९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम

स्मार्ट कन्ट्रोल रुपमको उद्घाटन गर्दै एसपी गौतम लगायत।

जनगुनासो तथा कुनै घटनाको जानकारी आउने वित्तिकै तत्काल सम्बोधनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम निर्माण गरिएको छ।

प्रहरी कार्यालयमा निर्माण गरिएको स्मार्ट कन्ट्रोल रुमको बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको हो।

प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्य गर्दै एकपटकमा ४ जनासम्मले फोन गर्न मिल्ने गरी स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको बताइएको छ।

मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले कन्ट्रोल रुमको उदघाटन गरेका हुन्। ‘अब १०० मा फोन नलाग्ने, कुनैपनि घटनाको विषयमा जानकारी नै ढिला आउने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने समस्या समाधान हुनेछ’, प्रहरी उपरीक्षक गौतमले भने, ‘स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती हुनेछ। यसअघि काठमाडौंमा मात्र स्मार्ट कन्ट्रोल रुम रहेको जानकारी दिइएको छ। 

‘प्रहरीको १०० मा पहिले एकजनाले मात्र फोन गर्न मिल्थ्यो भने अहिले ४ जनाले फोन गर्न मिल्छ’, प्रहरी उपरीक्षक गौतमले थपे, ‘आम सर्वसाधारणलाई सहज सेवा दिने हाम्रो एकमात्र उद्देश्य हो।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्मार्ट कन्ट्रोल रुपमा तत्काललाई ३ वटा फोन र कम्प्युटर सहितको सेवाको सुरुवात गरिएको छ। केही दिनमा यससँग सम्बन्धित एपबाट थप सेवा सुरु गर्ने योजना रहेको गौतमले जानकारी दिए।

प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको विषयमा जानकारी गराएका थिए। प्रहरी निरीक्षक केसीका अनुसार हाल काठमाडौं प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवात गरिएको हो। कुनैपनि घटनाका पीडित वा समस्यामा परेका व्यक्तिलाई तत्काल सेवा दिनका लागि स्मार्ट कन्ट्रोल रुम सहयोगी हुने उनको दावी थियो। फोनबाट जानकारी टिपाएको आधारमा कन्ट्रोल एपमा जानकारी गराएर तुरुन्तै प्रहरी खटाउन सकिने बताइएको छ।

बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा तीनसय वटा सीसी क्यामराको आवश्यकता रहेको भएपनि हालः २८ वटा मात्रै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०८० ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App