बनरझुला(सप्तरी)- बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। कतै औषधिको खाँचो छ त कतै खाद्यानका लागि कोलाहल। एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ।
‘पछिल्लो तीन दिनदेखि छोरीलाई ज्वरो आइरहेको छ, अस्पताल जान सक्ने अवस्था छैन’, कोसी पश्चिमी तटबन्धमा पाल टाँगेर परिवारसहित बस्दै आएकी सप्तरी बनरझुलाकी अनिलादेवी मुखियाले भनिन्, ‘घरमा अझै पानी छ, एकातिर घरको चिन्ता, अर्कोतिर छोरीको चिन्ता, औषधिसम्म पाएको भए छोरीलाई दिन्थें ।’ ६ महिने छोरी रेशमासँगै घरका अन्य तीन बालबालिका ज्वरो तथा रुघाखोकीले पीडित रहेको अनिलाले बताइन् । बनरझुलाका ४ सयभन्दा बढी परिवार हाल विस्थापित भएर बाँधछेउमा तीन दिनदेखि बस्दै आएका छन् ।
त्यहाँका ५० भन्दा बढी बालबालिका बिरामी परेको स्थानीय रामेश्वर मुखियाले जानकारी गराए ।
त्यस्तै सोही भेगका कुसहा, सखुवा, कोबर्साइन, कोइलाडी, रम्पुरा, डलबालगायतका स्थानका विस्थापितको क्याम्पमा समेत ठूलो संख्यामा बालबालिका तथा वृद्धवृद्धा बिरामी परिरहेका छन् । ‘यहाँको पहिलो प्राथमिकता भनेको खाद्यान र औषधि नै हो तर हामीले केही पनि पाएको छैन’, स्थानीय रामचन्द्र मुखियाले भने, ‘हजारौंको संख्यामा पीडित छौं तर सयौंका लागि च्युरा–मुरही ल्याइन्छ, यसरी समस्या समाधान हुँदैन ।’
प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य टोली परिचालन गरिएको बताए पनि मंगलबार साँझसम्म बाढी प्रभावित कुनै पनि क्षेत्रमा स्वास्थ्यटोली पुग्न सकेको छैन । मंगलबारै बसेको ‘हेल्थ कलस्टर’ को बैठकले तत्काल चारवटा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।
राहतको नाममा कुहिएको चामल
शनिबार जिल्ला विपत् व्यवस्थापन समितिले बनरझुला, कुसहा तथा रम्पुरा क्षेत्रमा राहतका नाममा बाँडेको चामल कुहिएको रहेको स्थानीय बाढीपीडितको आरोप छ । बनरझुलाका जागेश्वर रायका अनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल नेतृत्व र प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखको उपस्थितिमा कुहिएको चामल बाँडिएको हो ।
‘हाम्रो वरिपरि रहेका विस्थापितका लागि सामूहिक रुपमा ९ थान त्रिपाल र २९ प्याकेट चामल दिइएको थियो’, रायले भने, ‘पछि प्याकेट खोल्दा चामलको अवस्था हेरेर छक्क परें ।’ दुईवटा प्याकेट खोलेपछि अरु प्याकेटलाई जस्ताको तस्तै राखिरहेको रायले बताए ।
‘कुहिएर गनाउन थालेको अवस्थामा रहेको चामल बाढीपीडितलाई बाँड्नुको के अर्थ’, अर्का बाढीपीडित देवराम शर्माले भने, ‘बाढीपीडितको घाउमा मल्हम लगाउनुको साटो यस्तो कार्यले झन् पिडा थाप्ने काम मात्रै हुने गर्छ ।’
सोही दिन कुसहामा बाँडिएको चामल पनि खान योग्य नपाएपछि पीडितले त्यत्तिकै राखेका छन् । बाढीपीडितका नाममा कुहिएका, गनाएका, कामै नलाग्ने खालका सामग्री विपत् व्यवस्थापन समितिबाटै बाँडिएको घटनाले स्थानीय आक्रोशित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले वितरणका बेला उक्त सामग्री गुणस्तरीय नै रहेको दाबी गरेका छन्। उनले भने, ‘मैले बुझ्दा राम्रै सामग्री भनेर बाँडिएको थियो, हामीलाई उक्त सामग्री शिरिशको फूल नामक समाजिक संस्थामार्फत रुक्मांगद कटवाल ट्रस्टले उपलब्ध गराएका थिए ।’
विपत् व्यवस्थापन समिति निकट स्रोतका अनुसार साउन २७ गते नै ट्रस्टले शिरिशको फूल नामक समाजिक संस्थामार्फत कपडा र चामल उपलब्ध गराएको हो । ‘केही लत्ताकपडा र पाँचपाँच केजीका एक सय ८० प्याकेट चामल समितिलाई २७ गते नै बुझाइएको हो’, स्रोतले भन्यो, ‘त्यति बेला सामग्री ठीकै देखिन्थ्यो । हामीमध्ये कसैले बोरा खोलेर चामले अवस्था भने हेरेनौं ’
त्यसपछि ती सामग्री राजविराजस्थित नेपाल रेडक्रस सोसाइटी सप्तरीको गोदामका राखिएको थियो । सोही रातिको बाढी गोदामभित्र समेत पसेको थियो । त्यति बेलै चामल भिजेको स्रोत बताउँछ । २८ गते बिहान सोही सामग्री बाँडिएको थियो । प्रजिअ पाण्डेले यसवारे छानबिन भइरहेकाले सत्यतथ्य बाहिर आएपछि दोषीउपर कारबाही गरिने बताए ।
प्रकाशित: ३२ श्रावण २०७४ ०१:४६ बुधबार