५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हियाखोलामा कानुनी सचेतना

हियाखोलामा बाल विवाहविरुद्ध कानुनी सचेतना गर्दै।तस्बिर : गोल्डेन/नागरिक

 तातोपानी गाउँपालिका ६ हियाखोला गाउँमा बाल विवाहविरुद्ध सचेतना कार्यक्रम गरिएको छ। इन्सेक, मानवअधिकार रक्षक सञ्जाल जुम्लाको आयोजना तथा वडा नम्बर ६ र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बाल विवाहविरुद्ध कानुनी सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रमको सहजीकरण वरिष्ठ अधिवक्ता देवेन्द्रबहादुर शर्माले गरेका हुन्।

‘विहाबारी २० वर्ष पारी’ भन्ने सरकारको नारा भए पनि यहाँका गाउँबस्तीमा कम उमेरमा विवाह गरेका छन्, जसका कारण मानव वृत्ति विकासमा प्रत्यक्र्षे गरेको छ। बाल विवाह न्यूनीकरण गर्न एक दिवसीय बाल विवाहविरुद्ध सचेतना कार्यक्रम गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए। उनले भने, ‘बाल विवाह नगर्न कानुनमा लेखिए पनि कार्यान्वयनमा आउन सकेको पाइँदैन।’ बाल विवाहविरुद्ध कानुनी सचेतना कार्यक्रम सहजीकरण गर्दै वरिष्ठ अधिवक्ता शर्माले भने, ‘कानुनको पालन सवै नागरिकले गर्नु पर्दछ। २० वर्ष नपुगी विवाह गर्न नपाइने हाम्रो कानुनी प्रावधान छ। तर पनि हाम्रा गाउँठाउँमा बाल विवाह भइरहेको देखिन्छ। यसमा राज्यका निकायदेखि समुदायका नागरिक सचेत हुन जरुरी रहेको छ।

नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैरकानुनी हुने भएकाले बदर हुने व्यवस्था गरिएको वरिष्ठ अधिवक्ता शर्माले बताए। यस्तै कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र १० हजार जरिवाना हुन सक्ने प्रावधान छ। बाल विवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र एक हजारदेखि १० हजार रूपैयाँसम्म जरिवाना तोकिएको छ। बाल विवाह गराउने पुरोहित, जन्ती जाने र बाल विवाहमा सहमति जनाउने सबैलाई एक महिना कैद वा एक हजार रूपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित: ४ आश्विन २०८० ०८:११ बिहीबार

हियाखोलामा कानुनी सचेतना