मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू-स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ।
महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिक रूपमा हुने विभेद हटाउन सरकारले लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपछि रसुवामा पछिल्लो समय महिलाको नाममा भू-स्वामित्व बढ्न थालेको हो।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक मंगलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्यांक कार्यालय नुवाकोटले आठ सय २६ रसुवाली महिलाले एकल रूपमा भू-स्वामित्व कायम गरेको जानकारी दिएको हो। तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र छ सय ३८ महिलाको जग्गा मात्र रहेको छ। नौ सय ५० महिलाको भने श्रीमान्बीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्यांक अधिकृत दीपेन्द्रसिंह धामीले बताए।
बाइस हजार छ सय ५४ महिला रहेको रसुवामा क्रमिक रूपले महिलाको नाममा भू-स्वामित्व बढ्दै गएको छ। महिलाको नाममा जग्गामध्ये सदरमुकाम क्षेत्रमा २५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने प्रावधान रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए।
छब्बीस जातजाति रहेको रसुवाको कूल जनसंख्या ४६ हजार छ सय तथा ८९ रहेको छ। तीमध्ये ३२ हजार एक सय २७ तामाङ समुदायको बाहुल्य रहेको तथ्यांकले देखाएको छ।
यस्तै ६९ दशमलव ६० प्रतिशत साक्षर रहेको रसुवामा ११ हजार एक सय ३१ परिवारले आवास निर्माण गरेको बताइएको छ।
रसुवाबाट वैदेशिक रोजगारका लागि जानेमा नौ सय ७३ महिला एवं एक हजार तीन सय २९ पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ। रसुवा र नुवाकोट हेर्ने तथ्यांक कार्यालयले आम नागरिकलाई जनगणनाको नतिजाबारे जानकारी गराउन विवरण सार्वजनिकीकरण कार्यक्रम गरेको हो।
प्रकाशित: २४ जेष्ठ २०८० ०५:२२ बुधबार