१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाँसले जोडेको दुई देशको मित्रता

खाँडो नदीमाथिको बाँसको पुलमा बाढीले क्षति पुर्‍याएपछि नदीबाटै वारपार गर्दै स्थानीय। तस्बिर : विजय राई

तिलाठी (सप्तरी)- जिल्ला सदरमुकाम राजविराजबाट दस किलोमिटर दक्षिणमा तिलाठी बजार अवस्थित छ । जहाँ सप्तरीको एकमात्र राजविराज (बेलही) भन्सार कार्यालय छ । बर्सेनि करोडौं राजस्व असुल हुने यस भन्सार नाका र छिमेकी मुलुक भारतलाई जोड्ने पक्की सडक भने छैन ।
भारत बिहारको कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ । दुवैतिर सडक भए पनि नदीमा पक्की पुल छैन । जीर्ण र जर्जर अवस्थामा रहेको बाँसको पुल (छेदी पुल) बाटै जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ । त्यो पुल पनि सरकारले बनाएको हैन । दशकौं अघि एक स्थानीयले बनाएको त्यही बाँसको पुलले दुई देशबीचको व्यापार मात्रै होइन, मित्रतालाई पनि धान्दै आएको छ ।
‘कुनौली बजार जाने अर्को कुनै वैकल्पिक बाटो छैन,’ स्थानीय व्यवसायी दिलीप मण्डलले नागरिकसँग भने, ‘सीमापारिबाट सामान ल्याउन त्यही पुल प्रयोग गर्नुपर्छ ।’ झन्डै पाँच दशकअघि तिलाठीकै छेदी रायले उक्त पुल बनाएका थिए ।
तिलाठी र सकरपुराका राजपुत र बाहुन (मालिक र बावु) लाई छेदीले डुंगाबाट खाडो खोला वारपार गराउँथे । पछि तिनै राजपुत र बाहुनहरूको सहयोगमा उनले बाँसको पुल बनाएका थिए । पुल प्रयोग गरेबापत स्थानीयले उनलाई मंसिरमा वार्षिक शुल्कवापत धान (खन) दिन्थे । त्यसैबाट छेदीले आफ्नो परिवार पाल्दै आएका थिए ।
छेदीको निधन भएको पाँच वर्ष भइसक्यो । उनका छोराहरूले पिताको कामलाई निरन्तरता दिँदै आएका छन् । अनि पुलको रेखदेख पनि । बिहान ५ बजे गोठको धन्दा भ्याएर पुलमा आइपुग्ने छेदीका छोरा रामचन्द्र साँझ ८ बजेमात्र तिलाठीकै बेल्हीस्थित घर फर्कन्छन् । ‘बिहानदेखि आउँछु आउने–जानेले जति पैसा दिन्छन् त्यही लिएर साँझ घर फर्कन्छु,’ शुक्रबार पुलमा भेटिएका उनले भने ।
पुल प्रयोग गरेबापत यति नै पैसा दिनुपर्छ भन्ने बाध्यता नभएको सुनाउँदै उनले थपे, ‘जसलाई जति मन लाग्छ त्यति दिन्छन् । कोही नदिईकन पनि जान्छन् । ल्याउनुस् भनेर माग्दिनँ ।’
४५ वर्र्षीय रामचन्द्र आफू ५÷६ वर्षको हुँदा नै बुवाले  उक्त पुल बनाएको बताउँछन् । त्यतिबेलादेखि आफ्नो परिवारको गुजाराको मुख्य स्रोत त्यो पुल नै बन्न पुगेको उनको भनाइ छ । यसबाहेक पुल वारपार गरेबापत छेउको तिलाठी र सकरपुराका गाउँलेबाट वार्षिक रुपमा धानसमेत लिने गरेको उनले बताए । उनले भने, ‘प्रतिपरिवार ४÷५ किलो धान उठाउँछु तर यति मात्रैले पुललाई निरन्तरता दिनसक्ने अवस्था भने छैन ।’
पैदल यात्रुबाहेक साइकल, मोटरसाइकल, रिक्सालगायत सवारीसाधन सहजै वारपार गर्न सक्ने अवस्थामा पुल छ । साउनको अन्तिम साताको बाढीले आधा पुल बगाएपछि छेदीका जेठा छोरा रामचन्द्र शुक्रबार केही मजदुरका साथ मर्मतमा जुटिरहेका थिए । ‘पुल बाढीले भत्कायो, बनाइदिन पाए सबैलाई सजिलो हुन्थ्यो,’ उनले भने, ‘अझै दुई दिन लाग्ला जस्तो छ ।’
पुल नहुँदा सर्वसाधारण खाँडो खोलाबाटै वारपार गरिरहेका छन्, जुन बर्खामा जोखिमपूर्ण छ । पुल नहुँदा सप्तरीको दक्षिणी भेगका तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टीसहित दर्जन बढी गाविसका सर्वसाधारण वर्षा याममा जोखिम मोलेर वारपार गर्न बाध्य छन् । उनीहरूको मुख्य बजार कुनौली नै हो ।
स्थानीय देवनारायण यादवले दुई देशबीच व्यापारिक र पारिवारिक सम्बन्ध भए पनि दुवै देशले खाँडो नदीमा पुल निर्माणमा चासो नदिएको गुनासो गरे । ‘यही बाँसको पुलका कारण सर्वसाधारण नदीमा दिनहुँ हेलिनुपर्ने अवस्था थिएन, अहिले त त्यही पनि छैन,’ उनले भने, ‘बर्सेनि करोडौं कर उठाउन जानेका छन्, स्थानीयको पीडा बुझ्ने कोही छैन ।’
कुनौलीका स्थानीय जनप्रतिनिधि अरविन्द्र गुप्ताले व्यापारिक केन्द्र मात्र नभएर पारिवारिक सम्बन्ध निर्वाह गर्नका लागि पनि खाँडो नदीमा पक्की पुलको आवश्यकता रहेको बताए । ‘दुवैतर्फबाट पुलको आवश्यकता महसुस भएको छ,’ उनले भने, ‘पुल निर्माणका लागि राज्यका विधायक र सांसद्लाई पनि गुहारेका छौं ।’
गजेन्द्रनारायण सिंह आपूर्तिमन्त्री बनेकै बेला नेपाल–भारत मैत्रीपुल निर्माण गरी कुनौली–फत्तेपुर सडक खण्डलाई पूर्णता दिने बताएका थिए । भारतकै सहयोगमा निर्माण सुरु गरे पनि पाँच वर्षदेखि काम अघि बढ्न सकेको छैन ।

प्रकाशित: ३१ भाद्र २०७४ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App