८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

बिहीबार जाउलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइँदै। तस्विरः प्रबीन कोइराला

काठमाडा‌ैं— ‘भोटो देखाउने जात्राको बारेमा सुनेकी मात्रै थिएँ, आज प्रत्यक्ष हेर्ने मौका पाएँ,’ बिहिबार जावलाखेलचोकमा भेटिएकी कल्पना लामाले भनिन्। दक्षिण ललितपुरको गिम्दीबाट उनी जात्रा हेर्नकै लागि साथिसँग यहाँ आएको उनले सुनाइन्। ‘भोटो हेर्ने ठूलो धोको थियो, आज पूरा भयो,’ उनले भनिन्।

कल्पनाजस्तै भोटोजात्रा हेर्न आएका दर्शकले जावलाखेल चोक भरिभराउ देखिन्थ्यो। जात्राको अन्तिम दिन परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाउने तयारी भइरहेको थियो। सुरक्षाकर्मी र स्वयंम सेवकहरु विशिष्ट अतिथिको सुरक्षार्थ खटिरहेका थिए। सर्वसाधारणमा जात्रा सकिने अन्तिम दिन मणि, माणिकलगायतका बहुमूल्य वस्तुजडित ऐतिहासिक भोटो कस्तो होला भन्ने काैतुल जागेको थियो।

यतिकैमा  राष्ट्रपति विद्यादेवी भण्डारी, काम चलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबैधानिक निकायका प्रमुखहरुको आगमन भयो। गुठी संस्थान ललितपुर शाखा प्रमुख वैकुण्ठ आचार्यले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ कर्मचारीलाई मच्छिद्रनाथको टीका लगाई स्वागत गरे। बेलुकी ६ बजेर १५ मिनेट जाँदा उनैले राष्ट्रप्रमुखलगायत सहभागीलाई भोटो देखाए। भोटो हेरिसकेपछि राष्ट्रपति लगायत विशिष्ट सरकारी कर्मचारीले करिब २० मिनेट जात्रा अवलोकनका साथै रथको पुजा गरेका थिए।

हिन्दु धर्मावलम्बीले मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्तगुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा।

वर्षा र सहकालका देवताका रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा करिब १६ सय वर्षअघि सुरु भएको किंवदंती छ। रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेलमा लगेको चौथो दिन भोटो देखाउने चलन छ। जात्रामा काम चलाउ प्रधानमन्त्री पुष्प कमल दाहाल पनि सहभागी भए। राष्ट्रपति र काम चलाउ प्रधानमन्त्री रथको चारैतिर पूजा गरी करिब ६ः४० बजे त्यहाँबाट फर्किएका थिए। भोटो हेर्ने परम्परा धान्न प्रधानन्यायधिस शुशिला कार्की, उपसभामुख, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद, ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जन, तथा सरकारी उच्च ओहदाका पदाधिकारी पनि जावलाखेल पुगेका थिए ।

किंवदन्तीअनुसार नागराजाले ज्यापूलाई उपहारस्वरुप दिएको भोटो राक्षसले चोरेर लैजान्छ। जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा हेर्न त्यही भोटो लगाएर राक्षस आएपछि ज्यापूसँग उसको झगडा पर्छ। विवाद मिलाउन बहुमूल्य रत्नजडित त्यो भोटो रातो मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ। भोटो जावलाखेल पुगेको चौथो दिनमा कसको भोटो हो, प्रमाणसहित लिन आऊनू भनेर देखाइएको जनश्रुति छ। त्यही बेलादेखि हरेक वर्ष यो परम्परा रहँदै आएको मच्छिन्द्रनाथका पूजारी निमराज पानेजूले जानकारी दिए।

नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित मछिन्द्रनाथको रथयात्रा वैशाख १७ गते पुल्चोकबाट प्रारम्भ गरी विभिन्न नगर परिक्रममा गर्दै जेठ ८ गते शुभसाइतअनुसार लगनखेलबाट जावलाखेल लगिएको थियो। काठमाडौं उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध यो जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ। नेवारी परम्परा तथा बाजागाजासाथ गत सोमबार साझ ७ बजे रथलाई लगनखेलबाट तान्दै जावलाखेल पुर्‍याइएको थियो।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले वि सं ५४६ मा यो जात्रा सुरु गराएको पौराणिक कथन छ। हिन्दु धर्मावलम्बीले मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्तगुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा।

ललितपुर, पुल्चोकमा निर्माण गरिएको रथ अक्षय तृतीयाका दिन शुभसाइत पारी मच्छिन्द्रनाथको रथारोहण गर्ने चलन छ। भगवान मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रुपमा रथयात्रा सुरु हुन्छ। रथ तान्नुअघि गुरुज्यूको पल्टनबाट सलामीसमेत दिइन्छ। बाजागाजासहित तान्न थालिएको रथयात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पुर्‍याइन्छ। दोस्रो दिन सुन्धारा पु¥याइन्छ भने सुन्धारा पु¥याएको एक दिन रथ सोही स्थानमा राखिन्छ ।

स्थानीयले सोही दिन मच्छिन्द्रनाथको पूजाअर्चना गर्छन् । त्यसपछि ललितपुरको थटीटोलमा रथ पुर्‍याएर नरिवल जात्रा निकाल्ने परम्परा छ जहाँबाट जावलाखेल लैजान ज्योतिषहरुले साइत हेर्छन्। थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको संस्थान प्रमुख आचार्यले जानकारी दिए।

मच्छिन्द्रनाथ जात्रा खेती किसानीसँग सम्बन्धित भएको संस्कृतिविद् सत्यमोहन जोशीले बताए।  ‘नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलहरू परिक्रमा गराउने परम्परा छ,’ उनले भने, ‘यो जात्रालाई सहकालको देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् ।’

भोटो देखाएसँगै जात्रा सकिएको छ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्‍याइएको छ। त्यहाँ ६ महिनासम्म राखेर साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइने मच्छिन्द्रनाथका पूजारी अशोक पानेजूले जानकारी दिए। यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने चलन रहिआएको छ। गत बर्ष भने भुकम्प, रथ बिग्रिएको र सुभसाइत नभेटीएका कारण साउन १४ गते भोटो देखाइएको थियो।

प्रकाशित: ११ जेष्ठ २०७४ १४:०९ बिहीबार

जब राष्ट्रपति प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे