२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह

मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले वाग्मती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे।

उनले  बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसंग सहयोग मागिएको बताए।

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि एक करोड रुपैयाँ पठाए पनि हालसम्म अति विपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिका लगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि प्रकट गर्दै उनले भने, ‘हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै तीन-चार करोड रुपैयाँ आवश्यक पर्दछ।’

बाढीले हेलम्बु-४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन्।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत क्षेत्रको शनिबार निरीक्षण गरेका छन्। उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् हुन्।

अविरल वर्षाका कारण जिल्लाको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचना, चनौटे बेलीब्रिज, मेलम्ची बेलीब्रिज लगायत केही घरमा बाढीले क्षति पुर्‍याएको छ।मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायलाई निर्देशन दिए।

बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री उनले बागमती प्रदेशका सभा सदस्य कृष्णकुमार तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरी लगायतका नेतालाई पनि त्यहाँ खटाइएको बताए।  

प्रकाशित: १० भाद्र २०८० ०४:१६ आइतबार

हेलम्बु गाउँपालिका पुनःनिर्माणमा सहयोग गर्न आग्रह बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धार