४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग

बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ।  

सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ। जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको यहाँ विश्वास गरिन्छ। पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ।  

बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन्। पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ। आज मैथिल ‘जुड–शीतल’ पर्वको पहिलो दिन ‘सतुवाइन’ मनाउँदैछन्। पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते घर–घरमा परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन्।  

नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको भनाइ छ। यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा  चना (बदाम)को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन्।

सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) बीच साथीसङ्गीसँग धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ। नयाँ वर्ष प्रारम्भमै धुलो र हिलो खेल्ने यो परम्पराले कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गरेको पाका मैथिल बताउँछन्। “नयाँ वर्षसँगै प्रकृतिसँग कामको कमी नहोस् भन्ने पर्व र परम्पराको सन्देश हो”, बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका प्रधानाध्यापक हरिदेव महतो भन्छन्। पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ।

प्रकाशित: १ वैशाख २०८० ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App