काठमाडौं- वरपरका सडक महिनौंदेखि भत्किँदा उड्ने धुलोबाट आजित हुनु भएको छ? अब पिर मान्नु पर्दैन। भत्किएका सडक तुरुन्तै बनाइने छ। तर, सडक दिक्दारीका बारेमा भने काठमाडौं महानगरपालिका कार्यालय वा नजिकका वडा कार्यालयलाई जानकारी दिनुपर्छ। जानकारी प्राप्त भएको बढीमा १५ दिनभित्र सडक मर्मत भइसक्ने छ।
यो योजना मुल सडकका लागि होइन। महानगरपालिका कार्यालयको जिम्मामा रहेका ८ मिटर चौडाभन्दा साना सडक सुधारका लागि यो योजना ल्याइएको हो। क्षतिग्रस्त सडक महिनौंसम्म नबन्दा सास्ती भोग्नु परेको गुनासो बढेपछि महानगरपालिका कार्यालयले सडक चाँडै मर्मत गर्न तीन जनाको ‘र्यापिड रेसपन्स टिम’ गठन गरेर उत्तिखेरै निर्माण थाल्ने अभियान सुरु गरेको छ। अभियानअन्तर्गत भत्केका सडक, फुटेका ढल र ढकानी झरेका मंगललगायत पुनर्निनिर्माण गरिने छ।
महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जनताले हैरानी खेप्नुपर्ने संरचनाका विषयमा जानकारी प्राप्त हुनासाथ तुरुन्तै मर्मत गरिने बताए। महानगरपालिकाले केही साताअघि यस्तो योजना ल्याएको हो।
योजना सुरु भएपछि करिब २५ ठाउँबाट जानकारी आएको र ती ठाउँमा मर्मत भइरहेको महानगरपालिकाका सहरी पूर्वाधार विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले जानकारी दिए। ‘र्यापिड रेसपन्स टिम गठन गरेर धमाधम काम थालेका छौं,’ उनलेे भने, ‘पूर्वाधारसम्बन्धी केही समस्या भएमा जानकारी आएको १५ दिनभित्रमै काम गर्नेछौं।’ जानकारीका लागि महानगरपालिका कार्यालय, वडा कार्यालय, सम्बन्धित विभागका शाखा प्रमुख तथा ईन्जिनियर आदिलाई निवेदन वा इमेल गर्नुपर्ने उनले जनाए। जानकारीसँगै बिग्रिएको संरचनाका तस्बिर पनि पठाउन महानगरपालिकाले आग्रह गरेको छ।
सो कार्यका लागि गत नगर परिषद्बाट महानगरपालिकाले सडक मर्मतसम्भार शीर्षकमा ८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। ‘लामो समयसम्म मर्मत नहुँदा सडक थप बिगिँ्रदै जाने हुन्छ। तत्काल सुधार गर्र्दा सडकको अवस्था राम्रो हुने र जनतालाई कष्ट भोग्नु नपर्ने स्थिति बन्नेछ ,’ विभाग प्रमुख रेग्मीले भने।
तुरुन्त मर्मत गर्ने योजना कार्यान्वयनका लागि महानगरपालिकाले टेण्डर आह्वान गरिसकेको छ । महानगरपालिकाले यो कार्यलाई निरन्तरता दिन गत पुस २५ मा बसेको २९ औं नगरपरिषद्मा आगामी आर्थिक वर्षका लागि समेत सडक मर्मत शीर्षकमा १० करोडको रुपैयाँको प्रस्ताव गरेकोे छ। जसले गर्दा चालू आर्थिक वर्ष सकिएको भोलिबाटै यो कामले निरन्तरता पाउने जनाइएको छ।
प्रकाशित: ५ वैशाख २०७४ ०३:५७ मंगलबार