११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

हिमाली बाबैको कथाः ३२ वर्षदेखि बाटो बनाउँदै

सोलुखुम्बु– अनुहारमा बुढेसकाल झल्किएको छ । गाला पूरै चाउरी परिसके । आँखा पनि उतिसारो देख्दैनन् उनी । ७९ वर्षका पासाङ शेर्पा (लामा सेरु) लाई भने बुढ्यौलीले छोए जस्तो रत्तिभर लागेको छैन । त्यसैले त उनी बाटोमा बसेर चन्दा उठाउँछन् । चन्दाबाट बाटो बनाउने काममा निरन्तर छन् ।

७९ वर्षे उमेरमा पनि चन्दा उठाएर बाटो बनाइरहेका छन् लामा सेरु, ०४१ सालदेखि बाटो बनाउन थालेका उनले खुम्बु क्षेत्रमा करिब ४० किमी बाटो बनाइसके ।

‘उमेरले बुढेसकाल लागे पनि मेरो तन र अभियानले बुढेसकाल लाग्यो भन्दैन’, शेर्पाले भने, ‘एक मुठ्ठी सास रहुन्जेल पनि तपाईंहरूले मलाई यसरी नै बाटोमा बसेर मागिरहेका देख्नुहुनेछ ।’ लुगाफाटा मैला लगाएका छन् । बाटोमा चन्दा बाकस राखेका छन् । बाटो हिँड्ने जोकसैलाई पनि उनी भनिरहन्छिन्, ‘सकेको सहयोग गर्नुस् । यो मेरा लागि होइन तपाईंहरूकै लागि हो ।’

मागेर उनी अरुकै लागि काम गरिरहेका छन् । हजारौं पर्यटक हिँड्ने खुम्बु    क्षेत्रको बाटो बनाउँछन् । त्यसैले त उनले किन मागिरहेका छन् भनेर चन्दा बाकस वरपर राखेका सूचना बोर्ड पढिरहन पर्दैन । नाम्चेबाट त्याङ्बोचेतिर, फोरिचेतिर जाँदा देखिन्छ उनको काम ।

तल पर्खाल लगाएर उठाइएको । माथितिर पनि पर्खाल लगाइएको । फराकिलो अनि समथर पनि । अधिकांश ठाउँमा ट्याक्सीलगायतका साना गाडी गुडाउन मिल्ने । ग्राभेल सडक जस्तो । तर यो सडक नभएर पदैल मार्ग हो । साँघुरो, खल्ड्याङखुल्डुङ बाटो हिँडेका पर्यटक तथा गाइडले यो मार्ग हिँड्दा लामा सेरुलाई सम्झन्छन् । अनि धेरथोर चन्दा सहयोग पनि ।

चन्दाबाट उनले दिङ्बोचेदेखि फुगिथेंकासम्मको करिब १४ किलोमिटर बाटो बनाए । फेरिचेदेखि एभरेस्ट बेसक्याम्पसम्मको करिब ५ किलोमिटर बाटो पनि बनाए । अहिले उनी नाम्चे–त्याङ्बोचे हुँदै दिङ्बोचे जोड्ने अभियानमा छन् । यो बाटोको दुरी करिब २० किलोमिटर छ । ‘अब यो बाटो सक्न धेरै बाँकी छैन’, उनले भने, ‘एकदुई किलोमिटर होला । यही वैशाखभित्र सकिन्छ होला । त्यसपछि अर्को ठाउँमा अभियान सुरु गर्नेछु ।’

खुम्बु क्षेत्रको बाटो मर्मतमा उनी २०४१ सालदेखि खडा भएका हुन् । बाटो बनाउँदै जाँदा उनको नामसमेत परिवर्तन भएको छ । अहिले उनलाई धेरैले लामा सेरु भनेर चिन्छन् । सदरमुकाम सल्लेरी नजिकैको काकुबाट खुम्बु क्षेत्र उक्लिएर निरन्तर बाटो बनाउने अभियानमा जुटेका हुन् उनी ।

उनी सुरुमा ट्रेकिङ पेसामा थिए । पर्यटक लिएर खुम्ब घुमाउन लैजान्थे । ‘त्यसबेलाको अप्ठ्यारो बाटो देखेर कुन बेला हामी नै लडेर मरिने हो किन भनेझैं हुन्थ्यो’, उनले सुनाए, ‘झन् पर्यटकलाई कस्तो हुँदो हो । त्यसैले पर्यटक घुमाउनु भन्दा बाटो बनाए धेरै पर्यटकलाई सजिलो होला भन्ने लागेर यो अभियान चालेको हुँ ।’

सगरमाथा राष्ट्रिय निकुञ्जको स्वीकृति लिएरै बाटो बनाउन लागेका उनी केही वर्षयता भने आफैं गंैती, साबेल लिएर बाटो बनाउन सक्ने अवस्थामा छैनन् । स्वास्थ्यस्थितिले गर्दा उनले अहिले दुई जना मान्छे राखेका छन् । उनीहरूले बाटो बनाउने काम गरिरहेका गर्छन् । यी दुई जनालाई पनि चन्दाबाट उठेको रकम पारिश्रमिक दिन्छन् । दैनिक तीन पटक खाएर ९ सय रुपैयाँ एक जनाको ज्याला छ ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बर्सेनि हजारौं पदयात्री र आरोही जान्छन् । सोही बाटो भएर जाने पर्यटक र गाइडहरूको स्वेच्छिक सहयोगले ज्याला रकम उठ्ने गर्छ । ‘रकम कति उठ्छ हिसाब रोखेको छैन’, लामा सेरुले भने, ‘मेरो गुजारा यहाँबाट चलाएको छु अरू एक रुपैयाँ पनि हिनामिना भएको छैन ।’

उसो त रकम दिनेहरू पनि हिनामिना भयो कि भनेर शंका गर्दैनन् । ‘हामीलाई उनीमाथि थोरै पनि शंका छैन’, हरेक वर्ष पर्यटक लिएर खुम्बु क्षेत्रमा पुग्ने पेम्दोर्जी शेर्पा भन्छन्, ‘सक्दा उनी आफैं बाटो बनाउन खट्थे । नसक्दा उनी मान्छे लगाएर काम लगाइरहेका छन् । मान्छे हिँड्न नसकिने बाटो ट्याक्सी गुड्न सक्ने बनाएका छन् ।  उनीमाथि शंका गर्नु आवश्यक छैन ।’ पेम्दोर्जी मात्रै होइन सजिलो बाटोमा आफू र आफूले घुमाउन लगेका पर्यटकलाई सजिलो बाटोमा हिँडाउन पाएपछि खुलेरै सहयोग गर्दै आएका छन् उनको कार्यलाई ।

‘विदेशीलाई पनि उनको कामका बारेमा बुझाएर सहयोग गर्न लगाउने गरेका छौं’, पर्यटक गाइड छिरी शेर्पा भन्छन्, ‘उनले साँच्चिकै काम गरेका छन् । उनलाई सरकारले पनि केही गर्नुपर्छ ।’ नाम्चेका पर्यटन व्यवसायी पासाङ शेर्पा पनि उनले खुम्बु क्षेत्रको बाटो बनाएर पर्यटन तथा सर्वोच्च शिखर जाने आरोहीलाई सहज बनाउने काम गरेको बताउँदै सरकारले उनको योगदानको कदर गर्नपर्ने बताउँछन् ।

 

प्रकाशित: २३ चैत्र २०७३ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App