११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिँदै

आइतबार बुटवलदेखि यात्रु बोकेर आएका चालक अमित पौडेल काठमाडौं पुग्न हतारिएका थिए। दिउँसो सवा ३ बजे पुल्चोक निस्केका पौडेललाई नारायणगढ–मुग्लिन सडक बन्द हुने हो कि भन्ने मुख्य चिन्ता थियो। ‘बर्खामा कतिखेर पहिरो खस्छ, थाहै हुन्न। ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्छ,’पौडेलले भने, ‘मुग्लिन कटेपछि बल्ल शान्त हुन्छ।’ आइतबार दिउँसो ३ बजेसम्म सडक अवरुद्ध थियो। बर्खायाममा यो खण्ड छिचोल्न निकै सकस हुने गरेको उनी बताउँछन्। सडकमाथिबाट खस्ने पहिरोका कारण केही वर्षयता बर्खायाममा सास्ती खेप्दै आएको उनी बताउँछन्।

संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । यसपालि जेठ २० गते जान सुरु गरेको पहिरो १९ पटकसम्म खसिसकेको छ। यो अवधिमा ९० घन्टा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। देशभरका राजमार्गमा १३९ पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकमा मात्रै १९ पटक गएको हो। बढीमा तीन दिनसम्म ट्राफिक अवरोध हुनेगरी पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए।  

यसपालि विशेष गरेर तुइन खोला, १८ किलो, मौरी पुलमा नियमितजस्तै पहिरो खसिरहेको उनले जानकारी दिए। यो अवधिमा कालिकाखोलामा सातपटकसम्म पहिरो खसेर सडक अवरुद्ध भएको छ। त्यस्तै तुइन खोलामा पाँच, नाम्सी खोलामा दुई, १८ किलोमा तीन पटकसम्म पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको इन्जिनियर कार्की बताउँछन्। तीमध्ये नाम्सी खोलामा असार १४, १५ र १६ गते लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।  

नारायणगढ–मुग्लिन सडक एक घण्टा कम समयमै वारपार हुन सक्ने गरी एसियाली मापदण्डअनुसार दुई लेन फराकिलो बनाइएको छ। साना गाडीले अन्य मार्ग रोजे पनि ठुला बस र सामान ढुवानी गर्ने ट्रकलाई यो मार्गको विकल्प छैन। यो सडकमा दैनिक १२ हजार ठुला गाडी ओहोरदोहोर गर्छन्। अघिल्लो वर्ष मौरी खोलामा पहिरो जाँदा ६६ घन्टासम्म सडक अवरुद्ध भएको थियो। ट्राफिक सहज बनाउन एक साता लागेको थियो। ३ अर्ब रूपैयाँ खर्चेर विस्तार भएको यो खण्डका ३१ ठाउँमा देखिएको पहिरोको समस्या नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले थप ३० करोड रूपैयाँ खर्च गरेको थियो। यो खण्डमा पहिरो सफा गर्न मात्रै गत वर्ष ७५ लाख रूपैयाँ खर्च भएको थियो। 

संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ ।  

नयाँनयाँ ठाउँमा पहिरोको जोखिम

यस खण्डको दासढुंगादेखि मुग्लिनसम्म २४ किलोमिटरमा पहिरोको बढी जोखिम छ। अति जोखिम क्षेत्र २० वटा छन्। १५ किलो, १६ किलो, १७ किलो, १८ किलो, मौरी टोल, सेती दोभान, सिमलताल, घुमाउने, चोर खोला, नाम्चे पुल, काली खोला, टोपे खोलामा बढी पहिरो जान्छ। सडक विभागले पहिरो रोक्न १ अर्ब रूपैयाँको हाराहारीमा खर्च गरे पनि चुनौती अझै थपिँदै गएको छ। विभागले जोखिम क्षेत्रमा ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गरेको थियो। फलामे रड गाडेर ससाना ढुंगा तथा गेग्रानलाई छोप्ने (रक नेटिङ) र ठुला चट्टानलाई खस्न नदिन ८ मिटर गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने काम (रक बोल्टिङ) विभागबाट भएको थियो। नौ ठाउँमा पहिरो रोक्न तार, रडलगायत सामग्री प्रयोग गरिएको थियो।

यो सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुंगाा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोलानजिक पहिरो रोकथामको काम भएको थियो। रक बोल्टिङ र रक नेटिङ प्रविधिबाट गरिएको ठाउँमा आजभोलि पहिरो खसेको छैन। तर नयाँ ठाउँबाट पहिरो खसिरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साह बताउँछन्। तुइन खोलामा पहिरोले यतिको सास्ती होला भन्ने कार्यालयले आकलनसमेत गरेको थिएन।  

नारायणगढ–मुग्लिन सडकखण्डको दूरी ३६ किलोमिटरको छ। दुई वर्षअघि कालिखोलाले बढी दुःख दिएको थियो। अघिल्लो वर्ष मौरी पुलले बढी दुःख दिएको थियो भने अहिले तुइन खोलाले समस्या पार्ने गरेको छ। यस खण्डमा पहिरो नियन्त्रणका लागि अध्ययन सुरु भएको सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले बताए। सडक विभागको समन्वयमा पहिलो नियन्त्रण गर्न एडिबी र जाइकाले अध्ययन गरेको उनले बताए। निरन्तर पहिरो झरेपछि १५ वटा पुलमा एक्साभेटर तयारी अवस्थामा राखिएको छ।

विकल्पमा तनहुँतर्फ ट्र्याक खोल्न प्रस्ताव

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले सास्ती दिन थालेपछि यसको विकल्पमा अर्को राजमार्ग बनाउन सडक डिभिजन कार्यालय भरतपुरले प्रस्ताव अगाडि बढाएको छ। गैंडाकोटदेखि तनहुँ हुँदै मुग्लिनसम्म नयाँ ट्र्याक खोल्ने गरी कार्यालयले मन्त्रालयमा प्रस्ताव पठाएको हो। ‘नारायणगढ–मुग्लिन खण्डको विकल्पमा गैंडाकोट–तनहुँ तर्फको दासढुंगा–मुग्लिनसम्म निस्कन सक्ने सम्भावना छ,’ उनले भने ‘३८ किलोमिटर दुरीमा ट्र्याक खोल्न सके यातायात आवागमनमा सहज हुन्छ।’ यसका लागि ४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए। मन्त्रालयबाट पास भए डिपिआरको काम अगाडि बढ्ने उनले बताए। उनले यो प्रस्ताव एक महिना अघि पठाएका हुन्। यस सडकखण्डका केही भागमा ट्र्याक पनि खोलिएको छ। यसलाई राष्ट्रिय राजमार्ग कायम गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। राष्ट्रिय राजमार्ग स्वीकृत गर्ने काम मन्त्रिपरिषद्ले गर्छ। यस्तै शक्तिखोर–फिस्लिङ सडकखण्डलाई पनि वैकल्पिक राजमार्गको रूपमा हेरिएको छ। यहाँ ट्र्याक खोलिसकिएको छ। अधिकांश भागमा कालोपत्र समेत भइसकेको छ। तर ठुला सवारीसाधन भने गुड्न सक्दैनन्।

प्रकाशित: १६ श्रावण २०८० ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App