको र सडकको भत्केको खाल्डासमेत पुनःनिर्माण नभएकाले लोकमार्ग उच्च जोखिममा रहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउँछन्। 

लोकमार्ग जीर्ण भई सवारी दुर्घटना बढ्दै जान थालेकाले अहिले सवारी साधनलाई क्षमताभन्दा बढी यात्रु बोक्नमा प्रहरीले कडाइ गर्न थालेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ बताउँछन्। 

केही समययता उक्त सडकखण्डको घुर्मी क्षेत्रमा समेत अस्थायी ट्राफिक पोष्ट राखेर बढी यात्रु बोक्न सवारीका साधनलाई कडाइका साथ नियन्त्रण गरिए तापनि सडक जीर्ण भएकै कारण केही दिन उक्त लोकमार्गको कटारी– ५ को ठाँटी भन्ने स्थानमा जीप दुर्घटना हुँदा दश जनाको मृत्यु भएको थियो । सगरमाथा सडक डिभिजन कार्यालयले भने अहिलेसम्म पनि सिद्धिचरण लोकमार्ग पुनःमर्मत गर्ने र खाल्डा पुर्ने तथा पुनःकालोपत्रे गर्ने कुनै काम अगाडि नबढाएको यस क्षेत्रका अधिकांश यातायात व्यवसायीको गुनासो छ। 

जिम्मेवार निकायले नै यसतर्फ सडक व्यवस्थापन र पुनःमर्मतमा उचित ध्यान नदिँदा अहिले यात्रुको ज्यान उच्च जोखिममा परेको यस क्षेत्रका बासिन्दा बताउँछन् । कटारी हर्देनीका रामबहादुर राउत भन्छन्, “कि त सडक विभाग तथा सडक डिभिजन कार्यालयले यस लोकमार्ग खण्ड उचित व्यवस्थित गरेर सञ्चालन गर्नुपर्छ हैन भने प्रत्येक वर्ष निर्दोष यात्रुको ज्यान जाने यो सडक बन्द गर्दा पनि फरक पर्दैन।” 

लोकमार्ग सडक खण्डमा अहिले सडक डिभिजन कार्यालयले यात्रुलाई सेवा दिनका लागि नभई ज्यान मार्नका लागि लापर्बाही गरिरहेको हिमाली यातायात व्यवसायी संघ उदयपुरको आक्रोश छ। हरिकुमार राई/रासस

 

प्रकाशित: २६ कार्तिक २०७४ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App