२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

सरकारी टोली बडिमालीका प्रस्थान। तस्बिर: गोल्डेन बुढा/नागरिक।

जुम्लाको सरकारी टोली सोमबार बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ।

नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो।

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्व-साधारणले फुलमाला, अबिरसहित पञ्चेबाजाका साथ पठाएका छन्।

बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तिर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ।

त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पूजा गर्नको लागि जाने गर्दछ। बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई नेपाली सेनाले सलामी दिएर सदरमुकाम खलंगाबाट बिदाइ गरेको हो।

परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले बेनबाजा र बिगुल फुकेर पठाउने चलन रही आएको संस्कृतीविद रमानन्द आचार्यले बताउँछन्।

जिल्ला प्रशासन जुम्लाका कार्यालय जुम्लाका सुब्बा एकराज गिरीको नेतृत्वमा आज प्रस्थान गरेको टोली १७ दिन पछि मात्र जुम्ला सदरमुकाम आइपुग्ने गर्दछ।

जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टिका, विनायो, चाँदीको कांगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामान पेटारो झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाइएको छ। त्यस्तै भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसँगै मार्सिधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा तोरण जस्ता प्रसादहरु पठाएका छन्।

जिल्लाबाट गएको टोलीसँगै गाउँ गाउँबाट पनि अन्य भर्मालम्बीहरु थपिँदै जाने गर्दछन्। समाजसेवी चित्रलाल श्रेष्ठको घरबाट भगवती निकालेर चन्दननाथ, भैरवनाथ मन्दिर परिक्रममा पछि सो टोली बढिमालिका प्रस्थान गरेको हो।

प्रकाशित: ४ भाद्र २०८० ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App