१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखराः ‘रत्न मन्दिर’ परिसर खुल्यो, दरबार खुलेन

रत्न मन्दिर परिसरमा तस्बिर खिचाउँदै पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलगायत। तस्बिरः उमेश पुन÷नागरिक

पूर्व राजाको हिउँदे दरबारको रुपमा चिनिएको ऐतिहासिक ‘रत्न मन्दिर’ परिसर सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। १५ औं गणतन्त्र दिवसको अवसर पारेर फेवाताल किनारस्थित रत्नमन्दिर परिसर सर्वसाधारणको अवलोकनका लागि सोमबारदेखि खुल्ला गरिएको हो।  सोमबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रत्नमन्दिर परिसर सर्वसाधारणका लागि खुल्ला भएको घोषणा गरे।

अग्लो पर्खालभित्र थुनिएको रत्नमन्दिर परिसर खुलाउने पटकपटक प्रयास भएपनि सार्थकता पाउन सकेको थिएन। गणतन्त्र स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका सबैले रत्नमन्दिर परिसर खुलाउने प्रयत्न गरेका थिए। तर, कहिले सुरक्षा त कहिले कुन रुपमा दरवार परिसर उपयोग गर्ने भन्ने विवादले सार्थकता पाउन सकेको थिएन।  

राजतन्त्रको अन्त्य भएर नेपालमा गणतन्त्र आएको डेढ दशकपछि मात्रै पूर्व राजाको हिउँदे दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको हो। सरकारले नेपालमा गणतन्त्र आएको साढे २ वर्षपछि २०६४ साल असोज २१ गते रत्न मन्दिरलाई नेपाल ट्रष्ट मातहत ल्याउने निर्णय गरेको थियो। २०७३ साल बैशाख ८ गतेबाटै रत्नमन्दिर खोल्ने घोषणा गरिएको थियो, तर त्यो घोषणा घोषणामै सिमित भयो।  

त्यसपछि भिजिट नेपाल २०२० को अवसर पारेर २०२० को जनवरी १ तारिखबाट रत्नमन्दिर खोल्ने घोषणा भयो । त्यतिबेला पनि मन्दिर परिसर खुलेको थिएन।  त्यसपछि पर्यटन मन्त्रीहरु भानुभक्त ढकाल, योगेश भट्टराई र प्रेमबहादुर आलेको पालामा पनि रत्न मन्दिर परिसर खुलाउने भनियो तर व्यवहारमा लागू भएन। तर यसपटकको प्रयासले सार्थकता पाएपछि पोखरेली खुशी भएका छन्।

फेवाताल किनारमा रहेको यो रत्न मन्दिर तत्कालीन राजा महेन्द्र मल्लले आफ्नी कान्छी रानी रत्न राज्य लक्ष्मी शाहको नाममा २०१३ सालमा निर्माण शुरु गरेर २०१४ सालमा निर्माण सम्पन्न गरेका थिए। पछि यो बिरेन्द्र राजाको नाममा ल्याइएको थियो। १७४ रोपनी ४ आना २ पैसा क्षेत्रफलमा फैलिएको यो रत्न मन्दिरमा १० वटा संरचना रहेका छन्। जहाँ रत्न मन्दिर दरबार भित्र राजा रानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, बैठक कक्ष छ भने मन्दिर परिसरमा राजा रानीले हावामा टहलिन फेवातालसँगै जोडिएको तालघर, हिमागृह, तत्कालीन राजाको एडिसीका लागि कार्यालय भवन, आर्मी क्याम्प, रत्नचोक, ५ नम्बर कम्पाउण्डमा खेल मैदान, ४ नम्बर कम्पाउण्डमा हेली प्याड, त्यस्तै, १, २ र ३ नम्बर कम्पाउण्ड रहेका छन् ।

पोखराको बसुन्धरा पार्कबाट तालवराही मन्दिर जाने बाटोको बिचमा रहेको रत्नमन्दिरलाई अहिले पनि कडा सुरक्षा दिएर राख्ने गरिएको छ। अग्लो पर्खालले घेरिएको मन्दिरलाई नेपाली सेनाले सुरक्षा दिदै आएको छ। कुनै समय तत्कालिन राजा महेन्द्र १३ महिनासम्म यहि दरबारमा बसेका थिए। प्यागोडा शैलीमा बनाईएको दरबारको भित्री संरचना ढुंगामा कँुदिएका आकर्षक कलाले सजाईएको छ। दरबार भएपनि नेपाली कलाकृति झल्काउने संरचनाले यो विशिष्ट देखिन्छ।  

यसअघि कहिले संग्रहालय बनाएर सर्वसाधारणका लागि खुलाउने, कहिले पाँचतारे होटल बनाउने त कहिले सरकारी आवास बनाउने बहस र चर्चा हुँदै आएको थियो। पाँचतारे होटल चलाउने गरी सरकारले निजी क्षेत्रलाई दिन लागेको भन्दै पोखरामा आन्दोलन नै भएको थियो भने गण्डकी प्रदेश सरकारले निजी क्षेत्रलाई भाडामा दिन अध्ययन नै गरेको थियो। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले रत्न मन्दिर प्रदेशलाई दिन माग गर्दै प्रयोगबारे कार्यदल बनाएर अध्यय नै गरेको थियो।

रत्नमन्दिर परिसर सर्वसाधारणका लागि खुल्ला गर्ने घोषणा कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रत्नमन्दिर ईतिहास भएकाले यसलाई महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए। ‘खुल्ला गर्नुमात्र ठूलो कुरा होईन,’ उनले भने, ‘अब यसको रेखदेख, सम्बद्र्धन र प्रचार गर्नु ठूलो कुरा हो। यसको संरक्षण, सम्बद्र्धन र रेखदेख गर्ने काम पोखरेली नागरिकको हो। यहाँको स्थानिय र प्रदेश सरकारको हो।’ उनले रत्नमन्दिर परिसर पर्यटकको भुल्ने ठाउँ हुनुपर्ने बताए।  

त्यसका लागि रत्न मन्दिरदेखि हिमागृहसम्म जोडेर सुन्दर ऐतिहासिक स्थल बनाउनुपर्ने बताउँदै उनले भने, ‘यहाँको हिमश्रृंखला, ताल तलैया, प्राकृतिक छठा, मठमन्दिर र सांस्कृतिक र पुरातात्विक स्थलहरु मात्रै होईन, रत्नमन्दिर पनि आधा दिन भुलाउने स्थल बन्नुपर्छ।’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले सरकारले विभिन्न बाधा, अड्चन पन्छाउँदै रत्नमन्दिर खुल्ला गर्न सफल भएको बताए। ‘यसअघि रत्न मन्दिर खुलाउन धेरै प्रयत्न त भयो तर के के नमिलेर खुलेन। त्यसैले जसरीपनि खुलाउनुपर्छ भनेर सबैजना लागेपछि यसले सार्थकता पायो,’ उनले भने। उनले अब रत्नमन्दिरको सञ्चालन पोखरा महानगरपालिकालाई दिनुपर्ने बताए। उनले भने, ‘किनकी यो संघ वा प्रदेश सरकारले भन्दा स्थानिय सरकारले प्रभावकारी चलाउँछ। बरु केहि मिलाउनुपर्छ भने मिलाएर भएपनि यसको जिम्मा महानगरलाई दिउँ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि पर्यटन मन्त्रालय अन्तर्गत नहुँदा रत्न मन्दिर खोल्ने पटकपटकको प्रयास सफल नभएको बताए। प्रधानमन्त्री प्रचण्डले रत्न मन्दिर खोल्ने प्रतिबद्धता पूरा गरेको र अब पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने प्रतिबद्धतापनि पूरा गर्ने विश्वास व्यक्त गरे। ‘दुईवटा प्रतिबद्धता मध्ये रत्न मन्दिर खोल्ने प्रतिबद्धता पूरा भएको छ। आशा छ पोखरालाई पर्यटनको राजधानी बनाउन महानगर र गण्डकी प्रदेश सरकारले पठाएको पत्र र उहाँ आफैले गरेको प्रतिबद्धता पूरा गर्नुहुनेछ,’ उनले भने।

नेपाल ट्रष्टका कार्यकारी सचिव सञ्जुकुमार वैद्यले रत्नमन्दिर खुल्ला भएसँगै हिमागृहलगायत अन्य ऐतिहासिक स्थलहरु खुल्ला गर्दै लैजाने ट्रष्टको योजना रहेको बताए।

परिसर खुल्यो दरबार अझै बन्द

रत्न मन्दिर परिसर खुल्ला गरिएपनि त्यस भित्रको दरबारमा भने तत्काल प्रवेश दिइने छैन। पहिलेको दरबार भएकाले त्यहाँको सामान तलमाथि हुन्छ कि भनेर अहिले तत्कालका लागि दरबार खुल्ला नगरिएको नेपाल ट्रष्टकी सदस्य योङ्जोम शेर्पाले बताईन्। उनका अनुसार दरबार भित्र प्रवेशद्वार भएपनि बाहिर निस्कने द्वार नहुँदा पर्यटकलाई साँघुरो हुने तथा त्यहाँ तत्कालीन राजाले प्रयोग गर्ने ऐतिहासिक वस्तुहरुपनि भएकाले त्यसलाई सुरक्षित नगराई भित्र प्रवेश दिनु जोखिम हुने भएकाले तत्काल दरबार प्रवेश नदिइएको हो। तर ऐतिहासिक वस्तुहरुको संरक्षणसँगै बाहिर निस्कने द्वार निर्माण गरेपश्चात दरबारपनि खुल्ला गरिनेछ।

दरबार प्रवेशका लागि टिकट

रत्न मन्दिर परिसर प्रवेशका लागि टिकट काट्नुपर्ने भएको छ। त्यहाँ प्रवेशका लागि सर्वसाधारणलाई एकसय, विद्यार्थीका लागि ५० र विदेशी पर्यटकका लागि एक हजार रुपैयाँ टिकट दर राखिएको छ। भारतीय पर्यटकका लागिपनि छुट्टै टिकट राख्ने कि भन्नेबारेमा छलफल भईरहेको बताइएको छ।

प्रकाशित: १५ जेष्ठ २०८० ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App