१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारत नेपालको प्रगति देख्न चाहन्छ: भारतीय राजदूत श्रीवास्तव

भारतीय राजदूत नविन श्रीवास्तवले भारत र नेपाल एक असल मित्र राष्ट्र भएको बताएका छन्। उनले दुई देश बिचको भौगोलिक दूरी मात्रै नभई हरेक सम्बन्ध नजिक रहेको बताए।

भारतीय राजदूतावासको आर्थिक सहयोगमा टीकापुर बहुमुखी क्याम्पसमा निर्मित भवनको उद्घाटन गर्न आज टीकापुर पुगेका राजदूत श्रीवास्तवले भारतले नेपालको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा निरन्तर लगानी गरिरहेको बताए। उनले कम्युनिटी डेभलपमेन्ट कार्यक्रम अन्तर्गत भारतले सन् २००३ देखी लगानी गर्दै आएको जानकारी दिए।

उनले यस कार्यक्रम अन्तर्गत हालसम्म नेपालमा पाँच सय योजना सम्पन्न भैसकेको बताए। जसमध्ये सुदूरपश्चिम प्रदेशमा मात्रै ४० वटा योजना सम्पन्न भएको उनले सुनाए। ती मध्ये ३० वटा योजना हस्तान्तरण समेत भैसकेका छन्।

उनले एक असल छिमेकी भएका नाताले भारतले नेपालको प्रगति देख्न चाहेको बताए। नेपालको प्रगतिमा सधैँ भारतको साथ रहने बताउँदै यो साथ अनन्तकालसम्म जारी रहने उनको भनाइ थियो।

उनले भारतको आर्थिक संवृद्धि तीव्र गतिमा अघि बढिरहेको बताउँदै सोही अनुसारको प्रगति नेपालको समेत होस् भन्ने चाहना रहेको बताए।

‘हामी अहिले आर्थिक प्रगतिका हिसाबले विश्वको पाँचौँ स्थानमा छौं। केही वर्षमै हामी तेस्रो स्थानमा हुनेछौं’ उनले भने –‘हामी छिमेकीको पनि त्यसरी नै आर्थिक संवृद्धि होस् भन्ने चाहन्छौं।’

उनले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र दार्चुलामा पक्की पुल निर्माण भएपछि सुदूरपश्चिमको व्यापार बढ्ने बताए। उनले सुदूरपश्चिममा बढ्ने व्यापारले नेपालको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले सुख्खा बन्दरगाह र पक्की पुल दुई वर्ष भित्र निर्माण भइसक्ने जानकारी दिए। उनले महाकाली नदीमै भारत र नेपाल जोड्ने थप दुई वटा पक्की पुल भारत सरकारको आर्थिक सहयोगमा निर्माणका लागि पहल भइरहेको पनि सुनाए।

‘सुदूरपश्चिम दिल्ली, उत्तराखण्ड जस्ता सहरसँग नजिक छ’ उनले भने –‘सुख्खा बन्दरगाहले यहाँको व्यापार बढाउने निश्चित छ।’

उनले अन्त्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै भारत र नेपालको सम्बन्ध अझै प्रगाढ होस् भन्ने चाहेको बताए। ‘नेपालसँगको सम्बन्ध अझै राम्रो होस् भन्ने प्रधानमन्त्री मोदीको चाहना छ’ उनले भने –‘यसका लागि हाम्रो कदम अघि नै बढ्ने छ, पछि हट्ने छैन।’ 

दूतावासको आर्थिक सहयोगमा निर्माण भएका दुई भवन राजदूत श्रीवास्तवले आजै हस्तान्तरण समेत गरेका छन्। ती भवन ३ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण भएका हुन।

प्रकाशित: ३१ भाद्र २०८० १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App