आँखै अगाडी देखिने चाँदी जस्तै टल्कने अन्नपूर्ण प्रथम, निलगिरी नर्थ र साउथ, तिलिचो पिक।
बिहान उदाउने सूर्य हिमालमा पर्दा सुन जस्तै टल्किने र मध्यरातमा जून चम्किँदा चाँदी जस्तै टल्कने हिमालको काखमैमा अवस्थित पञ्चकुण्ड ताल।
हिमालसँगै हिमपातले चारैतिर सेताम्मे पहाडको काखैमा अवस्थित पञ्कुण्ड ताल। ४ हजार ५० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण हिमाल र तिलिचो पिक सहित अन्य हिमशृङ्खलाबाट बग्ने सफा र स्वच्छ पानी जम्मा भएको पञ्चकुण्ड ताल अक्केर भिर हुँदै जोखिमपूर्ण यात्रा गरी अन्नपूर्ण आधार क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रकृतिको अलौकिक उपहार हो।
हिम पहिरो र चराचुरुङीको आवाजसँगै आधार क्षेत्रबाट देखिने ताल चिसो मौसममा बरफ जस्तै जमेको हुन्छ भने अन्य समयमा सदावार निलो रंङमा पर्यटकलाई स्वागत गर्ने गर्दछ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित यो ताल अन्नपूर्ण हिमालको काखमा (८,०९१ मिटर) मा पर्छ। करिब २० हजार मिटर क्षेत्रमा फैलिएको तालभित्र पाँच वटा कुण्ड जस्तै भएकाले यसलाई पञ्चकुण्ड ताल भनिन्छ। ताल नजिकै शिवको मन्दिर छ भने माथिल्लो क्षेत्रमा बौद्ध धर्मालम्बीहरुले समेत बौद्धको मूर्ति राखेर दर्शन गर्ने गर्दछन्। धार्मिक महत्त्व भएकाले ताल आसपासका क्षेत्रमा पशुपक्षीको बली दिन पाइँदैन। मौसम खुलेसँगै ताल नजिकै पुगेर दर्शन गर्ने र आफ्नो मनोकामना पूराको कामना समेत गरिन्छ। ताल नजिकै रहेको आश्रय स्थल र अन्नपूर्ण आधार क्षेत्रको माथिल्लो भागबाट आँखाले समेत एकै पटक हेर्न नभ्याइने तालको रुपरंग लोभलाग्दो देखिन्छ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी नारच्याङको होमखोलासम्म आइपुगेपछि, त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट तालमा पुगिन्छ।
होमखोलबाट लगातारको यात्राको क्रममा बाटोमा समेत सुन्दर प्रकृतिको उपहार प्रति मोहित भएर रमाउन सकिन्छ। नियमित पदयात्रामा रमाउनेहरु एकै दिनमा होमखोलाबाट तालमा पुग्छन् भने अन्यलाई २ दिनको पैदल यात्रा गर्नुपर्छ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले तालमा पानीकाे सतह बढाउन र अन्य आवश्यक पूर्वाधार समेत विस्तारको योजना रहेको बताउँछन्। उनले तालबाट बाहिरिने पानीलाई ड्याम बनाएर आवश्यकता अनुसार छोड्ने र खाली रहेको जमिनमा समेत पानीको सतह फैलाउने र लेजर प्रविधिबाट तालको समग्र क्षेत्रफल पत्ता लगाउने बताए । यो ताललाई गण्डकी प्रदेशभित्र उच्च हिमाली क्षेत्रमा रहेको मनाङको तिलिचोभन्दा पनि फराकिलो ताल भएको अनुमान गरिएको छ।
प्रकाशित: ८ जेष्ठ २०८० ०८:५२ सोमबार