१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

शक्तिपीठमा बली  दिएर महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ, असोज १२ – नेपाली हिन्दु धर्मालम्बीको महान पर्व दसैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजाआजा गरेर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ  गरी दसैं घर र कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिईन्छ । 
काठमाडौं उपत्यकका दक्षीणकाली, नक्साल भगवती, मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान शोभा भगवती, भद्रकाली, नरदेवी, बज्रबाराही, बज्रबाराही बंगलामुखी लगायतका शक्तिपीठमा बली दिने पूजा आराधाना गर्नेको भीड लागेको छ । त्यस्तै, गोरखाको गोरखकाली, चितवनको मौला कालिका, काभ्रेको पलाञ्चोक भगवती, नेपालगञ्जको बागेश्वरी, धादिङको त्रिपुरासुन्दरी लगायत देशभरका शक्तिपीठमा भत्तलजनको घुइँचो लागेको छ ।
‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएजस्तै आज सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजा गरिन्छ,’नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने,‘राज्य सञ्चालकले शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । त्यसैले तीन वटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो ।’
शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षी पञ्चवलीे बलि दिने प्रचलन छ । मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।

प्रकाशित: १२ आश्विन २०७४ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App