काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व राम जस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेका बताउँछन्।
श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ
“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुशरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”– उनले भने ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।
यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकोमा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ ।
यसैगरी, ‘व्रतार्क’ नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
हलेसीमा दर्शनार्थीको घुइँचो
धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो ।
मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए ।
धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।
यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल बराहापोखरी, ट्याम्के, दिक्तेलको मझुवागढीस्थित कालिका मन्दिरलगायतमा समेत ठूलो मेला लागेको छ । हलेसीबाहेक अन्य ठाउँमा एकदिने मेला लाग्ने गरेको छ । रासस
प्रकाशित: २३ चैत्र २०७३ ०६:२३ बुधबार