१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सप्तरी घटना : पूर्वजानकारी सुरक्षा योजना शून्य

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालसहित, गृहमन्त्री, सुरक्षा निकाय सप्तरीमा एमालेको कार्यक्रम र मधेसी मोर्चाको रणनीतिबारे जानकार रहे पनि सोअनुसार योजना नबन्दा सप्तरीमा गत सोमबार तीनजनाको ज्यान गएको सुरक्षा निकायका अधिकारीले बताएका छन्।

मेची–महाकाली अभियानअन्तर्गत प्रदेश नम्बर २ मा कार्यक्रम राखेको एमालेले गरेको शक्ति प्रदर्शन र कुनै पनि अवस्थामा रोक्ने पक्षमा रहेको मधेसी मोर्चाले साताअघि नै आआफ्ना कार्यक्रम सार्वजनिक गर्दै आएका थिए।

प्रधानमन्त्री दाहालसहितलाई गुप्तचर निकायले कार्यक्रमका विषयमा दिएका विविध सूचनाअनुसार योजना नहुुनु घटनाको प्रमुख कारणमध्ये एक थियो। जानकारी भएरै पनि सरकारले सूचनाअनुसारको योजना किन बनाएन रहस्यमय बनेको छ।

खासगरी गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर निकायले कमान्ड सेन्टर गठन गरेरै परिचालनको रणनीति बनाए पनि घटना भइसक्दासमेत फिल्डमा रहेका सुरक्षाकर्मीले ठोस निर्देशन पाएका थिएनन्।

न्यूनतम बलको रणनीतिअनुसारको निर्देशन पाइरहेका फिल्डका अधिकारीलाई ठूलो घटनाको संघारमा पुग्दासमेत माथिल्लो निकायले ठोस निर्देशन दिएको थिएन।

गुप्तचर निकायका एक वरिष्ठ अधिकारी बारम्बार सरकारलाई सम्भावित घटना र दुवै पक्षको रणनीतिका विषयमा जानकारी र सूचना दिँदासमेत सप्तरीका लागि ठोस योजना र सोहीअनुसारको कार्यान्वयन तथा कमान्ड अभावले घटना भएको बताउँछन्।

'हामीले दुवैतर्फका मानवस्रोत, उनीहरूको अवस्थिति र उनीहरूसँग हुन सक्ने प्रतिकारका साधनसमेतको सूचना दिएका थियौं, सोअनुसार योजना र कार्यान्वयन दुवै हुन सकेन', ती अधिकारीले नागरिकसँग भने।

उनका अनुसार अभियानकर्ताका तर्फबाट चार सय हाराहारीमा युवा दस्ता र मोर्चाका करिब एक हजार युवा भिडन्तकै मनसायले फिल्डमा उत्रिएका थिए। उनले भने, 'अभियानकर्ताले अन्तिम समयसम्म संयम अपनाएको, फिल्डमा खटिएका सुरक्षाकर्मीले तालिमअनुसार नगरेको र घेरा तोड्न ढुंगामुढा भएपछि घटना भएको हो।'

ठूलो क्षति टरेको प्रचार

सप्तरी घटनामा सुरक्षा बलले समयमै गोली नचलाएको भए अभियानकर्ता र मोर्चाका सयौं कार्यकर्ताको मृत्यु हुन सक्ने गुप्तचर निकायको निष्कर्ष भन्दै सरकार प्रचारमा जुटेको छ। सरकारले सोहीअनुसारको जानकारी र सूचना सञ्चारकर्मीलाई दिँदा घटनाको सत्यतथ्य लुक्ने खतरा बढेको छ। 

एमाले र मोर्चा दुवैले आफ्नो शक्ति केन्द्रित गर्दा ठूलो भिडन्तको सम्भावना रहेको निष्कर्ष गुप्तचर निकायको थियो।

जिम्मेवारीअन्तर्गत नरहे पनि विशेष चासो राखेको नेपाली सेनाको डिपार्न्टमेन्ट अफ मिलिट्री इन्टिलिजेन्स (डिएमआई), राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीका सादा पोसाकका अधिकारीले एमाले र मोर्चाको कार्यक्रमका विशेष सूचना संकलन गरिरहेका थिए।

प्रहरीको एउटा सादा पोसाकको टोलीले कार्यकर्ताका रूपमा अभियानकर्तालाई मेचीदेखि नै पछ्याइरहेका थिए।

यस्तै जिल्लामा रहेको गुप्तचर टोली मोर्चाका सूचना संकलनमा सक्रिय थियो।

प्रहरी प्रधान कार्यालयमा स्थापना गरिएको कमान्ड सेन्टरले बेलैमा उचित निर्णय लिन नसक्दा ड्युटीमा रहेका प्रहरीले पक्राउ, धरपकड र बल प्रयोगभन्दा गोली चलाएर धपाउने रणनीति अख्तियार गरेका थिए।

गृह प्रवक्ता बालकृष्ण पन्थीले रौतहट र कैलाली घटनाको स्वरूप सप्तरीमा देखिएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको बताए। उनले सम्भावित ठूलो दुर्घटनाअगावै सुरक्षाकर्मीले बल प्रयोग गरेका कारण धेरै ठूलो क्षति टरेको बताए।

'पछिल्ला घटनाक्रमअनुसारकै गतिविधि देखिएपछि बल प्रयोग भएको हो, दुवैतर्फका कार्यकर्ता भिड्न सक्ने वा एकतर्फी आक्रमण रोक्न बल प्रयोग भएको हो', पन्थीले नागरिकसँग भने।

गुप्तचर निकायले सप्तरी घटनामा गोली चलाउने सुरक्षाकर्मीले कमान्डरको आदेशसमेत लत्याएको अनुमान गरेको छ। एकतर्फबाट ठूलो लावालस्करसहित आएको अभियानकर्ताको समूह र रोक्न भेला भइरहेको भीडका बीचमा रहेको सुरक्षाकर्मीमध्ये एकले अचानक फायर खोलेपछि घटना भएको हो।

यस्तै सुरक्षाकर्मीले सयांैको सवारी लस्करमा रहेका एमाले कार्यकर्ता र जसरी पनि रोक्ने मनसायले उत्रिएका मोर्चाका कार्यकर्ता रोक्न माथिल्लो निकायबाट समयसमयमा उचित निर्देशन नपाउँदासमेत बल प्रयोगभन्दा गोली चलाउन उचित ठानेका थिए।

तीन पूर्वप्रधानमन्त्रीको सुरक्षा तनाव

सप्तरीको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनालको उपस्थितिले समेत सुरक्षा तनाव थपिएको थियो। कार्यक्रममा सम्बोधन गर्ने योजनाअनुसार करिब १८ सय सुरक्षाकर्मीले हालेको घेरा तोड्न दुई हजार बढी मोर्चा कार्यकर्ता सक्रिय भएपछि सुरक्षाकर्मी केही मिनेट अलमलमा परेका थिए।

पूर्वप्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि सुरक्षा घेरासहितको निर्धारित निश्चित योजना बनेको थिएन। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले बारम्बार माथिल्लो निकायलाई कार्यक्रम स्थगित गर्न वा सोहीअनुसारको सुरक्षा प्रबन्धका लागि आग्रह गरे पनि 'आइपरे टर्ने' नीतिका कारण तीनजनाले ज्यान गुमाएको र आधा दर्जन गम्भीर घाइते भएका छन्।

प्रजिअ र सुरक्षाकर्मी फेरिए

गृह मन्त्रालयले घटनापछि जिल्लाका सुरक्षा अधिकारी परिवर्तन गरेको छ। सप्तरीमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, प्रहरी प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रमुखमा रामआधार यादवलाई पठाइएको छ।

सोमबार तीन जनाको ज्यान जानेगरी घटना भएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रालयले नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई पनि फिर्ता बोलाएको छ।

घटनाका समय कैलालीमा रहेका गृहमन्त्री निधि काठमाडौं ओर्लनासाथ सीधै प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको कमान्ड पोस्टमा पुगेर घटनाको जानकारी लिएका थिए।

प्रकाशित: २६ फाल्गुन २०७३ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App