राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट शनिबार एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ८५५९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेका मे७प ४३७ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार चौधरी सो ठक्करबाट घाइते भएकी थिइन् । घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्रक, त्यसका चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
यस्तै पूर्व पश्चिम राजमार्गमा पर्ने रुपनी गाउँपालिका–१ स्थित पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट सोही ठाउँका अकबर मियाँको ५ वर्षीया छोरी कलिम मियाँ घाइते भएकी छिन् । ती बालिकालाई बाटो काट्ने क्रममा स१च ८६५ नंको भ्यानले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते बालिकाको उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित: ९ वैशाख २०७४ ०८:१५ शनिबार