६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बझाङमा दलितको घर भत्काइदिएपछि !

बझाङमा एक दलित परिवारको निर्माण भइरहेको घर ३०/३२ जनाको समूहले भत्काइदिएको घटनाले यती वेला चर्चा बटुलेको छ। 

सदरमुकाम चैनपुर देखि करिब ३ घण्टाको सडक दुरीमा रहेको बझाङ वित्थडचिर गाउँपालिका वडा नं ७, स्यालढुंङ्गामा पुड्के ओखेडाले गत मंसिर महिनादेखि घर बनाइरहेका थिए। 

गत बुधवार ३०/३२ जना पुरुष/महिलाको समूह गएर उनले बनाइरहेको घर भत्काइदिए। घर वरिपरि लगाएको मकै लगायतको वाली पनि उनीहरूले काटेर लगे। निर्माणाधीन घर भत्काइरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि यो घटनाले बढी चर्चा पाएको छ भने कानुन हातमा लिएर दलितको परिवारको घर भत्काएको भनेर चौतर्फी विरोध भएको छ।

‘हामीले बनाइरहेको घर हात हातमा हसिया ल्याएर आएका महिला र पुरुषको समूहले भत्काइदियो, हामीलाई गाली बेइज्जत र हातपात समेत गर्‍यो’ पुड्केका छोरा करण ओखेडाले भने। 

ठुलो परिवार भएकोले पुरानो घरमा बस्न ठाउँ नपुग्ने भएकाले लालपुर्जा भएको जमिनमा नयाँ घर बनाएको उनले बताए। 

२०५७ सालमा उक्त जमिन किनेको उनले बताए। गौचरण रहेको सार्वजनिक जमिनमा घर बनाएको भनेर गाउँको एक समूह गएर उनको घर भत्काएको स्थानीय बताउँछन्। प्रारम्भिक अनुसन्धान अनुसार दलित भनेर नभई सार्वजनिक जमिनमा घर बनाएको भनेर घर भत्काएको बुझिएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताएका छन्।

ओखेडाले लालपुर्जा भएको जमिनमा नै घर बनाएको बताएका छन्। नयाँ घरको तल दुई वटा पुरानो घर रहेको उनी बताउँछन्। पीडित ओखेडाले लालपुर्जा भएको आफ्नो जमिनमा घर बनाउँदा पनि घर भत्काएको र अभद्र व्यवहार गरेको प्रहरीमा उजुरी दिएका छन्। उनले दिएको उजुरीका आधारमा प्रहरीले कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशीलाई पक्राउ गरेको छ।

सार्वजनिक जमिन हो वा उनको लालपुर्जा भएको जमिन हो भनेर नापी कार्यालयबाट अमिन लगेर नाप-जाँच गरेपछि मात्र थाह हुने बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।

‘घटनाको हामी अनुसन्धान गरिरहेका छौं, उनले बनाएको घर सार्वजनिक जमिनमा हो वा उनको लालपुर्जा भएको भन्ने कुरा पनि छानबिन पछि थाह हुन्छ’ उनले भने।

आफ्नो जमिन लालपुर्जा भएको जमिनमा भएको उल्लेख गर्दै पुड्केका अर्का छोरा विक्रम भन्छन् ‘हाम्रो घर ऐलानी जमिनमै भएको भएपनि तिनीहरूले भत्काउन पाउन्छन् ?।’

यस अघि गाउँका बासिन्दाले सार्वजनिक जमिनमा घर बनाएको भनेर पुड्केको विरुद्ध वडा कार्यालयमा उजुरी दिएको र घर नबनाउने सहमति भएको स्थानीयको दाबी छ। पीडित ओखेडाले त्यस्तो कुनै सहमति नभएको बताएका छन्।

सार्वजनिक गौचरण रहेको बनको जमिनमा घर बनाउन लागेको भनेर स्थानीयले वडा कार्यालयमा यस अघि उजुरी दिएको वडा अध्यक्ष दिनेश अधिकारीले बताए। उनले घर बनाएको जमिन सार्वजनिक हो वा उनको लालपुर्जा भएको जमिन हो भनेर छुट्याउन बाँकी रहेको वडा अध्यक्ष अधिकारीले बताए।

कानुन व्यवसायी गंभिर सिंह ऐर नागरिकले कसैको सम्पत्ति भत्काउने कुरा गैरकानुनी भएको बताउँछन्। 

‘गलत ठाउँमा घर बनाएको छ भने राज्यले भत्काउने हो तर व्यक्तिहरूको समूह गएर अर्काको बनाएको घर भत्काउन गैरकानुनी काम हो।’

पीडितका भतिजा कृष्ण ओखेडाले दलितको घर भनेर काकाको घर भत्काएको भन्ने कुरा गलत भएको बताए। ‘सार्वजनिक जमिनमा घर बनाएको भनेर भत्काएको हो तर कानुन हातमा लिएर काकाको घर भत्काउनु भने गलत हो’ उनले भने, ‘समूहमा गएर घर भत्काएर काका माथि अन्याय भएको छ।’

पीडित ओखेडाका ४ छोरा छन्। भत्काएको घर भन्दा केही तल उनका दुई वटा घर छन् भने वडा नं ६ मा पनि एउटा घर रहेको छ। १७/१८ जनाको ठुलो परिवार बस्न घर अपुग भएकोले नयाँ घर बनाउन लागेको पीडित ओखेडाले बताए।

प्रकाशित: १३ श्रावण २०८० १३:५३ शनिबार

बझाङ