१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

मधेसमा संगठित तस्करीको जालो यथावतः बढ्दो तस्करी, घट्दो राजश्व

तस्करीको सामान बोकेर वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको ट्रक र यसभित्र बरामद सामान। तस्बिर सौजन्य: मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम।

राजश्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड बराबरको तस्करीको सामान बरामद गरेपछि मधेसको सीमावर्ती क्षेत्रमा संगठित तस्करी मौलाएको छताछुल्ल भएको छ।

सिरहाको सीमावर्ती माडर भन्सार क्षेत्रको विभिन्न स्थानमा लुकाई राखेको तस्करीको सामान बरामद गरे पनि राजश्व अनुसन्धान कार्यालयले तस्करलाई भने समाउन सकेन्। यसले राजश्व अनुसन्धान कार्यालयको भूमिकालाई सन्देहपूर्ण सन्देहको घेरामा पारेको छ।

राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार सूचनाका आधारमा तस्करी गरी ल्याइएका सामग्रीहरु बरामद भएका हुन। तस्कर भने उम्कन सफल भएकाले पक्राउ गरी कारबाही गर्न नसकिएको आचार्यको दाबी छ।

असोज १७ गते बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया र अमलेखगञ्जबाट प्रहरीले तस्करीको सामान बोकेर वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र ना ८ ख ४८४२ नम्बरको ट्रक नियन्त्रणमा लियो। बिलबिजकभन्दा बढी सामानको स्रोत खुलाउन नसक्दा करिब १ करोड ४२ लाख रुपैयाँ मूल्यांकन सहित कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याउँछ।

सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण वीरगन्ज भन्सार र बाराको सीमा क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ। पर्साको मुख्य भन्सार नाकासहित अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ।

रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्स लगायतका सामान भित्रिने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन्।

वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा तस्कर जाइलाग्छन्। पछिल्लो समय सीमा सुरक्षा बलले समेत तस्करी खुकुलो पारिदिँदा तस्करको रजाइँ छ।

विभिन्न सीमा नाकाबाट भित्रिने भन्सार राजस्व छलीका कपडालगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारोबारीले देशको विभिन्न सहरमा पुर्‍याउने गरेका छन्।

तस्करको उर्वर भूमि मधेस

मधेस प्रदेश सप्तरीको सीमा नाका तस्करको उर्वर भूमि बनेको छ। यहाँको विभिन्न नाकाबाट मटर, मरिच, मदिरा, छोकरा, स्याउसहितका सामग्रीको भारत तस्करी फस्टाएको छ। पारिबाट चिनी, दाल, चामल, मोटरपार्ट्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालबस्तु तस्करी व्यापक छ।

सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट स्याउ र मदिरा तस्करी व्यापक छ। यो सहितको सीमा नाकाबाट पछिल्लो समय सुन, सुपारी र स्याउ तथा मटर, मरीच र मदिरा तस्करी व्यापक छ। पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ, सुन, सुपारी, मदिरा तस्करीको सुरक्षित नाका मानिन्छ।

सिरहाको माड्र, ठाढी, बरियारपट्टी, झाझपट्टी, माड्र, चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको छ। माडर नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्षमिनीया र ठाढी नाका अन्तर्गत  झाझपट्टी, ठाढी, अभयनगर पछिल्लो समय ठूलो परिमाणमा तस्करीका लागि चर्चित छन्। यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन्।

धनुषाको जटही नाका पनि तस्करका लागि उर्वर भएको छ। यहाँका स्थानीय रञ्जीत कुमार भन्छन्, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार भएको देख्नु हाम्रा लागि मामुली कुरा हो, सर !’

सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको नामी जिल्ला हो, धनुषा। नाता सम्बन्धका कारण धनुषा र महोत्तरी बाक्लै आउजाउ गर्ने रन्जीत भन्छन्, ‘धनुषा र महोत्तरीका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै महसुस हुन्छ।’

यहाँका नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छली गरी भित्रिन्छ। यताबाट (वारिबाट) मदिरा, चाइनिज स्याउ, सुपारी पारि पुर्‍याइन्छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको बताउने स्थानीय सीमावर्ती क्षेत्रमा प्रशस्त भेटिन्छन्।

सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध वारिपारि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन्।

सीमावर्ती क्षेत्रका स्थानीयको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट पुग्दैन। पछिल्लो मधेस प्रदेशका धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करी बढिरहेको घटनाक्रमबाट पुष्टि हुन्छ।

सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाही पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ।

यी नाकाबाट पछिल्लो समय मदिरा, चाइनिज स्याउ, मरीच, मटर, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाएको सीमा क्षेत्रवासी बताउँछन्।

तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ। लाइन मिलेपछि सबै नदेखे झैँ गरेर चुप बस्ने गरेको सीमा क्षेत्रवासी बताउँछन्।

प्रदेश प्रहरी र सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धानको प्रदेश र जिल्ला कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन्।

सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले (सशस्त्र, नेपाल र अनुसन्धानका सादा पोसाकधारी) गर्छन्। घुमुवाहरु बारम्बार विवादित भइरहँदा पनि उनीहरुलाई केही समय ब्रेक दिएर पुनः जिम्मेवारमा फर्काइने गरिएको छ।

वर्षौँदेखि घुमुवाको जिम्मेवारीमा रहँदा तस्कर जति सबैसँग उनीहरुको घनिष्ठता र हिमचिम रहेको सीमा क्षेत्रवासी बताउँछन्। सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र शाह भन्छन्, ‘मधेस प्रदेशका हाम्रो उपस्थिति नभएका ठाउँहरूबाट सामान छिराएको हुनसक्छ। त्यो हामीलाई थाहा हुँदैन।’

उनले सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागि मात्र परिचालित नभएको बताए। ‘अन्य निकाय पनि छन्। हामीले थाहा नपाएको ठाउँमा अन्य निकायबाट पनि कारबाही भएका छन्। हामीले थाहा पाएको ठाउँमा हामीले पनि गरेका छौं। तस्करीमा हाम्रो कहीँ कतै मिलेमतो छैन’, शाहले भने।

यस्तै जवाफ दिन्छन् जनपथ प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी जनक भट्टराई । ‘भन्सार छली गरी ल्याएको सामान भेटाए जति ल्याएर भन्सारमा बुझाएका छौं। हाम्रो धेरै जनशक्ति सिमामा छैन’, उनले भने।

निराशाजनक राजश्व

वीरगन्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्षको २ महिनामा राजस्व संकलन निराशाजनक देखिएको छ। आर्थिक वर्ष भदौ र असोज चाडपर्वको महिना भएकाले साउनको तुलनामा भदौ, असोजमा राजस्व संकलन अधिक हुने गर्दछ।

आर्थिक वर्ष २०८०/०८१ को साउन महिनाको राजस्व संकलन लक्ष्यको ७५ दशमलव ९३ प्रतिशत छ। भदौ महिनामा लक्ष्यको ६५ दशमलव ३५ प्रतिशतमात्रै राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालय पर्साले जनाएको छ।

चालु आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११ अर्ब ७८ करोड रुपैयाँ संकलन भएको छ। भदौ महिनामा १९ अर्ब ३८ करोड लक्ष्य रहेकोमा जम्मा १२ अर्ब ६६ करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगन्ज भन्सार कार्यालय प्रमुख डिलाराम पन्थी साउन र भदौ महिनाको राजस्व संकलनको अवस्था हेरेर चालु आर्थिक वर्षको राजस्व संकलनको अवस्थालाई आकलन गर्न नसकिने बताउँछन्।

गत वर्ष राजस्व संकलनको लक्ष्य २ खर्ब ६० अर्ब रहेकोमा १ खर्ब ५७ अर्बमात्रै संकलन भएको थियो, जो लक्ष्यको ६० दशमलव २ प्रतिशत हो। वीरगन्ज भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ५१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनको मुख्य स्रोत पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारी साधनको आयात नै हो। यी  वस्तु तथा सेवाको प्रयोगमा गत वर्षको तुलनामा खासै सुधार नआएको प्रमुख पन्थी बताउँछन्।

यस्तै, जनकपुर भन्सार कार्यालयले गत्त वर्ष लक्ष्यको ६६ प्रतिशत राजश्व संकलन भएको जनाएको छ। जलेश्वर भन्सार कार्यालय, मलिबारा, महोत्तरीका अनुसार गत्त वर्ष लक्ष्यको ७७ प्रतिशत राजश्व संकलन भएको छ। सिरहा भन्सार कार्यालय माडरका अनुसार गत्त वर्ष लक्ष्यको ४७ प्रतिशत राजश्व संकलन भएको छ।

सिरहाको माडर भन्सार कार्यालयले गत्त वर्ष (२०७९/८०)मा लक्ष्यको ४७ प्रतिशत राजश्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको हालसम्म (साउनदेखि असोज १४ सम्म) लक्ष्यको ९ प्रतिशत मात्र राजश्व संकलन भएको माड्र भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८० १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App