६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पिउन मात्र होइन, सजावटमा पनि उपयोगी चिया

इलामको कन्याममा पलाएको चियाका मुना। तस्बिर: भीम/नागरिक

नेपाली चियालाई पिउन मात्र नभइ वैकल्पिक रूपमा प्रयोग गर्न सकिनेबारे किसानमा चेतना फैलाउन बाँकी देखिएको छ। हरियोपत्ती प्रशोधन गरी यसलाई पिउने वस्तुबाहेक अन्य दर्जनौं उपयोगी सामग्रीका रूपमा समेत प्रयोग गर्न सकिने चियाका जानकारहरुले बताएका छन्। 

चियालाई गुणस्तरीय बनाउने अभियानमा ३ दशकभन्दा बढी बिताएका सोनामपाल्जोर लामाले विश्वमा चियालाई पेयका रूपमा मात्र नभइ विभिन्न खाले उपयोगमा लगाउने गरिएको बताए। चियाबाट आकर्षक सजावटका सामग्रीसमेत बनाउन सकिने उनको भनाइ छ। ‘चिया पिउने वस्तुमात्र होइन, यसको डाँठ, जरा, दानालगायतलाई पनि विशेष आकर्षक सामग्री बनाउने गरिएको छ,’ उनले भने, ‘चियाको डाँठ र दानाबाट घर सजावटका सामान बनाउन सकिन्छ।’ लामाले चीनमा चियाको डाँठ र दानालाई रंगरोगन गरी आकर्षक बनाएर बेच्ने चलन रहेको जनाए। ‘चीनको चिया विश्वमा नामी छ तर चीनले पिउने चियामात्र बेच्दैन, त्यहाँ चियाबाट सजावटका सामग्रीसमेत तयार गरिन्छन्,’ उनले भने, ‘चियाको मुना बिकेन भनेर किसान निरास हुनभन्दा यसको वैकल्पिक उपयोगतिर ध्यान जानुपनर्छ।’  

हरियोपत्ती बेच्दा उत्पादनमा हुने लगानीसमेत नउठेको भन्दै नेपाली चिया किसान वर्षाैंदेखि चिन्तित छन्। प्रशोधन कारखानाको ‘कार्टेलिङ’ र एकाधिकारका कारण चिया किसानले हरियोपत्तीबाट लगानी उठाउन नसकेका हुन्। तर, सबैखाले बाली मासेर चिया लगाएका किसानलाई हरियोपत्ती बेच्ने बाध्यता रहेको किसान धनकुमार आले बताउँछन। ‘चियाको हरियोपत्ती बेच्दा किसानको लगानी उठेको छैन, उद्योगले किसानको समस्या बुझ्नुपर्छ,’ उनले भने, ‘इलामको पनि सूर्याेदय नगरपालिकाका धेरै किसान चियामै निर्भर रहेकाले चियाको मूल्य तलमाथि हुँदा किसानलाई प्रत्यक्ष असर पुग्छ।’

सूर्याेदय नगरपालिकाले २०७५ सालमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा गरेको अध्ययनमा किसानले १ किलो हरियोपत्ती उत्पादन गर्न किसानको ३८ रुपैयाँ ७५ पैसा लगानी हुनेगरेको पाइएको थियो। यसैलाई आधार मानेर नगरले बोर्ड, किसान, उद्योगीलगायत सरोकारवालासँगको समन्वयमा हरियोपत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको थियो। त्यसअघिसम्म फस्ट फ्लस (पहिलो टिपाइ)मा हरियोपत्तीको प्रतिकिलो ४०–५० रुपैयाँ पाइरहेका किसान सबैभन्दा बढीमात्रामा पत्ती उत्पादन हुने सिजनमा चाहिँ प्रतिकिलो १० रुपैयाँसम्ममै बेच्न बाध्य थिए। 

तर, नगरले तोकेको न्यूनतम् समर्थन मूल्यबारे कतिपय किसानमा भ्रम सिर्जना भएको नगरपालिका बताउँछ। ‘नगरले हरियोपत्तीको मूल्य कम्तीमा ४० रुपैयाँ तोकेको हो तर कतिपय किसानमा चाहिँ हरियोपत्तीको मूल्य नै ४० रुपैयाँमात्रै तोकियो भन्ने गलत बुझाइ रह्यो,’ नगरको वडा १० अध्यक्ष तथा चिया समस्या समाधान समिति संयोजक पेमाउगेन लामा भन्छन्, ‘प्रतिकिलो ४० रुपैयाँभन्दा माथि हरियोपत्तीको गुणस्तरअनुसार जति पनि मूल्य हुनसक्छ। तर, हरियोपत्तीमा पनि तोकिएको गुणस्तर चाहिँ हुनुपर्छ।’

हरियोपत्तीको उचित मूल्य नपाउनु, चिया प्रशोधन, व्यापार र निर्यातमा पनि दर्जनौं झमेला हुन लामो समयदेखिका समस्या हुन्। तर, चियाका जानकार लामा भने विश्वमा चिया संस्कृति विकास हुँदै गएकाले गुणस्तरीय चियाको सम्भावना बढ्दो अवस्थामा रहेको बताउँछन्। ‘चियालाई गुणस्तरीय बनाउने हो भने विक्रीको समस्या हुन्छजस्तो लाग्दैन,’ उनी भन्छन्, ‘चिया पेयमात्र होइन, यसको उपयोग अन्य धेरैतिर हुन्छ भन्ने चेतना र प्राविधिक ज्ञान किसानसम्म पु¥याउनुपर्छ।’ उनले चियालाई सजावटका सामग्री बनाएर विक्री गर्दा पनि राम्रो आम्दानी गर्न सकिने बताए।  

नेपाल पत्रकार महासंघ इलाम शाखाले अन्तुमा आयोजना गरेको ‘नेपाली चियाको वर्तमान अवस्था, समस्या र सम्भावना’ अन्तरक्रियामा सहभागी सरोकारवालाले चिया उत्पादनदेखि उपभोगसम्म अनगिन्ती चुनौती औंल्याएका हुन्। चिया किसान कमल घिमिरेले किसान सबैतिरबाट मारमा परेको गुनासो गरे। ‘बेलामा चियालाई मल आउँदैन, न हरियो चिया लगानी उठाएर बेच्न सकिएको छ,’ उनले भने, ‘किसानले बाध्य भएरमात्र चिया खेती गरेका छन्, उनीहरूलाई राज्यले हेर्नुपर्छ, सघाउनुपर्छ।’

रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले चिया आम्दानीको स्रोतमात्र नभइ सौन्दर्य समेत भएको बताए। ‘अहिले इलाम घुम्न आउने ८० प्रतिशतहाराहारी पर्यटक यहाँको सुन्दर हरियाली चियाबारी नै हेर्न आउँछन्,’ उनले भने, ‘इलामका डाँडाकाँडामा चिया थिएन भने पर्यटक आउ–जाउ अहिलेकै जस्तो हुन्थ्यो होला त?’ उनले चियाका माध्यमबाट पर्यटक आकर्षित हुँदा किसान, व्यापारी, होटल व्यवसायी, यातायात व्यवसायी, श्रमिक, घोडा व्यवसायीलगायत दर्जनौं क्षेत्रलाई फाइदा पुगिरहेको बताए। ‘चियाको हरियोपत्तीमा किसानले उच्च मूल्य पाउनुपर्छ, लगानी उठाउनुपर्छ,’ उनले भने, ‘तर, चियाको आम्दानी त्योमात्रै होइन, चौतर्फी फाइदा छ यसबाट।’

उनले किसान, उद्योगी र सरकारको समन्वयले मात्रै नेपाली चियाको उत्पादन र निर्यात दिगो हुने बताए। ‘एकले अर्कालाई दोष लगाउँदा सबै असफल भइन्छ, सहकार्य र समन्वय गरियो भने सबै सफल भइने हो,’ उनले भने, ‘त्यसले नेपाली चियाको गुणस्तर र बजार बढाउने हो भने कम्तीमा चिया किसान, उद्योगी र सरकारबीच समन्वय जरुरी छ।’  

सूर्याेदय नगरपालिकाका उपमेयर दुर्गाकुमार बरालले सूर्याेदयले चिया क्षेत्रमा नीतिगत व्यवस्थासमेत गरी यसको गुणस्तर र बजार विस्तारमा प्रयास गरेको बताए। ‘सूर्याेदय चाहिँ चियाको राजधानीसमेत भएकाले नगरले चियाको उत्पादनदेखि उपभोगसम्मको यात्रा सहज बनाउन प्रयास गरिरहेको छ,’ उनले भने, ‘बेला–बेला तयारी चिया निर्यातमा हुनेगरेको समस्या सुल्झाउन पनि स्थानीय सरकारले सघाएको छ।’

सूर्याेदय वडा ४ का अध्यक्ष शरण राईले चियाको गुणस्तर अभिवृद्धिका लागि सरकारको सहयोग किसानलाई आवश्यक रहेको बताए। उनले चियाका आवश्यक परेका बेला मल र प्राविधिक सेवा किसानले पाउन नसकेको जनाए।

प्रकाशित: १५ असार २०८० १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App