१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

किशोर–किशोरी निर्धक्कसँग यौनका कुरा गर्न थाले

सिद्धेश्वरकाकिशोर–किशोरलाई प्रजनन् स्वास्थ्य सम्बन्धी कक्षा दिँदै स्वास्थ्यकर्मी ।

बैतडी–बैतडी सिद्धेश्वरका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न  लजाउँदैनन्। सिद्धेश्वर स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि  विद्यालय  उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्।

केही वर्ष अघि ज्ञानेश्वर मावि शिद्धेश्वरका कक्षा ९÷१० मा स्वास्थ्य शिक्षा अन्तर्गत प्रजनन् स्वास्थ्यको पाठ सुरु हुँदा कक्षामा एक जना छात्रा पनि बस्न लजाउँथे । शिक्षकले समेत त्यो पाठ नै पढाउन धक मान्थे। तर, अहिले विद्यार्थीहरु निर्धक्कसँग प्रजनन् स्वास्थ्यका बारेमा जानकारी राख्छन्। स्वास्थ्यकर्मी आँफै गएर विद्यालयमा प्रजनन् स्वास्थ्य पढाउन थालेपछि  लाजले टाउको निहुराएर बस्ने बिद्यार्थी समेत प्रजनन् स्वास्थ्यका कुरा गर्न थालेको बिद्यालयका प्रअ तर्कराज भट्टले जानकारी दिए।

स्वास्थ्य चौकीमा समेत किशोर–किशोरीलाई परामर्श दिन अलग्गै कोठाको व्यवस्था गरिएको छ । उनीहरु आँफै आएर स्वास्थ्य समस्या र किशोरावस्थामा आउने परिवर्तनका बारेमा जानकारी लिने गरेका छन्। उनीहरुका लागि स्वास्थ्य चौकीले किशोर–किशोरी कक्षा चलाउने गरेको छ। समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागुपदार्थ दुव्र्यसनलगायत समस्या कायम छन्।

सुरुमा किशोर–किशोरी कक्षामा समस्या राख्न लजाउने युवा अहिले निर्धक्क आफ्ना समस्या राख्न थालेका छन् । यसले उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको  स्वास्थ्य चौकी प्रमुख मदनसिंह महराले बताए । उनले भने, ‘पहिले पहिलोपटक महिनावारी हुँदा किशोरीमा त्रास अनुभव हुन्थ्यो, अहिले त्यो उमेरका किशोरीमा शिक्षाको प्रभावले त्रासको समस्या हटेको छ।’ छात्राहरु महिनावारीको समयमा विद्यालय जान थालेका छन्। विद्यालयमा छात्र–छात्राकालागि छुट्टाछुट्टै शौचालयमा प्याड बदल्न सक्ने भएपछि नियमित विद्यालय जान थालेको किशोरवृत समूहकी सदस्य बिस्ना भण्डारीले बताइन्।

तीन वर्षदेखि गाविसले बालमैत्री स्थानीय शासन अवलम्वन्न गरेपछि सिद्धेश्वरकाकिशोर–किशोरी अग्रसर हुन थालेका हुन्। प्रजनन् शिक्षाका बारेमा गाँउमा छलफल हुने गरेको सिद्धेश्वर–८ की सावित्री बिष्टले बताइन्। उनले भनिन्, ‘सानो उमेरमा गरिने विवाहले आमा, बच्चा र परिवारकै भविश्य बिग्रन्छ।’ शरीरका सवै अंग पूर्णरुपमा विकसित भएपछि विवाह गर्न सन्तान जन्माउन र परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिने गरेको उनले बताइन्।

‘स्वास्थ्य संस्थामा विरामीले मात्र जान्छन भन्ने सोचलाई हामीले बदलेका छौं’, किशोरी वृतकी अध्यक्ष निर्मला भट्टले भनिन्, ‘किशोरवस्थाका लक्षण उनीहरुको समाधान र सल्लाहकालागि स्वास्थ्य चौकी जाने गरेका छौं।’ विद्यालय छोडेर कुलत उन्मुख भएका बालबालिका पनि फेरि विद्यालय फर्काएका छन्। किशोर वयश्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने देखाउन आफूहरुले गाँउमा जनचेतना चलाएको उनले बताइन्।

किशोर किशोरीले आफ्नो स्वास्थ्यप्रति सुुसूचित भइ सचेत बनेर आफ्नो भविष्य सरल बनाउन सकुन् भन्ने चाहनाले सानै उमेरदेखि विद्यालयका पाठ्यक्रममा अध्ययन सामग्री राखेर शिक्षा दिँदै आइएको हो । तर समय, परिस्थिति र सामाजिक रूपमा आएका परिवर्तनले व्यक्तिमा साक्षर र बौद्धिक सम्पन्नता आयो तापनि यौन शिक्षामा व्यावहारिकताको पक्ष कमजोर भएपछि यसलाई सुधार्न प्रजनन शिक्षा राखिएको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले बताए ।

पछिल्लो समय प्रजनन् शिक्षा दिन शिक्षकलाई तालिम दिन थालिएको छ। ‘विद्यालयमा आफ्नै छोरी–बहिनी हुन्छन उनीहरुका अगाडि यौन शिक्षाका कुरा गर्न नसक्ने शिक्षक समेत खुलेर पढाउन थालेको जिशिअ टेरले बताए।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले युनिसेफ नेपाल, युएनएफपिए र जिआइजेडको सहकार्यमा बैतडी जिल्लाका ५३ स्वास्थ्य चौकीकिशोर–किशोरमैत्री छन्। ती स्वास्थ्य संस्थामा किशोर–किशोरीहरुले निर्धक्क समस्या राख्ने वातावरण बनाएको परिवार नियोजन सुपरभाइजर दिल्लीरमण जोशीले बताए ।  स्वास्थ्य चौकीले प्रजनन स्वास्थ्य सेवा थालेपछि जिल्लाका किशोर–किशोरीमा परिवर्तन देखिएको जोशीले जानकारी दिए । किशोर–किशोरीले यथोचित शिक्षा पाउनसके उनीहरूको भविष्य सरल र स्वस्थ बन्न सक्ने उनको तर्क छ।

प्रकाशित: १७ पुस २०७३ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App