२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सडक दुर्घटना बढेपछि छाडा चौपायाकाे घाँटी र सिङमा रेडियम !

धनगढी–अत्तरिया सडक

धनगढी–अत्तरिया ६ लेन सडक खण्डमा छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम बाँध्दै ट्राफिक प्रहरी । तस्बिरः पुष्पराज जोशी-नागरिक

धनगढीको मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडक खण्ड ६ लेन बनिसक्यो। ६ लेन सडक जति चौडा भयो उत्ति नै दुर्घटनाको भय पनि बढेको छ। तीब्र गतिमा सवारी साधन गुड्दा छाडा चौपायाकै कारण ६ लेन सडक खण्डमा सवारी दुर्घटनामा परेर यात्रुले ज्यान गुमाउनु परेको छ।  

धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिटर सडक खण्डमा गत आर्थिक वर्षमा मात्रै २४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका थिए। ती मध्ये ९ जना मानिसको त छाडा गाई गोरुमा सवारी साधन ठोक्किएर ज्यान गएको हो। यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३ वटा सडक दुर्घटना भएका छन्। जसमा १ जनाको छाडा गाईसँग ठोक्किएर दुर्घटनामा परेर घाइते भएका छन्।  

छाडा चौपाया दिनभर यताउति गए पनि बेलुकीको समयमा भने ६ लेन सडक खण्डमा आउने गरेका कारण बेलुकी तथा रातिको समयमा सडक दुर्घटनाका घटना घट्ने गरेका छन्। ६ लेन सडकसँग जोडिएको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा सडकमा गाई गोरुले गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीय महेश कठायत बताउँछन्।

‘रातिको समयमा ६ लेन सडकमा मोटरसाइकलमा यात्रा गर्दा झन कालो रंगको गाई गोरु देखिँदैन र सडक दुर्घटनाका घटना घट्ने गरेका छन्,’ उनले भने,‘सडकमा बसेका गाई गोरुकै कारण सबैभन्दा बढी मोटरसाइकल चालकलाई समस्या भइरहेको छ।’ सडक दुर्घटना चालक र यात्रु दुवैको लापरबाहीका कारण हुने गरेको भए पनि छाडा चौपायाले बाटो काटिदिँदा तथा रातिको समयमा सडकमा बसेका चौपाया नदेखिँदा ठोक्किएर बढी दुर्घटना भएको स्थानीय बताउँछन्। सो सडक क्षेत्रमा दुर्घटनाको अवस्था हेर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको उनी बताउँछन् । ‘सबैभन्दा बढी मोटरसाइकल नै दुर्घटनामा पर्ने गरेका छन्,’ उनले भने,‘मादक पदार्थ सेवन गरेर अर्कालाई ठोक्ने र आफै पनि पल्टने मात्रै नभई गाई गोरुसँग ठोक्किएर पनि मर्ने तथा घाइते हुनेको संख्या बढ्दो छ ।’  

गाई गोरुको घाँटी र सिङमा रेडियम

६ लेन सडक खण्डमा अत्याधिक सडक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जुक्ति निकालेको छ । ट्राफिकले ६ लेन सडक खण्डमा देखिएका छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम लगाउने गरेको हो । जसले गर्दा रातिको समयमा टाढैबाट गाई गोरुको घाँटी तथा सिङमा लगाइएको रेडियम चम्किने भएकाले सडक दुर्घटनाका घटना कम हुने निक्र्यौल निकाल्दै त्यस्तो गरेको जनाएको छ ।  

धनगढी–अत्तरिया ६ लेन सडकमा भेटिने छाडा चौपायाको सिङ तथा घाँटीमा रेडियम (रिफ्लेक्टिक स्टिकर) लगाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए । उनले भने,‘सडक खण्डमा रातिको समयमा सवारी चालकको सहजताको लागि छाडाचौपायामा रेडियम लगाउन लागिएको हो।

’ रेडियम लगाउनुका साथै गाई गोरुलाई सडकबाट धपाउने कार्य पनि गरिरहेको उनले बताए । ‘हामीले छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम बाँध्ने गरेको छौँ,’ उनले भने,‘त्यसका साथै सडकमा रहेका छाडा गाई गोरुलाई त्यहाँबाट धपाउने गरेका पनि छौँ । सडक चौपायारहीत बनाउने हाम्रो उद्देश्य पनि हो ।’ दिनमा भन्दा रातिको समयमा झन सडकमा बढी चौपाया हुँदा समस्या भएको चालकले गुनासो गरेका कारण आफूहरुले रेडियम बाँध्ने गरेको उनले बताए । छाडा चौपाया र चालकको सुरक्षाका लागि रेडियम बाँध्ने कार्य धनगढी उपमहानगरपालिकाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले थालेको हो ।  

प्रकाशित: २२ भाद्र २०८० ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App