१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फेसबुकबाट प्रेम, भेटेपछि पछुतो

म्याग्दी- पछिल्लो समय सामाजिक सञ्जालले विश्वलाई जोडेको छ। साथी बन्ने, फलो गर्ने र  सामाजिक, सांस्कृतिक, वैश्विक घटना वा अवस्थामा विचार–विमर्श हुने माध्यम बनेको छ— सामाजिक सञ्जाल। यसले सदियौंदेखि समाजमा जरा गाडेको विकृति, विसंगति, कुरीतिलाई उजागर गर्न पनि सघाएको छ। यो सकारात्मक पाटोसँगै यसले केही विकृति पनि भित्र्याएको छ।

घटना म्याग्दीको हो । घटनाका पात्रको निजत्वलाई ध्यानमा राखी नाम–ठेगाना उल्लेख नगरिएको हो । यहाँ फेसबुकमार्फत एक युवती र एक युवा प्रेममा परे । फेसबुकमा फोटो हेरेर, फेसबुकमै कुराकानी गरेर सम्बन्ध गाढा बन्दै गयो । सम्बन्धलाई विवाहमा परिणत गर्न दुवै सहमत मात्रै भएनन्, युवाको घुम्न जाने प्रस्तावमा समेत युवतीले सहमति जनाइन् ।

युवाको प्रस्तावमा चितवनको सौराह हुँदै नेपाल र भारतको सीमा क्षेत्रमा पुगेपछि मात्रै युवती छाँगाबाट खसेजस्तै भइन् । एक होटलमा बसिरहेका बेला युवतीले युवकको नागरिकताको प्रमाणपत्र देखिन्, जसमा थर दलित थियो, तर फेसबुकमा उनले अर्कै थर राखेका थिए। युवक दलित भन्ने थाहा भएपछि युवतीले पटकपटक परिवारलाई सम्पर्क गरिन् । परिवार गएर उनलाई फिर्ता ल्यायो।

युवती गुमाएपछि युवकले फेरि युवतीसँगको फोटो फेसबुकमा राख्न थाले । युवती पक्ष प्रहरीमा पुग्यो। युवतीका आफन्तको उजुरीमा युवालाई नियन्त्रणमा लिई कागज गराएर छाडियो।

प्रहरीका अनुसार सुरुमा युवकले युवतीलाई पाउनकै लागि थर परिवर्तन गरेको बुझिन्छ। युवाले अहिले पनि सामाजिक सञ्जालमा युवतीसँग बसेको तस्बिर पोस्ट गर्न थालेपछि युवतीका आफन्तले सचेत बनाउने गरेका छन्।

जिल्लामा सामाजिक सञ्जालबाट विवाह र प्रेममा फस्ने युवायुवतीको संख्या बढ्न थालेको छ । म्याग्दी प्रहरी नायब उपरीक्षक विश्वराज खड्का भन्छन्, ‘सामाजिक सञ्जालमा प्रेममा फसाउने प्रवृत्ति बढेको छ । यस्ता गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रयासमा छौँ।’

केहीलाई प्रहरीले नियन्त्रणमा लिएर सचेत बनाएको उनको भनाइ छ। खड्का भन्छन्, ‘सामाजिक सञ्जालबाट प्रेममा पर्ने विकृति बढेको छ। यहाँ त्यस्ता धेरै उजुरी परेका छन्, केहीलाई हामीले नियन्त्रणमा लिएर आवश्यक कारबाही पनि गरेका छौँ।’

उनले सामाजिक सञ्जालको दुरुपयोग भएमा तत्कालै प्रहरीमा जानकारी गराउन समेत अनुरोध गरे। सामाजिक सञ्जालमार्फत भइरहेको विकृति नियन्त्रणमा प्रहरीलाई समेत सहयोग आवश्यक रहेको प्रनाउ खड्काको भनाइ छ । सामाजिक सञ्जालबाट झुक्याएर जोडिएको सम्बन्ध क्षणिक हुने भए पनि समाजमा युवतीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेकोे देखिन्छ । पछिल्ला समय सामाजिक सञ्जालबाट प्रेम–विवाह गर्नेको संख्या समेत उल्लेखनीय छ । युवायुवतीको वास्तविक नाम, स्थानका साथै परिवारबारे जानकारी पाएपछि जोडिएको सम्बन्ध दिगो देखिए पनि झुक्याएर र फसाउने नियतले जोडिएको सम्बन्ध युवती र उनका आफन्तको अवरोधबाटै टुंगिएका घटना बढ्ने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: २२ मंसिर २०७३ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App