५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा जनसंख्या वृद्धिदर २ दशमलव ०७ प्रतिशत, जिल्लाको जनसंख्या ७ लाख १९ हजार नाघ्यो

चितवन जिल्लाको जनसंख्या वृद्धिदर उच्च रहेको छ। ३४ जिल्लाको जनसंख्या वृद्धिदर माइनसमा रहँदा चितवन जिल्लाको जनसंख्या वृद्धिदर  २ दशमलव ०७ प्रतिशत रहेको छ। सरकारले शुक्रवार (आज) सार्वजनिक गरेको  राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजामा चितवनका जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ। 

यसअघि २०६८ सालमा गरिएको जनगणनामा चितवनको जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेको थियो। जनसंख्या वृद्धिदर बढी हुने जिल्लाहरुमध्ये चितवन तेस्रो स्थानमा छ। चितवनमा १ लाख ७९ हजार ३४५ परिवार संख्या छ। सबैभन्दा बढी जनसंख्या वृद्धिदर हुने जिल्लामा भक्तपुर रहेको छ। भक्तपुरको जनसंख्या वृद्धिदर ३ दशमलव ३५ प्रतिशत छ। त्यस्तै दोस्रोमा रुपन्देहीको २ दशमलव ३ प्रतिशत छ।  चौथोमा स्थानमा रहेको बाँकेको १ दशमलव ९७  र पाँचौँ स्थानमा रहेको झापाको १ दशमलव ९७ प्रतिशतले जनसंख्या बढेको छ।

रापेछापको जनसंख्या माइनस १ दशमलव ६७ प्रतिशत रहेको छ। १० बर्षको अवधिमा ३४ जिल्लाको जनसंख्या घटेको छ। जनसंख्या घट्नेमा पहाडि जिल्ला बढिछन्। रापेछापसंगै खोटाङ, मानाङ, भोजपुर, तेह्रथुम, स्याङजा, गुल्मी, अछाम, पर्वत, अर्घखाँची, पाँचथर, सिन्धुपाल्चोक, धनकुटा, दोलखा, गोरखा, बाग्लुङ, लम्जुङ, पाल्पा, म्याग्दी, ओखलढुंगा, ताप्लेजुङ, नुवाकोट, काभ्रेपलाञ्चोक, इलाम, दैलेख, डोटी, धादिङ, बझाङ, डडेल्धुरा, सल्यान,सोलुखुम्बु, तनहुँ, संखुवासभा रहेका छन्।  

यस्तै सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाहरु मध्ये चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा छ। भरतपुरको कुल जनसंख्या ३ लाख ६९ हजार २६८ रहेको छ। भरतपुरमा कुल परिवार संख्या ९६ हजार ५९१ रहेको छ। भरतपुरको जनसंख्यामा पुरुष १ लाख ७८ हजार ८९७ रहेको छ भने महिला १ लाख ९० हजार ३७१ रहेको छ।  भरतपुरको जनसंख्या वृद्धिदर ३ दशमलव ०२ प्रतिशत रहेको राष्ट्रिय जनगणना २०७८को तथ्याङकमा उल्लेख छ। सबैभन्दा बढी काठमाण्डौँ महानगरपालिकामा जनसंख्या रहेको छ। काठमाण्डौँमा ८ लाख ६२ हजार ४०० जनसंख्या पुगेको छ। त्यसपछि पोखरा महानगरपालिकामा ५ लाख १३ हजार ५०४ जनसंख्या रहेको छ।  

चितवन जिल्लामा भरतपुर महानगरपालिकापछि रत्ननगर नगरपालिकामा जनसंख्या वृद्धिदर २ दशवल ४२ प्रतिशत रहेको छ। ८९ हजार ९०५ जनसंख्या रहेको रत्ननगर नगरपालिकामा पुरुषको संख्या ४३ हजार ५३१ छ भने ४६ हजार ३७४ महिला रहेका छन्। खैरहनी नगरपालिकाको जनसंख्या ६७ हजार ३८५ पुगेको छ। यहाँको जनसंख्या वृद्धिदर १ दशमलव ७६ प्रतिशत छ। राप्ती नगरपालिकामा १ दशमलव ३१ प्रतिशतले वृद्धि भएर ६६ हजार ६१७ जनसंख्या पुगेको छ। माडी नगरपालिकाको जनसंख्या वृद्धिदर अन्य नगरपालिकाको तुलनामा कम छ। माडीको जनसंख्या वृद्धिदर ० दमलव १५ प्रतिशत रहेको छ।

 यहाँको जनसंख्या ३८ हजार २९५ पुगेको छ। चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको जनसंख्या वृद्धिदर ० दशमलव ९६ प्रतिशत रहेको छ। इच्छाकामनाको जनसंख्या २६ हजार ६४३ पुगेको छ। १ लाख ७९ हजार ३४५ परिवार रहेको चितवनको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत रहेको छ। नेपालको जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत रहेको छ। नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।  

प्रकाशित: १० चैत्र २०७९ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App