९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

काठमाडौं- भूकम्पका कारण सगरमाथाको उचाइ घटेको भन्दै भारत सरकारको सर्भे अफ इन्डियाले पुनः मापन गर्न प्रक्रिया अघि बढाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेकाले सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने उसले जनाएको हो।

सर्भे अफ इन्डिया भारतको म्यापिङ तथा इन्जिनियरिङ कार्य हेर्ने केन्द्र सरकार अन्तर्गतको संस्था हो।

नेपाल सरकारले यसबारेमा हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन। नेपाल-चीन सीमामा पर्ने सगरमाथा विश्वकै सर्वोच्च हिमाल हो। विश्व समुदायबीच पहिचानका लागि नेपाल र नेपालीले सगरमाथाको प्रयोगर गर्दै अाएका छन्। नेपालका माैलिक पहिचान ध्वस्त बनाउन भारतीय प्रयास भइरहेको भन्ने चर्चा चलिरहेका बेला सगरमाथा पुनःमापनको विषय सार्वजनिक भएको हो। 

‘यो नेपालको राष्ट्रिय गौरवको विषय हो। आफैले गर्दा राम्रो हुन्छ।’

‘मौखिक रुपमा प्रस्ताव आएको हो। त्यस विषयमा औपचारिक रुपमा कुनै प्रस्ताव आएको छैन,’ नापी विभागका महानिर्देशक कृष्णराज बिसीले नागरिकन्युजसँग भने, ‘प्रस्ताव कस्तो आउँछ त्यस विषयमा सरकारले निर्णय गर्नेछ।’

सर्भे अफ इन्डिया स्थापना भएको २ सय ५० वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन नेपालको सहभागिता छैन। नेपाल सहभागी नभएको सम्मेलनमा भारतले सगरमाथाको उचाई पुनः मापन गर्नुपर्ने जनाएको हो।

सर्भे अफ इन्डियाको सर्भेयर जनरल स्वर्ण सुब्बा रावले भारततर्फबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको बताए। यसका लागि आगामी महिनादेखि प्रयास थालिने उनलाई उदृत गर्दै प्रेस ट्रष्ट अफ इन्डिया (पिटिअाई) ले जनाएको छ।

‘हामीले विदेश मन्त्रालयले आवश्यक स्वीकृति प्राप्त गरिसकेका छौ, नेपालका सर्भेयर जनरल यहाँ (हैदरावाद सम्मेलन)मा आएको भए यहीँ कुराकानी हुने थियो। मलाई के लाग्छ भने हामी दुई महिना(आरोहण) टिम बनाउन सक्छौं,’ रावलाई उद्र्धृत गर्दै पिटिआइले लेखेको छ। भारतमा अंग्रेजको उपनिवेश रहैक समयमा सर्भे अफ इन्डियाले विश्वका सर्वोच्च शिखर नेपालका रहेको भन्दै त्यसलाई पि एक्सआई भनेका  थिए।

पछि सर्भे अफ इन्डियाका तत्कालीन सर्भेयर जनरल जर्ज एभरेष्टको नामबाट नामाकरण गरिएको थियो। त्यतिबेला सगरमाथाको उचाइ समुद्र सहतबाट ८ हजार ८ सय ४८ मिटर मापन गरिएको थियो। भारत बेलायत स्वतन्त्र भएपछि पनि भारतको बिएस गुलाठीको नेतृत्वमा सन् १९५२ मा सगरमाथा मापन गरिएको थियो। सो मापनमा ट्राङ्गुलेसन प्रविधिबाट ८ हजार ८ सय ४८ मिटर देखाइएको थियो। हालसम्म त्यसलाई नै आधिकारित उचाइ मानिदै आएको छ।

विभिन्न समयमा भिन्नभिन्न स्थानबाट गरिएको मापनमा भने फरक फरक उचाइ आएका छन्। कुनैलाई पनि वैज्ञानिक समुदायले मान्यता दिएको छैन। अमेरिकाको नेशनल जिओग्राफिक्स सर्भेले सगरमाथाका उचाइ ८ हजार ८ सय ५० मिटर भएको जनाउँदै अाएको छ।

चीनले पनि सन् १९७५ मा गरेको सर्भेमा ८ हजार ८ सय ४८. १३ मिटर भएको जनाएको छ। ९ वर्षपछि चीनको सगरमाथाको चट्टान मात्रै र हिउँ सहितका उचाइभन्दै फरक फरक जारी गरेको थियो। ती कुनै पनि मापनले मान्यता पाएका छैनन्।

चीनले तिब्बततर्फबाट गरेको मापनमा चट्टानसम्म भन्दै ८ हजार ८ सय ४४.४३ मिटर राखेको थियो। नेपालले ८ हजार ८ सय ४८ मिटर बाहेकको सबै मापनलाई अस्वीकर गर्दै आएको छ। विभिन्न देश, संस्था र व्यक्ति रुपमा सगरमाथाको उचाइ मापन गर्ने काम भए पनि नेपालले आफैँले सरकारी निकायबाट हुन सकेको छैन।

नापी विभागका पूर्व महानिर्देश वुद्धिनारायण श्रेष्ठ नेपाल आफैँले सगरमाथाको उचाइ मापन गर्नुपर्ने बताउँछन्।

‘वैज्ञानिक समुदायलाई मान्य हुने गरी नेपालले आफूले सगरमाथाको उचाइ मापन गरेर हालको उचाइको बारेमा विभिन्न पक्षबाट फरक फरक मापनलाई धेरैका लागि अन्य गरिनुपर्छ,’ श्रेष्ठले नागरिकन्युजसँग भने, ‘यो नेपालको राष्ट्रिय गौरवको विषय हो। आफैले गर्दा राम्रो हुन्छ।’

सगरमाथा नेपाल र चीनको सीमामा पर्छ। श्रेष्ठले बाह्य क्षेत्रको सहयोग लिने हो भन्ने बहुराष्ट्रिय अन्तर्राष्ट्रिय निकाय लिनुपर्ने अथवा चीन, भारतसँग मिलेर मापन गर्नुपर्ने बताउँछन्। ‘तीनै देशको सहकार्यमा उचाइ मापन गरेका विभिन्न क्षेत्रबाट आएको फरक फरक मानपलाई सधैँका लागि अन्त्य गनुपर्छ,’ श्रेष्ठले भने। 

नापी विभागले सगरमाथाको उचाइ मापन गर्न सन् २०११ को बजेटमा सरकारसँग एक करोड रुपैया माग गरेको थियो। अर्थमन्त्रालयले अनुत्पादक क्षेत्रको खर्च भन्दै बजेट निकासा रोकेको थियो। विभागले जिपिएस बेस स्टेसन निर्माण र दुर्गम क्षेत्रमा जाने प्राविधिक तथा कर्मचारीका भत्ताका लागि सो रकम माग गरेको थियो।

विभिन्न स्थानमा उपकरण राखेर प्राप्त भएको कोरा उचाइ मापनलाई गुरुत्वकार्षणसहितका विभिन्न विषयले उचाइमा पार्ने प्रभावलाई हटाएर वास्तविक तथ्यांक निकाल्ने गरिन्छ। ‘कोरा तथ्यांकलाई कसरी कुन प्रक्रियाबाट प्रशोधन गरियो भन्ने विषयमा वैज्ञानिक समुदायलाई चित्ता बुझ्दो जवाफ दिने गरी मापन गर्नुपर्ने हुन्छ,’ महानिर्देशक बिसीले भने।

प्रकाशित: १२ माघ २०७३ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App