ललितपुर-ललितपुरको पाटन क्षेत्रका सम्पदा पुनर्निर्माण गर्दा काठ प्रयोगमा लापरबाही गरेको पाइएको छ। भूकम्पले ध्वस्त सम्पदा पुनर्निर्माण गर्दा पहिला अग्राख प्रयोग भएको ठाउँमा अहिले धमाधम सल्लो र सिमल प्रयोग गरिएको छ।
पुनर्निर्माण गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी) ले लापरबाही गरेको हो। पाटन दरबार क्षेत्रको सुन्दरचोक र मूलचोकको पाटी तथा चारनारायण मन्दिर निर्माणमा सल्लो र सिमल प्रयोग गरिएको छ । यी सम्पदामा केभिपिटीले सल्लाका दलिन र निदाल प्रयोग गरेको छ।
यता पुरातत्व विभागले सम्पदा पुनर्निर्माण गर्दा पुरानै तथा बलियो काठ प्रयोग गर्न निर्देशन दिएको छ। ‘भत्केका सम्पदा पुनर्निर्माण गर्दा पहिला जुन काठ प्रयोग भएको थियो अहिले पनि त्यही काठ प्रयोग हुनुपर्छ,’ पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘हामीले उपत्यकाभित्र पुनर्निर्माण हुन लागेका सम्पदामा काठ प्रयोगमा संवेदनशील हुनुपर्छ ।’
उनले पुराताŒिवक सम्पदा जसले निर्माण गरे पनि त्यसको मौलिकता कायम रहने र टिकाउ हुने किसिमले पुनर्निर्माण गर्न आग्रह गरे । ‘पुराना सम्पदाको टिकाउ पुनर्निर्माणलाई सल्लो उपयुक्त हुँदैन,’ उनले भने, ‘बरु पहिला सल्लो प्रयोग भएको ठाउँमा अहिले अग्राख प्रयोग गर्नुपर्छ । पहिला अग्राख प्रयोग भएको ठाउँमा अहिले सल्लो प्रयोग गर्नु उपयुक्त मानिँदैन, सम्पदा टिकाउ राख्न काठ पनि टिकाउ चाहिन्छ।’
केभिपिटी अध्यक्ष रोहित रञ्जितकारले अग्राख काठ पाउन गाह्रो भएका कारण सल्लो प्रयोग गर्नुपरेको बताए । ‘अहिले काठ ल्याउन गाह्रो छ,’ उनले भने, ‘नयाँ काठ तराईबाट ल्याउनुपर्र्छ, त्यसमा पनि उपत्यका भिœयाउन कठिन छ ।’
पुरातत्वविद् सुदर्शन तिवारीले सम्पदा निर्माणमा सल्लो र सिमल प्रयोग गर्न उचित नहुने बताए। ‘पछिल्लो समय सम्पदा पुनर्निर्माणमा स्टिल पाता, सल्लो र सिमल प्रयोग गरिएको छ,’ उनले भने, ‘यसले सम्पदालाई लामो समय टिकाउँदैन र मौलिकता पनि मेटिँदै जान्छ ।’
पुरानो र बलियो काठमात्र प्रयोग गर्न सुझाव
भूकम्पले भत्काएका सम्पदामा पुरानै र बलिया काठका झ्याल, ढोका, कार्नेस, निदाल, बिम, चौकोस प्रयोग गर्न विभागले सुझाएको छ । सम्पदा निर्माणका लागि तराईबाट काठ ल्याउने कार्य भइरहेकोे विभागका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार पुराना काठको नमुना परीक्षणका लागि नेपालमा ल्याब मेसिन नभएकाले केही सम्पदाको काठ नमुना परीक्षणका लागि विभागले बेलायतको ल्याबमा पठाएर परीक्षण पनि गराइसकेको छ ।
उनले भने, ‘अहिले निर्माण भइरहेका सम्पदामा काठ प्रयोग गर्दा संयम अपनाएका छांै । जुन तहबाट सम्पदा पुनर्निर्माण भए पनि विभागले सबैलाई पुरानो र बलियो काठ प्रयोग गर्न सुझाएको छ ।’
भूकम्पले भत्काएका ऐतिहासिक सम्पदा निर्माण गर्दा ३० देखि ४० प्रतिशतसम्म पुराना काठ प्रयोग हुने विभागका महानिर्देशक दाहालले जानकारी दिए । ‘पुरानै काठ पनि प्रयोग गर्न मिल्ने छन्,’ उनले भने, ‘पुराना काठ अपुग भएकाले तराईबाट काठ ल्याएका छौं ।’ तराईबाट नयाँ काठ ल्याउन विभागले केही कर्मचारी परिचालन गरेको उनले बताए ।
‘पहिले सम्पदा निर्माण गर्दा सबैभन्दा बढी अग्राख प्रयोग भएको भेटिएको छ । ती काठ अहिले प्रयोग गर्न मिल्ने, दुरुस्तै छन्,’ पुरातŒव विभाग ललितपुर शाखा प्रमुख काजीमान प्याकुरेलले भने, ‘भूकम्पले भत्काएका अधिकांश सम्पदामा अग्राख, चाप र सल्लोसमेत प्रयोग भएको भेटिएको छ ।’
भूकम्पले भत्काएका उपत्यकाका अधिकांश सम्पदामा प्रयोग भएका काठ धेरै पुराना नभएकाले पनि फेरि प्रयोग गर्न सकिने विभागका सूचना अधिकारी कुँवरले जानकारी दिए । उनले भने, ‘मल्लकालीन तथा उक्त समयभन्दा अघि निर्माण भएका सम्पदा भए पनि तिनको पुनर्निर्माण भएको एकडेढ सय वर्षमात्रै भएको छ । त्यसैले पुरानो काठ प्रयोग गर्न मिल्ने देखिएको हो ।’
पुराना सम्पदामा प्रयोग भएकोजस्तो झ्याल एउटा बनाउन पाँच महिना लाग्ने हुँदा नयाँ काठ प्रयोगबाट संरचना बनाउन समय लाग्ने पुरातŒव विभागले जनाएको छ ।
भूकम्पले भत्काएका सम्पदामा प्रयोग हुने काठका सामग्री तयार पार्न सयभन्दा बढी सिकर्मी खटिएका छन् । केही सम्पदामा पुरानो काठबाट बनेका झ्यालढोका पनि बसालिसकिएको छ ।
सम्पदाका झ्याल ढोकामा कलात्मक शैली प्रयोग गरिएका कारण पुरातŒव विभागले मातहतका सम्पदा पुनर्निर्माण गर्न सकेसम्म तिनकै प्रयोगमा जोड दिएको छ ।
पुराना संरचनामा प्रयोग भएको काठ हजार वर्षसम्म केही नहुने पाटन मंगलबजारका ७० वर्षीय किरण बज्राचार्य बताउँछन् । उनी भन्छन्, ‘पहिला प्रयोग भएको काठ अग्राख हो भनिन्छ तर त्यसको भित्री पार्ट हेर्दा अग्राखभन्दा बलियो काठ प्रयोग भएजस्तो पनि देखिन्छ ।’
प्रकाशित: २४ माघ २०७३ ०२:१६ सोमबार