३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युत चोर्ने कर्मचारीसहित १६ जना पक्राउ

वसन्त खड्का

काठमाडौं- लोडसेडिङ अन्त्य गर्ने सरकारी अभियान चलिरहेका बेला विद्युत् प्राधिकरणकै कर्मचारीको संलग्नतामा विद्युत् चोरी भइरहेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विद्युत् चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्‍यो।

महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी लोडसेडिङ बढाउने क्रियाकलापमा सक्रिय प्राधिकरण, बालाजुका सुपरभाइजर सुमन श्रेष्ठसहित अन्य १६ जना पक्राउ गरिएको जानकारी दियो। पक्राउ पर्नेमा बालाजुका सुपरभाइजर कामनपा– २८ बस्ने श्रेष्ठ, प्राधिकरणका पूर्वमेन्टिनेन्स रामेछापका टहलबहादुर कार्की, प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भक्तपुर नगरकोटका भगवान पाण्डे छन्। त्यस्तै, पक्राउ परेका मिटररिडरमा सर्लाहीका महादेव प्रधान, सिन्धुपाल्चोकका अच्युत खड्का, अछामका दिलबहादुर साउद, नुवाकोटका ओम ढुंगाना, रामेछापका श्याम बस्नेत, काठमाडौं, नागार्जुनका प्रदीप शर्मा, दाङ, फूलबारीका सूर्यबहादुर थापा, काठमाडौंका ठाकुर महर्जन र मनिज श्रेष्ठ छन्। पक्राउ परेका मिटररिडरमध्ये प्रधान हेटौँडा वितरण केन्द्र, खड्का बानेश्वर शाखा तथा थापा लगनखेल शाखामा कार्यरत हुन् भने अन्य सात जना वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा कार्यरत छन्।

लोडसेडिङ बढाउने कार्यमा विभिन्न व्यवसायीको समेत सहभागिता रहेको पाइएको छ। महाशाखाका अनुसार लोडसेडिङ बढाउने कार्यमा संलग्न व्यवसायीमा मञ्जुश्री खानेपानीका सञ्चालक काठमाडौं गोकर्णश्वर निवासी कुमार लामा, मिठाई व्यापारी भारतको हाउडा जिल्ला निवासी तपन घोस, भारत मोतिहारीका कपास व्यापारी परवेज आलम तथा रामेश्वर मिठाई पसल अनामनगरका रमेश चुडाल रहेका छन्।

विद्युत् चोरीमा संलग्नलाई महाशाखा प्रमुख सर्वेन्द्र खनाल नेतृत्व टोलीले करिब दुई साता लामो अनुसन्धानपछि आइतबार पक्राउ गरेको हो।

यसरी गरिन्थ्यो विद्युत् चोरी

महानगरीय प्रहरी अपराध महाशाखा अनुसार पक्राउ परेका प्राधिकरणका बहालवाला तथा पूर्वसुपरभाइजरले मिटरबक्सको सिल काटी उठेको अंकलाई बिल बराबरको अंक उल्टोबाट घुमाएर मिलाउने गर्थे। अंक मिलाएको मिटरबक्सलाई उनीहरुले सिल वायर तथा सिल गोटीको प्रयोग गरेर मिटरमा आफैँले सिल लगाउँथे। त्यस्तै, मिटररिडरले उद्योग कलकारखाना तथा व्यक्तिसँग मिलेर मिटरमा उठेको रकमभन्दा कम अंकको बिल बनाउने गरेको पाइएको छ।

उनीहरुले विद्युत् चुहावटका लागि आवश्यक सामग्री गैरकानुनी रुपमा आफैँले राख्ने गरेको अपराध महाशाखा प्रमुख खनालले जानकारी दिए। प्राधिकरण बालाजुका सुपरभाइजर श्रेष्ठले बा५च ३४५१ नम्बरको आफ्नो कारलाई प्रयोगशालाका रुपमा प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरीले विद्युत् चोरीमा प्रयोग भएको श्रेष्ठको कारसहित अन्य सामग्री पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरु विगत १२ वर्षदेखि विद्युत् चोरीमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ।

उनीहरुले बढी विद्युत् खपत हुने उद्योग, कलकारखाना तथा व्यक्तिसँग मिलेर विद्युत् चुहावट गराउने र त्यसबापत मोटो रकम लिने गरेको प्रहरीले जनाएको छ।

उच्च अधिकारी पनि शंकाको घेरामा

प्रहरीले लोडसेडिङ बढाउने कार्यमा कर्मचारीको गिरोह नै सक्रिय रहेको जनाएको छ। एक ठाउँमा लोडसेडिङ गराएर अर्काे ठाउँमा विद्युत् सप्लाई गराउन प्राधिकरणका उच्च अधिकारीको समेत संलग्नता हुन सक्ने प्रहरीले संकेत गरेको छ। लोडसेडिङ गराएर मोटो रकम आम्दानी गर्ने अधिकारीबारे थप अनुसन्धान भइरहेकाले यसमा कसको संलग्नता छ भन्ने कुरा खुल्दै जाने प्रहरीले जनाएको छ।

'हामी गहन अध्ययन गरिरहेका छाँै। अनुसन्धानपछि लोडसेडिङ गराएर लाभ लिने कार्यमा संलग्न पक्राउ पर्दै जान्छन्,' खनालले भने।

हाल पक्राउ परेकाले उपत्यका तथा आसपासका क्षेत्रमा दैनिक २० देखि २५ स्थानबाट विद्युत् चोरी गर्दै आएका थिए।

प्रकाशित: १० माघ २०७३ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App