७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अग्निपीडितका घर तयार हुँदै

कालिकोटको तिलागुफा नगरपालिकाभित्रका अग्निपीडित परिवारले घर बनाउन सुरु गरेका छन्। नगरपालिकाको वडा नं ४ र २ का अग्निपीडित परिवारले सरकारले दिएको पहिलो किस्ताको ५० हजार र केही ऋण काढेर घर तयार गरेका हुन्।

माघ महिनामा आगोबाट नष्ट भएका १७ घरको निर्माण कार्य सुरु गरिएको छ। विपद् व्यवस्थापन समितिमार्फत पीडित परिवारले पाउनुपर्ने पहिलो किस्ता मात्र पाउँदा ऋण काढेर घर तयार गर्न थालिएको स्थानीय मानबहादुर बिकले बताए। उनका अनुसार सरकारले दिने पहिलो किस्ताले मात्र घर तयार नहुने हुँदा गाउँमै ऋण काढेर घर तयार गरेका हुन्। ‘सरकारले दोस्रो किस्ता नदिँदा समस्या छ। लामो समयदेखि छिमेकीको घरमा बस्दै आएका छौं।’ वडा नं २ का धनबहादुर विकले भने, ‘आफ्नो घरमा बस्ने सोच गरेको पाँच महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन। अहिले ऋण तानेर घर तयार भएको छ। लामो समयदेखि छिमेकीका घरमा ओत लाग्दै आएका छौं। अब बर्खा सुरु भयो। छिटै घर तयार गर्न सरकारले अर्को किस्ता दिएको भय हुन्थ्यो।’ घर तयार गर्न ऋण मागेका कारण सरकारले छिटो किस्ता दिनुपर्ने माग उनीहरूको छ। उनीजस्तै धेरैको पीडा उस्तै छ।

स्थानीय सरकारको ७५ हजार र प्रदेश सरकारको ४ लाख २५ हजार गरी पाँच लाखमा घर तयार गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। पहिलो किस्ताको ५० हजार मात्र पीडित परिवारले पाएर घर तयार गर्दै छन्। कतिपयको घर आधा बनेको छ। अग्निपीडित परिवार अहिले सरकारले दिने दोस्रो किस्ताको रकमको पर्खाइमा रहेको पीडित बिउरी बिकले बताइन्।

तिलागुफा नगरपालिकाले गर्नुपर्ने सबै प्राविधिक रिपोर्टसमेत बुझाइसकेको भए पनि प्रदेश सरकारले भुक्तानी नदिँदा बाँकी किस्ता नआएको तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र शाहीले बताए। उनले भने, ‘पीडित परिवारले पाउनुपर्ने दास्रो किस्ता नपाउँदा उनीहरूलाई समस्या थपिन थालेको छ। केहीले घर तयार गरिसकेका छन्। केहीको काम हँुदै छ। आगोबाट नष्ट भएका १७ घरको पहिलो किस्ताको रकमले घर निर्माण कार्य सुरु गरिएको छ। नगरपालिकाको वडा नं ४ का १३ घर र वडा नं २ का ४ घरको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको उपमेयर शाहीले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार पछिलो समय प्राधिकरणको ओपसाइडमा तथ्यांक राख्नुपर्ने भएकाले केही ढिलाइ भएको बताए। उनले भने, ‘पहिलो किस्ताको रकम सम्बन्धित पीडित परिवारको खातामा गइसकेको छ। दोस्रो किस्ताका लागि प्राधिकरणको ओपसाइडमा फोटोसहितको तथ्यांक प्राप्त भएपछि प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउने बताए। उनले पूरै घर नष्ट भएकाहरूका लागि पाँच लाख दिने निर्णय भएको बताएका छन्।

प्रकाशित: २६ वैशाख २०८० ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App