१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

एक दिनमा ७२ पटक लोडसेडिङ !

भक्तपुरको सूर्य विनायक नगरपालिकाका एक जना पीडितले दिक्दार मानेर सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखे, ‘भक्तपुरको सूर्य विनायक नगरपालिका एउटा यस्तो नगरपालिका होला जहाँ एक दिनमै ७२ चोटि लोडसेडिङ भइरहेको छ।

भक्तपुरेन्सको सामूहिक फेसबुकमा उनले राखे जस्तै अहिले सूर्य विनायक नगरपालिकामा मात्रै नभई जिल्लाका चार वटै नगरपालिकाको हालत यस्तै छ, छिनछिनमा लोडसेडिङ हुने । त्यो पनि हिजोआजबाट होइन, महिना दिन अगाडिदेखि नै । 

दिनमा दर्जनौँ पटक हुने लोडसेडिङले जिल्लावासी हैरान भएका छन् । विशेष गरेर उद्योग, कलकारखाना, सरकारी तथा गैर सरकारी कार्यालयहरू जो विद्युतको आधारमा चल्छन्  विशेष समस्या पारेको छ । 

घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँ बिजुली बत्ती जाने आउने गरेको स्थानीयले बताएका छन् । पाँच, सात मिनेटको फरकमा दैनिक दर्जनौँ पटक बिजुली जाने र आउने गरेको छ यहाँ । स्थानीयका अनुसार यहाँ यसरी नै बिजुलीको जुहारी चल्ने गर्दै आएको छ ।

छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौँ पटक बिजुली आउने र जाने गरेको छ । ‘कसैले पत्याउँदै नपत्याउने गरी यहाँ दैनिक दर्जनौँ पटक लोडसेडिङ भइरहेको छ, एक स्थानीयले भने । उनीहरूका अनुसार झन्डै एक महिना अगाडिदेखि नै बत्ती नगएको कुनै दिन नै छैन । दैनिक कुनै न कुनै बेला बत्ती गइहाल्छ।कहिले बढी त कहिले कम पटक मात्रै भए पनि दैनिक बत्ती जाने आउने गरेको उनीहरुले बताए।

भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीका फर्निचर व्यवसायी रविन कवांले घोषित रुपमा लोडसेडिङ नभए पनि छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरू हैरान भएको बताए ्। ‘हामी सामान्य सिकर्मी काम गर्ने नै असाध्यै पीडित छौ भने अरु ठूलाठूला उद्योग चलाउनेहरू के भए होलान् ? उनले प्रश्न गरे । 

छिनछिनमा बिजुली बत्ती जाँदा काममा बाधा पुग्ने गरेको उनले बताए । काठका कामका लागि छिनछिनमा मेशिन चलाउनुपर्ने भएर समस्या हुने गरेको उनले बताए ।

भक्तपुर लिवालिकी रामलक्ष्मी साँध पनि दैनिक बत्ती जाँदा असाध्यै समस्यामा परेको सुनाउँछिन् । ‘दिनमा त ठिक छ, तर राति पनि बत्ती जाँदा हैरान भएका छौँ, उनले भनिन्, ‘राति बत्ती गएपछि मैनबत्ती किन्न जाँदा पनि कहीँ कुनै पसलमा पाइँदैन । 

अनि त झन् समस्या हुन्छ ।’ घोषित रुपमा लोडसेडिङ नहुने भएकाले पसलेहरूले मैनबत्ती बेच्न छोड्दा थप समस्या हुने गरेको उनको भनाई  छ । ‘पहिला पहिला घोषित लोडसेडिङ हुने भएकाले पहिला नै जेनरेटर राखेर हुन्छ कि के गरेर हुन्छ काममा बाधा नपुग्ने गरी मिलाइराखेको हुन्थ्यो, स्थानीयको स्थानीयको सामूहिक पीडा छ, ‘तर अहिले अघोषित लोडसेडिङ हुँदा केही पनि म्यानेज गरिगएको हुँदैन । यसले बिजुली जाने बेला काम नभई श्रम मात्रै खेर जाने गरेको छ ।’

नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका कार्यालय प्रमुख रामदुलार यादव लोडसेडिङको भक्तपुरबाट वितरण हुने विद्युतमा समस्या रहेको स्वीकार गरे।कार्यालय प्रमुख यादवले यो समस्या अझै एक महिनासम्म कायम रहन सक्ने जनाए । 

अबको एक महिनापछि यो समस्या नहोला, उनले नागरिकसँग भने, यो समस्या कुनै बिग्रेर भएको होइन बरु सब स्टेसनहरूलाई क्षमता वृद्धिको काम भइरहेकाले भएको हो । क्षमताबृद्धिको यो काम एक महिनाभित्र सकाउने योजना रहेको उनले सुनाए । उनका अनुसार विद्युतको सब स्टेसन क्षमताबृद्धिको काम भइरहेको छ । यही कारण छिनछिनमा लोडसेडिङ भइरहेको हो। 

प्रकाशित: २६ असार २०८० १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App