चितवन- ठाउँ ठाउँमा पहिरो गएका कारण नारायणगढ मुग्लिन सडक खण्डमा आज पनि गाडी चल्ने स्म्भावना कम छ। पहिरोका कारण सो सडक खण्ड बुधबार साँझबाटै अवरुद्ध छ। पहिरोको जोखिम भएको ठाउँमा फँसेका गाडीहरुलाई बल्ल बल्ल एक तर्फी बाटो खुलाएर सुरक्षित स्थानलमा लगे पनि यातायात सञ्चालन सहज हुन दुई तर्फी रुपमा नै बाटो खुल्नु पर्ने हुन्छ।
आयोजनाले दिएको जानकारी अनुसार आज मध्यान्हसम्म बाटो खुल्ने सम्भावना छ। ३६ किलो मिटर लामो सो सडक खण्डमा मुग्लिनदेखि गाइघाटसम्म १० ठाउँमा पहिरो खसेको आयोजनाले जानकारी दिएको छ। आयोजना सुरु भएदेखि यताकै सवैभन्दा ठुलो पहिरो अहिले खसेको आयोजानको भनाइ छ। बुधबार साँझ मुग्लिन नजिक तीन किलो भन्ने ठाउँमा एउटा यात्रु बस र एउटा स्कारपिया जीप पहिरोमा पुरिएका थिए।
त्यस्तै चेपाङ डाँडा नजिक पनि मालवाहब दुईवटा ट्रकलाई पहिरोले पुरेको छ। संयोगवश गाडीमा रहेका सवै यात्रुहरु सकुशल छन्। आयोजना सुरु भएयता साउन १५ सम्म मात्रै १४१ वटा पहिरो आएर २१ वटा गाडीमा क्षति पुगेको आयोजना कार्यालयले जानकारी दिएको छ। जसमा पाँचजना यात्रुको ज्यान नै गएको छ। एकजना यात्रु वेपत्ता छन्। चारजना घाइते भएका छन्।
मुग्लिन नारायणगढ सडक खण्ड राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई देशको पुर्वी र पश्चिम क्षेत्रसँग जोड्ने मुख्य मार्ग हो। यो सडक खण्ड भएर दिनहु १० हजार गाडी ओहर दोहर गर्छन्। दुई वर्षभित्र काम सक्ने गरेर सन् २०१५ को अप्रिलमा विस्तारको काम सुरु भएको हो। तर समय सकिएको चार महिना हुन लाग्दा जम्मा आधा काम मात्रै सकिएको छ।
प्रकाशित: २० श्रावण २०७४ ०२:११ शुक्रबार