४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग

पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन्। नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्को सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन्।

पूर्वी चितवनको लोथरदेखि नारायणगढसम्मको यात्रा गर्ने यात्रीहरूलाई भरतपुरमा ओर्लेर अर्को सवारीसाधन लिनुपर्ने बाध्यता भएको छ। पटकपटक सवारीसाधन परिवर्तन गर्नुपर्दा बढी भाडा तिर्नुपरेको, समय बढी लाग्ने गरेको लगायतका समस्या पूर्वी चितवनवासीले भोग्नुुपरेपछि यसको विरोध भएको हो।

विरोधस्वरूप पूर्वी चितवनबाट चल्ने सावारीसाधनमा स्थानीयवासीसहित प्रतिनिधिसभा सदस्यले पनि विरोध जनाएका छन। चितवन–१ का  प्रतिनिधिसभा सदस्य हरि ढकालसहितको टोलीले शुक्रबार २०–३० वटा सार्वजनिक सवारीसाधन लिएर पूर्वी चितवनबाट भरतपुर आई विरोध प्रदर्शन गरे। 

शुक्रबार दिउँसो प्रतिनिधिसभा सदस्य ढकालसहितको टोलीले सार्वजनिक सवारीलाई नारायणगढको पुल्चोकसम्म लैजान खोजेपछि भरतपुरको चौबिस कोठीमा ट्राफिक प्रहरीले रोकेको थियो। ट्राफिक प्रहरीले उक्त सवारीसाधनलाई रोकेर पुनःकेन्द्रीय बस ट्रमिनल भरतपुरमै फर्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले बताए।

ट्राफिकले रोक लगाएसँगै सवारीसाधनमा आएका स्थानीय यात्रुहरूले केन्द्रीय बस टर्मिनलमा कोणसभा आयोजना गरी विरोध जनाएका थिए। विरोध कार्यक्रममा सहभागी भएका  प्रतिनिधिसभा सदस्य ढकालले पूर्वी चितवनवासीलाई न्याय दिनका लागि आफू तयार रहेको बताए। अस्पताल जान, अध्ययनका लागि क्याम्पस जानलगायत काममा परेको पीडालाई प्रशासनले तत्काल अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘एउटै जिल्लाका बासिन्दालाई सदरमुकाम आउन र जान कठिन हुनुहुँदैन। यसमा स्थानीय तह र स्थानीय प्रशासनबीच समन्वय  हुनु जरुरी छ।’ जिल्लाभित्रै एउटा पालिकाबाट अर्को पालिकामा जान यस्ता समस्या आउन नहुने भन्दै उनले तत्काल यो कार्य रोकिनुपर्ने बताए।

जिल्लाका स्थानीय प्रशासन, भरतपुर महानगरपालिका, यातायात व्यवसायी, जिल्ला प्रहरी कार्यालयबीच गत मङ्सिरमा भएको सहमति कार्यान्वयनमा आएसँगै पूर्वी चितवनवासीले सदरमुकाम आउँदा केन्द्रीय बस टर्मिनलबाट अर्को बस फेर्नुपर्ने बाध्यता रहेको छ। यो बाध्यता हटाउनका लागि पूर्वी चितवनवासीले प्रशासनलाई ज्ञापनपत्र बुझाउनेलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन्।

यसअघि नेकपा ९एमाले० चितवनको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई भेट गरी ज्ञापनपत्र बुझाउँदै पूर्वी चितवनबाट आउने सवारीसाधनलाई नारायणगढ जान दिनु पर्ने बताएको थियो।

प्रकाशित: २६ श्रावण २०८० १६:१६ शुक्रबार

पूर्वी चितवन पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग नारायणगढ सार्वजनिक यातयात लोथर प्रतिनिधिसभा सदस्य ढकाल