१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

थपिँदै सुरक्षा चुनौती

दिनेश सुवेदी/रोल्पा/गणेश विक/रुकुम
चुनावको मुखमा रोल्पा र रुकुममा एकपछि अर्को गर्दै प्रभावशाली नेतालाई लक्षित गर्दै बम विस्फोट भएपछि सुरक्षा चुनौती थपिएको छ । शुक्रबार मन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै बम विस्फोट भएको भोलिपल्ट शनिबार रोल्पामा पूर्वमन्त्री वर्षमान पुनको गाडी एम्बुसमा पारियो ।
सुरक्षाका हिसाबले अति संवेदनशील जिल्लाका रुपमा हेरिएको रोल्पामा निर्वाचन आउनुअगाडि नै यस्ता घटना हुन थालेपछि उमेदवारहरुले असुरक्षित महसुस गर्न थालेका छन् । आफ्नो गाडी एम्बुसमा परेलगत्तै पूर्वमन्त्री पुनले भने, ‘सरकारले उम्मेदवारको सुरक्षामा ध्यान दिनुपर्छ । साथै यस्तो गैरजिम्मेवार हर्कत गर्ने समूहको कार्य निन्दनीय छ । यस्ता कार्य तुरुन्तै बन्द गर्नसमेत आग्रह गर्दछु ।’
नेपाली कांग्रेसका उम्मेदवार तथा सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले पनि घटनाको विरोध गरेका छन् । ‘यो राम्रो काम भएन । लोकतन्त्रमा चुनाव प्रचारमा हिँडेका उम्मेदवारमाथिको हमला निन्दनीय छ ।’ तर उनले केही दिनअगाडि विप्लव कार्यकर्ता पक्राउको पनि विरोध गरे । ‘हामीले शान्तिपूर्ण रुपले प्रचारप्रसार गर्न पाएजस्तै उनीहरूले पनि विरोध गर्न पाउनुपर्छ । चुनावको विरोध गर्नेहरुलाई पनि रिहा गर्नुपर्छ र उनीहरुले पनि चुनाव प्रचारप्रसारमा अवरोध गर्नु हँुदैन ।’
८० मतदान स्थल रहेको रोल्पामा ६० मतदान स्थललाई अति संवेदनशील मानिएको छ भने अन्य ५ बाहेक सबै स्थलहरु संवेदनशीलको सूचीमा छन् । विप्लव समूहको प्रभाव रहेको रोल्पामा गत स्थानीय तह चुनावमा पनि ठाउँठाउँका मतपेटिकामै एसिड खसालिएको थियो ।
स्थानिय तह चुनावपछि रुष्ट बनेका विप्लब कार्यकर्ताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल थवाङ आउने कार्यक्रम बिथोल्न गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई अपहरण गरेका थिए । दाहाल आफ्नो साख जोगाउन ठूलो चुनौती लिएर थवाङ पुगेका थिए ।
कांंग्रेस यतिबेला चुनावी कार्यक्रम लगेर थवाङ नजाने मनस्थितिमा छ । ‘विचार गर्दैछांै,  नजान पनि सकिन्छ,’ कांग्रेस उम्मेदवार तथा सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले भने ।
माओवादी केन्द्रले २७ गतेका लागि कार्यक्रम तय गरेको छ । ‘हाम्रो निर्धारित कार्यक्रम फेरिँदैन । यस्ता घटनाले हामी विचलित हुँदैनांै । शान्तिपूर्ण कार्यक्रम गर्दागर्दै गरिने कायरतापूर्ण कामसँग डराएर हिँडिँदैन,’ माओवादी केन्द्रबाट प्रदेश सभा (ख) का उम्मेदवार दीपेन्द्र पुनले भने ।
विप्लव कार्यकर्ता रोल्पालाई नै चुनाव निषेधित क्षेत्र भन्दै आइरहेका छन् । एक केन्द्रीय नेताले भने, ‘थवाङ पूर्ण रूपमा निषेधित क्षेत्र हो । यहाँ कसैका चुनावी कार्यक्रम हामी सह्य हुँदैन । शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेका हाम्रा कार्यकर्ता पक्राउ गर्ने गराउने अनि हाम्रै आधार इलाकामा अरुले कार्यक्रम गर्ने ?’
रोल्पामा पछिल्लो समय बढ्दो सुरक्षा चुनौतीप्रति स्थानीय प्रशासन पनि चिन्तित छ । जिल्लाका एक सरकारी अधिकारीले भने, ‘रोल्पामा राज्य स्तरबाटै केही सोचिनुपर्छ । सुरक्षाका हिसाबले अति संवेदनशील जिल्ला हो । दुर्गम पहाडी भूबनोट र बढ्दो हतियार प्रयोग झनै डरलाग्दो छ ।’
प्रहरीका अनुसार केही दिनअगाडि रोल्पा सदरमुकाम नजिकै हतिया सहित २ विप्लब कार्यकर्ता पक्राउ गरिएका छन् ।
पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गाउँ केन्द्रित भएको छ । धेरैको आशंका विप्लव नेतृत्वको नेकपामा छ ।

‘हामीले उम्मेदवार सबैलाई सुरक्षा दिएका छौं,’ रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने, ‘यो चुनाव बिथोल्न सक्ने प्रयास हो ।’ तदारुकताका साथ प्रहरीले सुरक्षा दिएको उनको दाबी छ । उनले यसो भनिरहँदा प्रहरीको सुरक्षामै रहेका पूर्वगृहमन्त्रीसमेत रहेका शर्मालाई लक्षित गरी बम प्रहार हुनु सुरक्षाको चुनौती भएको सर्वसाधारणको भनाइ छ ।
चुनाव बिथोल्ने शक्तिहरु गाउँ केन्द्रित भएकाले प्रहरी अझै चनाखो हुनुपर्ने स्थानीय रामबहादुर केसीले जनाए । उनले प्रहरी सदरमुकाम र बजार केन्द्रित भन्दा गाउँसम्म पुग्नुपर्ने बताए ।
विनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरी चौरजहारी नगरपालिका वडा नंं ८ गोइरीमा बम प्रहार भएको थियो । शर्मालगायतको प्रचारप्रसार टोली चौरजहारीको चुनावी कार्यक्रम सकेर सानीभेरीको सिम्लीमा चुनावी कार्यक्रम गर्न जाँदै थियो ।
नेता पुन शनिबार बिहान १०ः३० बजे जिनावाङको सुखाओढारबाट घर्तीगाउँ आउँदै गर्दा माडी गाउँपालिका वडा नं. १ भित्तावाङमा एम्बुसमा परेका थिए । करिब ५० मिटर टाढावाट तार ओच्छाएर एम्बुस पड्काइएको थियो ।
सुरक्षा चुनौती थपिदै गर्दा मतदाताहरु चिन्तित बनेका छन् । उम्मेदवारले आफ्नो चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरुले चुनाव बिथोल्न खोज्ने शक्ति लागेको र चुनाव बिथोल्ने प्रयास असफल हुने बताएका छन् ।
प्रहरीले भने नेकपाका नेताकार्यकर्ताको खोजतलास गरिरहेको छ । चुनावी सुरक्षाका लागि भन्दै जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालनमा छन् ।
छिमेकी जिल्ला रुकुम र रोल्पामा उम्मेदवार लक्षित घटना भएपछि सल्यान प्रहरीले थप सुरक्षा व्यवस्था कडा पारेको छ । सल्यानका प्रहरी नायब उपरीक्षक भरत विकका अनुसार सल्यानमा चुनावविरोधी गतिविधि गर्नेमाथि निगरानी राखिएको छ ।
 

प्रकाशित: २६ कार्तिक २०७४ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App