३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मदन भण्डारी राजमार्गको निर्माण कार्य अन्तिम चरणमा

निर्माणधिन धरान—चतरा—सिन्धुली—हेटौँडा(मदन भण्डारी) राजमार्गको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा बैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तिव्र गतिमा भएपछि निर्माणले गति लिएको हो।

राजमार्गको पुर्वी र पश्चिम दुबै खण्डको काम तिव्र गतिमै भइरहेको र हालसम्म ९८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। पुर्वी खण्डस्थित सिन्धुली क्षेत्रमा ९९ प्रतिशतनै काम सम्पन्न भइसकेको आयोजनाको पुर्वी खण्ड अन्र्तगतको कार्यालयले जनाएको छ। राजमार्गलाई पुर्वी र पश्चिम खण्ड गरि दुई क्षेत्रमा विभाजन गरि उदयपुर जिल्लाको बसाहा देखि मकवानपुर हेटौडासम्मको निर्माण कार्य भइरहेको छ। पुर्वी खण्ड आयोजना प्रमुख गोपाल खकुरेलका अनुसार राजमार्गको सिन्धुली क्षेत्रमा ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। राजमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ, उनले भने, केहि पुलको एप्रोज सडक कालोपत्रे गर्ने बाहेक सबै काम सम्पन्न भइसकेको छ। एप्रोच सडक निर्माण कार्य सकिएसँगै सिन्धुलीको भिमानदेखि ककुर खोलासम्मको निर्माण कार्य सम्पन्न हुने आयोजनाको पुर्वी खण्ड कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक बर्षमै सिन्धुली क्षेत्रको काम सम्पन्न हुनेछ। पुर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १ सय ३४ किलोमिटर सडकको निर्माण भइरहेको छ। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको राजमार्गको दुबै खण्डमा करिब झन्डै ९८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। सिन्धुली सदरमुकामस्थित धुराबजार क्षेत्रमा सडक विस्तार हुन सकेको छैन भने अन्यन्त्र सडक निर्माणले अन्तिम चरणमा पुगेको छ।

धुराबजार क्षेत्रमा सडक विस्तारमा विवाद आएकाले सडक बाइबास गरि अन्यन्त्र सार्नका लागि फाइल पेश भएको सडक डिभिजन कार्यालय हेटौडाका सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादवले जानकारी दिए। उनका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल १ सय १५ किलोमिटर सडकमध्ये सिन्धुली सदरमुकामस्थित धुराबजारको विवादित क्षेत्र बाहेक अन्यन्त्र सबैतिर काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

सिन्धुलीको सदरमुकाम स्थित कमलामाई नगरपालिका ४ खट्टारदेखि धुराबजारसम्मको ६ किलोमिटर सडक निर्माणमा स्थानियले रुट परिवर्तनको माग गर्दै लामो समय अवरोध गरेपछि यस क्षेत्रमा ढिलो गरि सडकको चौडा घटाएर सडक निर्माण गरिएको छ। पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल १ सय १५ किलोमिटर सडकमध्ये सिन्धुली सदरमुकामस्थित धुराबजार क्षेत्रमा विवाद भइ काम हुन नसकेपछि अन्यन्त्र सबै स्थानमा काम सम्पन्न गरि ठेकेदार कम्पनीले भुक्तानी लिएको आयोजनाले जनाएको छ।

२०७३ साल कार्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समयमा समयवधि थप भइ २०७७ साल फागुन भित्र सम्पन्न गर्नुपर्नेमा कोरोनाका कारण निर्माणको अवधि पुन थप भएको थियो। राजमार्गको निर्माणको जिम्मा पश्चिम खण्डमा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पुर्वी खण्डको जेट आइ.इसी शर्मा एण्ड लामा जेभीले निर्माणको जिम्मा लिएको हो। ११ मिटर चौडाई रहेको उक्त सडक दुई पत्रमा पिच भएको आयोजनाले जनाएको छ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच भएको र  त्यस माथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच गरिएको राजमार्ग आयोजना कार्यालयले जनाएको छ। 

प्रकाशित: ८ आश्विन २०८० ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App