रौतहट- अतिपिछडिएको डोम समुदायका एक युवक हालै लोकसेवा आयोगबाट सरकारी जागिरमा सिफारिस भएका छन्। रौतहटको मिठुअवा–७ का विजय मल्ली डोम समुदायबाट लोकसेवा परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्ने पहिलो युवक बनेको दाबी रौतहटस्थित डोम समुदाय विकास केन्द्रले गरेको छ।
बाल्यकालमा विद्यालयमा जाँदा अछुत जातिको भनी हेला गरी छुट्टै बस्न लगाउने र सँगै खेल्नसमेत नदिने गाउँका धेरै दौंतरीलाई उछिन्दै विजयले सरकारी जागिरमा ढोका खोलेका हुन्। उनले सरकारी जागिर पाएपछि दलित समुदाय खुसी भएको छ। उनी अहिले पर्साको सोनवर्षा स्वास्थ्य केन्द्रमा अहेव पदमा कार्यरत छन्।
शिक्षा विषय लिएर दस जोड दुई उत्तीर्ण गरेका विजयले अहेवको पढाइ पनि पूरा गरेका छन्।
विजयलाई डोम समुदायबाट रौतहटमा पहिलो एसएलसी उत्तीर्ण व्यक्ति भएको पनि दाबी गरिएको छ। उनी २०७० सालको एसएलसीमा दोस्रो श्रेणीमा पास भएका थिए।
गाउँकै विद्यालयमा प्राथमिक तह पूरा गरेका विजय सदरमुकाम गौरस्थित जुद्ध माविमा भर्ना भएका थिए। त्यतिबेला डोम जातिको भनेर उनलाई ठूला जातका भनिनेले कोठा भाडामा दिन मानेका थिएनन्। स्थानीय एउटा सामाजिक संस्थाको पहलमा कोठामा बस्ने र मुस्लिम समुदायका अगुवा पारस हुसैनले कापीकलमलगायत पढाइ खर्च जुटाइदिएपछि विजयले कक्षा १० सम्म पढ्न पाएका हुन्। उनले प्रवेशिका उत्तीर्ण गरेपछि जिल्लाका दलित समुदायमा उत्साह थपिएको थियो।
अध्ययन गर्न आफूलाई धेरै रहर लागेकाले गाउँको विद्यालयमा प्लान नेपालको सहयोगमा ६ कक्षा पास गर्न सफल भएको उनले सुनाए। बाल्यकालमै विवाह गरेका विजय आफ्नो विगत सम्झँदै भन्छन्, …पाँच वर्षकै उमेरमा अभिभावकले बिहे गरिदिनुभयो।'
रौतहटमा डोम समुदायको जनसंख्या एक हजार हाराहारीमा छ। यो जातिमा बालबालिकालाई विद्यालय पठाउने चलन छैन। बालबालिकालाई सुंगुर गोठालो पठाउने र बाँसको चोयाबाट सामग्री बनाउन लगाउने गरिन्छ।
सरकारले उपलब्ध गराएको दलित छात्रवृत्ति, पोसाकलगायतका सुविधा यो समुदायले पाएको छैन।
प्रकाशित: २४ चैत्र २०७३ ०४:२२ बिहीबार