१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सर्लाहीमा नियन्त्रण बाहिर तस्करी

नेपाल भारत सीमा क्षेत्रको विभिन्न ठाउँमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको डिएसपी खटाइएपछि सर्लाहीमा तस्करी झन् बढेको पाइएको छ।

तस्करी अत्यधिक बढेर लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको गुनासो बढेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले तस्करी नियन्त्रण गर्न डिएसपीको कमान्डमा अस्थायी गुल्म कायम गरेपछि सर्लाहीमा तस्करहरूलाई झन् सजिलो भएको छ।

तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदी र सर्लाही गण नम्बर १० का गणपति तुला भण्डारीले पटक पटक निर्देशन दिए पनि सर्लाहीको सीमा क्षेत्रमा तस्करी नियन्त्रण हुन सकेको छैन।

सर्लाहीको नदिया पकडी, मधुवनी, अर्नाहा र छतौना नाकाबाट दैनिक नेपालबाट भारततिर बालुवा, गिटी, स्याम, रक्सी, चाइनिज कस्मेटिक सामग्री तस्करी हुन्छ भने भारतबाट कपडा, सुर्ती, स्पेयरपार्टस, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको निर्बाध रुपमा तस्करी भइरहेको छ।

नेपाल प्रहरीका एसपी तथा सशस्त्र प्रहरीका गणपतिलाई गुल्मपतिहरुले आँखा छलेर आफैँ तस्करहरुसँग मोलमोलाई गरी तस्करी गराइरहेको स्थानीयको दाबी छ।

मधुवनी र अर्नाहा नाकाबाट ७५ पशु बरामद

सर्लाहीको मधुवनी र अर्नाहा नाका हुँदै भित्रिएको ७५ वटा पशु बरामद भएको छ। इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले भारतबाट तस्करी गरेर ल्याएको खसी र बाख्रा बरामद गरेको हो।

तस्करीमा प्रयोग गरिएको भारतीय ना ४ च ९८२४ नम्बरको सेतो पिकअप गाडी सहित २७ खसी र ४८ बाख्रा गरी कुल ७५ खसी/बाख्रा इलाका प्रहरी कार्यालय बरहथवाले बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ। इलाका प्रहरी कार्यालय बरहथवाले बुझाएको सामान तथा पशुको मूल्य करिब ७ लाख ५६ हजार रुपैयाँ रहेको बताइएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०८० ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App