६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

‘सेतो हात्ती’ बन्ने जोखिममा राहुघाट जलविद्युत्

गतिलो ठेकेदार परेका कारण म्याग्दीको बहुप्रतीक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य कछुवा गतिमा सञ्चालन भइरहेको छ।

रघुगंगा गाउँपालिका-३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजना सुरु भएको करिब डेढ दशकमा जम्मा ६० प्रतिशत मात्र काम सकिएको छ। प्राधिकरणले २०६६ सालमा यो आयोजनाको काम सुरु गरेको थियो।

भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा २०६६ सालमा सो आयोजना निर्माण सुरु भएको आयोजनाको भारतीय ठेकेदार कम्पनी आइभिआरसियलले सम्झौता तोडेर गएको थियो। पुनः २०७४ साल मंसिरमा भारतीय अर्को कम्पनी जेपी एसोसिएट्सले ठेक्का लिए पनि आयोजना स्थलमा उल्लेखनीय प्रगति देखिएको छैन।

ठेकेदार आइभिआरसिएललाई सम्झौता रद्द गर्नेलगायत प्रक्रियाका कारण लामो समयसम्म रघुगंगा अलपत्र पर्‍यो।

भारतीय ठेकेदार कम्पनी आइभिआरसियलसँगको सम्झौता तोडेपछिको आयोजनास्थलमा जोडिएको जेपी एसोसिएट्सको प्रगतिसमेत सन्तोषजनक छैन।

भारतीय ऋण भएकाले ठेकेदार र परामर्शदाता उसकै हुनुपर्ने सर्तका कारणसमेत राहुघाटभन्दा पछाडि सुरु भएका निजी आयोजनाले व्यावसायिक उत्पादन गरे पनि राहुघाटको प्रगति कमजोर छ।

प्राधिकरणले सहायक कम्पनीको रूपमा २०७३ मा स्थापना गरेको रघुगंगा हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेको कारण हालसम्म ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ।

आयोजनाका व्यवस्थापक राज विष्टले सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको बताए। अहिलेको कामको प्रगति हेर्दा आयोजना सम्पन्न हुन अझै आधा दशक लाग्छ।

ठेकेदार कम्पनीको कछुवा गतिमा भइरहेको प्रगतिले तेस्रो पटक तोकिएको अवधिसम्म पनि आयोजना सम्पन्न हुने छाटकाट छैन। औपचारिक रूपमै आयोजना सकिने मिति अहिले भन्न आयोजना पक्ष तयार छैन। प्राधिकरणमा कार्यकारी निर्देशक भएर कुलमान घिसिङ आएपछि आयोजनालाई प्राथमिकतामा राखेका थिए।

पहिलो तथा दोस्रो कार्यकालमा समेत घिसिङको प्रयासमा आयोजनाले गति लिए पनि ठेकेदार कम्पनीको ढिलासुस्तीको चौतर्फी आलोचना भइरहेको छ।

हालसम्म दग्नाम र झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ।

पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर वटम प्रेसर साफ्ट, ६ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र १ सय ९६ मिटर ठाडो सुरुङ निर्माण भइरहेको छ। ६ किलोमिटर २ सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म ५ हजार १ सय ६२ मिटर निर्माण सकिएको छ।

१ हजार १ सय ८ मिटर सुरुङ खन्न बाँकी छ। बाँध निर्माण स्थलमा अडिट एक, अँधेरी खोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नम्बर चार खन्ने कार्य सम्पन्न गरी ती अडिटहरूबाट सुरुङ निर्माण भइरहेको आयोजनाले जनाएको छ। घुमाउने तालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडेको छ।

तिल्केनीचौरमा विद्युत् गृहको संरचना निर्माणमा जुटेको जेपी एसोसिएट्सको कामबाट सरोकारवाला निकाय पटक्कै सन्तुष्ट छैनन्। स्थानीय राजनीतिक दलका केही नेतालाई काम दिने, पहुँचको भरमा अगाडि बढ्न खोज्ने ठेकेदार कम्पनीले शक्तिशाली मानिएकालाई रिझाउने काम गरेको स्थानीय जनप्रतिनिधिको समेत गुनासो छ।

‘स्थानीय समुदायको माग पूरा हुँदैन, पहुँचवालाहरूको रजाइँ छ,’ नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले भने। उनले म्याग्दी जिल्लाकै उज्यालो भविष्यको प्रतिनिधित्व गर्ने राहुघाटलाई गति दिन विभिन्न चरणमा गरिएका प्रयासले समेत काम नगरेको बताए। 

प्रकाशित: २० आश्विन २०८० ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App