१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सेताम्मे हिउँले छोपियो दोलखा

दोलखा कालिञ्चोकस्थित कुरी बजारमा परेको हिउँ नियाल्दै पर्यटक। तस्बिरः रमेश खतिवडा

दोलखा– दोलखास्थित लामोसाँघु–जिरी सडकखण्डको खरिढुंगा । सोमबार परेको हिमपातले यो क्षेत्रको उत्तरतर्फ बोच गाउँभन्दा माथिल्लो भाग र दक्षिणतिर निगाले, बाघखोर हुँदै डाँडैडाँडा शैलुङसम्म हिउँले ढाकिएको देखियो ।

प्रहरीचौकी खरिढुंगाका असई फटकनाथ काफ्लेका अनुसार सोमबार साँझ अबेरसम्म परेको हिउँका कारण मंगलबार बिहानसम्म यातायात समेत अवरुद्ध बन्यो । प्रस्तावित फिल्म नगरी बन्ने डाङडुङे डाँडासहित खरिढुंगाभन्दा माथिल्ला क्षेत्र समेत बाक्लो हिउँले ढाकिएका छन् ।

सदरमुकाम चरिकोटबाट चारैतिर नियाल्दा डाँडाकाँडा हिउँले ढाकिएको देखिन्छ । दक्षिणमा खरिढुंगादेखि शैलुङसम्मको डाँडाकाँडा हिउँले उज्यालो बनेको छ । उता ताम्चेत दुधपोखरी– १ को माथिल्लो भागसम्म धेरै वर्षपछि हिउँ परेर सेताम्मे देखिएको गाविससचिव लालबहादुर गुरुङले जानकारी दिए ।

पूर्वीभागमा खावादेखि हनुमन्ते डाँडो र चेर्दुङ पहाड सोमबारकै हिमपातपछि बिहानैदेखि सेताम्मे बनेर टल्किरहेको देखिन्छ । उत्तरमा फैलिएको गौरीशंकर हिमशृंखलाको तल्लो तहसम्म परेको हिउँले गौरीशंकरलाई अग्लो बनाउनुका साथै आकर्षक र सुन्दरता थपिदिएको छ । सदरमुकाम चरिकोटबाट देखिने माथिल्लो उत्तरकै आलम्पु, कालिञ्चोक बिगु लगायत पहाडमा परेका हिउँले सदरमुकामबाट सबैतिरको दृश्य अझ रोमाञ्चक देखिएको छ ।

सदरमुकाम चरिकोटका स्थानीय भवेन्द्र कार्कीले शनिबारयता सोमबारसम्म परेको हिमपातले चरिकोटबाट वरिपरि देखिएका पहाड र पर्वत उज्यालो र सेताम्मे देखिएको सुनाए ।

हिमपातपछि ठूलो संख्यामा पर्यटक हिउँ खेल्न र हिउँमा रमाउन खरिढुंगा, कालिञ्चोकलगायत स्थान पुगेका छन् । कालिञ्चोकमा सोमबार दिउँसैदेखि सदरमुकाम चरिकोट र राजधानीबाट पुगेका आन्तरिक पर्यटक हिउँमा रमिरहेका देखिन्थे ।  

देउरालीदेखि माथिल्लो भाग हुँदै गैरी आसपासको क्षेत्रबाटै डाँडाकाँडा र रूखबिरुवा हिउँले छोपिएका छन् ।

सेताम्मे हिउँले कुरी बजार अझ सुन्दर देखिएको छ । कालिञ्चोक आसपासका सबै डाँडाकाँडा सेतै छन् । स्थानीय व्यवसायी राम तामाङका अनुसार नयाँ वर्ष मनाउन आएका थुप्रै पर्यटक हिउँ झरेका कारण तीन दिनयता कुरीमै रमाएर बसिरहेका छन् । चरिकोटका स्थानीय विश्वनीति प्रकाशमान सिंह पाख्रिनका अनुसार राजधानी र सदरमुकामबाट समेत सोमबार बिहानैदेखि युवायुवती हिउँमा रमाइरहेका छन् ।

सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कुरी बजारसम्म स्थानीय गाडी चालकले सहज रूपमा पर्यटकलाई आउजाउ गराइरहेको बोलेरो चालक श्रीकृष्ण बस्नेतले जानकारी दिए । सदरमुकाम चरिकोटबाट गुड्ने बोलेरोले तीन हजारदेखि ३५ सय रुपैयाँसम्म भाडा लिएर पर्यटक ओहोरदोहोर गराइरहेका छन् । हिउँमा रमाउन पाउँदा स्वर्गीय अनुभूति गर्न पाएको काठमाडौं असनकी श्वेता मानन्धरले सुनाइन् ।

उता, खरिढुंगामा समेत सर्वसाधारण र पर्यटक झुम्मिरहेका छन् । हिउँमा खेल्ने, रमाउने र फोटो खिच्नेको लर्को नै लागेको खरिढुंगा चौकीका असई काफ्लेले बताए ।

खरिढुंगा र कालिञ्चोकसहित दोलखाका विभिन्न भागको फोटो खिचेर सयौं आन्तरिक पर्यटकले फेसबुक ट्विटरजस्ता सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।


 

 

प्रकाशित: २० पुस २०७३ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App