११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

उपत्यकामा 'मिट मार्ट'

काठमाडौं- १२ देखि २५ घण्टा उभ्याएर ट्रकमा यात्रा गराउँदैै उपत्यकामा चौपाया ल्याइन्छ। चौपायाका नाक र पुच्छर डोरीले बाँधिएका हुन्छन्। शरीरमा चोटपटक र नीलडाम जहीँजता हुन्छन्।। शरीरबाट रगत र मुखबाट पिँ्कजसमेत बगिरहेको हुन्छ।

मासु पसल सडकका छेउमा हुन्छन्। बिक्रीका लागि छेकबार नभएको ठाउँको प्रयोग गरिन्छ। झिँगा भनभनी घुमिरहेका हुन्छन्।

उपत्यकामा ल्याएपछि बध गरिन्छ। बधशाला फोहोर र अव्यवस्थित रहन्छन्। हतियार मात्र खिया लागेको रहँदैनन्, काम गर्ने मान्छे झनै फोहोरी हुन्छन्। बासी तथा सडेगडेका चोक्टाहरुको कुरै हुँदैन। ढुवानी पनि जथाभाबी गरिन्छ। साइकल तथा मोटरसाइकलमा खुलमखुला।

मासु पसल सडकका छेउमा हुन्छन्। बिक्रीका लागि छेकबार नभएको ठाउँको प्रयोग गरिन्छ। झिँगा भनभनी घुमिरहेका हुन्छन्। बिके ठिकै, नबिके जेनतेन थन्काएर भोलि वा पर्सिपल्टसम्म नै बेचिन्छ। राँगाभैंसीको मात्र होइन, खसी तथा कुखुराको मासु पनि बिक्रिवितरण गर्ने तरिकामा खासै भिन्नता छैन।

उपत्यकामा मासुको व्यापार यसरी नै चलिरहेको छ। तर मासु बिक्रीको यो अवस्था कानुनविपरीत हो। तर, कारवाही गर्ने हिम्मत कुनै पनि निकायसँग देखिँदैन। ‘अहिले हामीले खाइरहेकेा मासु निकैै अस्वस्थकर छ,’ कन्जुमर आईकी अध्यक्ष विमला खनालले भनिन्, ‘स्वस्थ मासु खान पाउने उपभोक्ताको अधिकार हनन हुँदा समेत सरकारी निकाय मौन छन्।’ २०५५ सालमा बनेको पशु बधशाला तथा मासु ऐन कार्यान्वयन नहुँदा मासु पसल तथा ढुवानीमा व्यवसायीले मनोमानी गरिरहेका छन्। ऐन कार्यान्वयन नहुँदा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको खनालले बताइन्। ऐनमा बधशालाका लागि पर्याप्त खुला ठाउँ हुनुपर्ने र बिक्रीकक्षमा चिस्याउने व्यवस्थाका लागि  डिपफ्रिज राख्नुपर्ने उल्लेख छ। उपत्यकामा सञ्चालित अधिकांश मासु पसलले यसो गरेको देखिएको छैन।

तर, अब काठमाडौं महानगरपालिकाको पहलमा उपत्यकामा मासु पसलको व्यवस्थापन हुने भएको छ। ‘अहिले बेचिँदै आएको मासु अस्वस्थ छ भने अव्यवस्थित पसलले सहरको सौन्दर्यलाई समेत प्रभावित गरिरहेको छ,’ महानगर सहरी स्वास्थ्य विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘यसको व्यवस्थापन गरेर छ महिनाभित्र उपत्यकाबासीलाई स्वस्थ मासु खुवाउने गरी काम थालेका छौं।’

अहिले उपत्यकाबाहिर करिब एक दर्जन बधशाला रहेका छन्। ती बधशालामा चौपाया बध गराएर चिस्यान भ्यानमार्फत उपत्यकामा मासु ल्याइनेछ। उपत्यकामा ‘मिट मार्ट’ बनाएर मासु बिक्रिवितरण गरिने उनले जनाए। यसका लागि पूर्वाधार विकास गर्न महानगरपालिका लागिसकेको जनाइएको छ।

 काठमाडौं महानगरपालिकाको यस्तो पहललाई ललितपुर महानगरपालिका तथा उपत्यकाका सबै नगरपालिकाले सहयोग गरिरहेको श्रेष्ठले जनाए।

उपत्यकाबासीले तीन वर्षभित्र पूर्णरुपमा स्वस्थ मासु पाउने योजना महानगरपालिकासँग छ। ‘पहिलो, दोस्रो र तेस्रो वर्षमा कुन कुन काम गर्ने भनेर योजना बनाएर अघि बढेका छौं,’ श्रेष्ठले भने, ‘तीन वर्षभित्र भने उपत्यकामा पूर्णतया राँगाभैंसी निषेध गरी ‘मिट मार्ट’ मार्फत मासु बेचिनेछ।’ मार्ट भने सार्वजनिक निजी साझेदारीमा बनाइने महानगरले जनायो।

पशुसेवा विभागका अनुसार राजधानीमा मात्र दैनिक ३ सय ५ मेटि्रक टन मासु खपत हुन्छ। सबैभन्दा बढी २ सय ५० मेटि्रक टन कुखुराको मासु एक दिनमा खपत हुन्छ। कुखुरापछि राँगाको ३० मेटि्रक टन र सबैभन्दा कम खसीको २० मेटि्रक टन खपत हुन्छ।

महानगरपालिकाका अनुसार दिनमा सरदर ७ सयवटा राँगाभैंसी भित्रिन्छन्। खसीबोका १५ सय, कुखुरा ७० टन, बंगुर १ सय ५०, माछा ७ टन ल्याइने गरिएको छ। करिब ३ सय किलोको राँगाभैंसीबाट सयदेखि १ सय १५ किलोसम्म मासु बस्छ। ३० देखि ३५ किलोसम्म छाला बस्छ। ४० देखि ५० किलो हाड हुन्छ। १२ देखि १५ किलो रगत, १५ देखि २५ किलो बोसो हुन्छ। ४० देखि ६० किलोसम्म लादी निस्कन्छ। यो फोहोर भने उपत्यकालाई थप दूषित बनाइरहेको छ।

यता बधशाला व्यवसायी संघका अध्यक्ष नविन शर्माले पनि व्यवसायीहरु बधशालामा बध गराएर मासु ल्याउन तयार रहेको बताए। ‘तराईमा रहेका बधशालामा बध गराएर चीनमा मासु पठाइरहेका छौं,’ अध्यक्ष शर्माले भने, ‘बध गराएर उपत्यकामा मासु ल्याउन तयार छौं, यसका लागि सम्बन्धित निकायबाट व्यवसायीले नसक्ने पूर्वाधारको विकास हुनु जरूरी छ।’ महानगरपालिकाले चिस्यान केन्द्र बनाइदिने हो भने उपत्यकामा छ महिनाभित्र स्वस्थ मासु खुवाउन सम्भव रहेको उनले जनाए।

काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरपालिका अन्य निकायसँग समन्वय गरेर अघि बढिरहेकेा बताए। उनले बधशालाबाट आएको मासुको बिक्रीवितरण मिट मार्ट वा अहिले भइरहेका पसललाई नैै व्यवस्थित बनाएर गरिने प्रस्ट पारे। 

प्रकाशित: २४ चैत्र २०७३ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App