३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड

फाइल फाेटाे


भक्तपुर – नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुक्रबार बिहानैदेखि सुरु भएको छ । 

नयाँवर्ष अर्थात् वैशाख १ गते भक्तपुरको भेलुखेलमा गएराति ९ः४५ बजे उठाइएको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत क्षेत्रबाट हजारौँको सङ्ख्यामा जात्रा हेर्न बिहानैदेखि भीड लागेको छ । 

चैत मसान्तको दिन साँझ गःहिटीमा रहेको भैरवलाई बलि चढाइ गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउनेबित्तिकै ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य जात्रा एवम् पूजा गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । शुक्रबार यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहेको छ । 

बिहीबार साँझ लिङ्गो उठाउने क्रममा पहिलो लिङ्गो भाँच्चिएर एकजनाको ज्यान गएको र पाँचजना घाइते भएपछि स्थानीयवासीले राति १० बजे अर्को लिङ्गो उठाएका थिए । 

लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । 

किंवदन्तीअनुसार परापूर्वकालमा भक्तपुरका एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले छोरीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने भनेपछि ती राजकुमारीसँग बिहे गर्न धेरै आए र बिहे गरे । बिहे गरेकै रात राजकुमारको मृत्यु हुने भएकाले राजाले आफ्नो शयन कक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पुर्याउने मलामी गुठी नै स्थापना गरे । 

एकदिन बुद्धिमानी राजकुमारले राजकुमारीसँग बिहे गरे र राति ओछ्याउनमा राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नाग–नागिनी निस्केर अजिङ्गरको रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नाग–नागिनीले अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हाम्रो पुरुषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे । 

यसरी अजिङ्गरको स्वरूप हुने नाग–नागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको र नाग–नागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको गोलो परेको लिङ्गो भेलुखेलस्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ । 

नेपाल संवत् २६८ मा भक्तपुर सहर स्थापना हुनुभन्दाअघि नै यो जात्राको परम्परा सुरु भइसकेको र यो जात्रालाई राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको संस्कृतविद् श्रीओम कायस्थले बताउँछन्। 

नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मर्यो), बिय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा र त्यसबाट पनि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको स्थानीय बूढापाकाहरू बताउँछन् । 

इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रुपान्तरण बिस्केट भएको बताउँदै ‘वि’ को अर्थ विश्वनाथ भैरव र ध्वजा शिव र शक्तिको प्रतीक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताउँछन् । बिस्केटलाई सहकालको देवताका रुपमा पनि पुजिने र बिस्केट जात्रा मसान जात्राका रुपमा मृत आत्माको मुक्तिका लागि पनि मनाइने उनको भनाइ छ । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App