६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एकीकृत बस्तीको निर्माण एक साताभित्रै पूरा गर्ने तयारी

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक साता भित्रमा अस्थायी एकीकृत आवास निर्माण कार्य पूरा गर्ने बताएको छ।

बस्तीका लागि आवश्यक पर्ने शौचालय, पानी धारा र ढल निकास कार्य समेत पूरा भएपछि पहिरो पीडित तथा प्रभावितलाई स्थानान्तरणको कार्य सुरु हुने पालिकाले जनाएको छ।  ६५ वटा अस्थायी एकीकृत आवास निर्माण गर्दै आएको पालिकाले आइतबार बिहान सम्ममा ५१ वटा आवास निर्माण कार्य पूरा भएको जानकारी दिएको छ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमले यो साता भित्र एकीकृत बस्ती निर्माणको कार्य पूरा हुने जानकारी दिए। उनका अनुसार बस्तीका लागि आवश्यक पर्ने शौचालय, पानी धारा र ढल निकासको कार्य समेत एकसाथ अघि बढाइने छ। सुरुमा ६४ वटा अस्थायी घर निर्माण गर्ने योजना बनाईएकोमा पछि ताम्राङ टोलका थप एक परिवारलाई समेत सुरक्षित स्थानान्तरण गर्नेगरी मैवाखोला गाउँपालिका वडा नं ३ मा निर्माणाधीन मदन भण्डारीको रङ्गशाला भित्र ६५ वटा अस्थायी एकीकृत आवास निर्माण भइरहेको छ।

परिवार संख्याका आधारमा आवास कक्षलाई वर्गीकरण गरिएको समेत पालिका अध्यक्ष वनेमले बताए। उनका अनुसार १ जना देखि ५ जना सम्म सदस्य भएको परिवार ‘ए’ मापदण्डको आवास कक्षमा रहने छन्।

यो प्रकृतिको परिवारका लागि २ कोठा र एउटा भान्छा कक्ष हुनेछ। यस्तै १ देखि ८ जना सम्म सदस्य भएका परिवार ‘बि’मापदण्डको आवास कक्षमा रहने छन्। त्यहाँ ३ वटा कोठा र एउटा भान्छा कक्ष हुने छ। १२ जना सम्म सदस्य भएको परिवारका लागि ‘सी’ मापदण्डको आवास कक्ष बनाइन्छ। त्यहाँ ४ वटा कोठा र एउटा भान्छा कोठा हुने छ।

४ वटा घरपरिवारले प्रयोग गर्नेगरी बाहिर पट्टी २ वटा शौचालय र एउटा नुहाउने कक्ष बनाइने छ। त्यहाँ सार्वजनिक धारा समेत राख्ने पालिकाको तयारी छ। यसो गर्दा अस्थायी एकीकृत आवास कक्षमा ३६ वटा शौचालय र १८ वटा नुहाउने कक्ष हुनेछन्। पालिकाले खानेपानीका लागि खानेपानी डिभिजन कार्यालय र ढल निकासका लागि सिचाँई डिभिजन कार्यालयसँग समन्वय भइरहेको बताएको छ। 

एकीकृत बस्ती निर्माणको क्रममा अधिकांश स्थानीय उत्पादनका निर्माण सामाग्री प्रयोग गरेको पालिकाले बताएको छ। आवास निर्माणको क्रममा टोल विकास संस्था, विद्यालय परिवार, स्थानीय समुदाय जुटिरहेको समेत पालिकाले जानकारी दिएको छ। जस्तापाताका लागि सहयोगी मनहरु अग्रसर भईसकेकोले जस्तापाता प्राप्त हुनेमा पालिका विश्वस्त रहेको छ। बाँस, काठ सहितका सामाग्री स्थानीयले उपलब्ध गराएका छन्।

पहिरोले बस्नै नसक्ने गरी उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न पालिकाले एकीकृत अस्थायी बस्तीको अवधारणा ल्याएको हो।

प्रकाशित: २१ श्रावण २०८० ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App