१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पत्तै नपाई फेरियो विराटनगरको हुलाकी मार्ग

अजित तिवारी/विराटनगर
अमर खड्का/इटहरी

विराटनगरको हाटखोला, ठाकुरबाडी–बुद्धहाट चोकदेखि गुदरी हुँदै सरोचिया निस्केको सडकलाई हुलाकी राजमार्ग भनिन्छ। हुलाकी राजमार्ग हो भनेर गतवर्षको मधेस आन्दोलनमा मानवसाङ्लो त्यहीँ सडकमा उभ्याइँयो। तर विराटनगर क्षेत्रमा हुलाकी राजमार्गको मार्ग फेरिएको कसैलाई पत्तो नै भएन। 

२०६९ जेठ १४ गते मन्त्री परिषदले हाटखोला, शनिहाट, उद्योग संगठनको बाटो हुँदै तीनपैनी, बरगाछी, चाँदनी चोकदेखि जामुनगाँछी निस्कने बाटोलाई हुलाकी राजमार्गको नयाँ रूट कायम गरेको छ । हुलाकी राजमार्गको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार पार्ने क्रममा नयाँ रूटमा सडक नाप्ने र नंक्साङकन गर्ने काम हुन थालेपछि मात्रै विराटनगरको हुलाकी राजमार्गको रुट फेरिएको खुलेको छ । 

विराटनगर बजार क्षेत्रमा हुलाकी राजमार्गको बिस्तार गर्दा वरगाछीलाई आधार मानेर गरिने उनले बताए । ‘सुनसरीको चिमडी जोड्ने बिन्दु भनेकै विराटनगरको बरगाछी हो,’ त्रिपाठीले भने, ‘विराटनगर बजार क्षेत्रको बीचको नक्साङ्कन किटान गरिएको छैन्, तर आधार भने बरगाछी नै हुनेछ ।’ 

हुलाकी राजमार्गको रुट फेर्दा ‘चलखेल’ भएको, सडक विस्तारकै नाममा उप–महानगरले घर भत्काइसकेको र हुलाकी राजमार्ग बन्दा फेरी घर भत्किने भयले नयाँ रूटमा बासिन्दा आक्रोेसित बनेका छन् । उनीहरुले हस्ताक्षर संकलन गरेर हुलाकी राजमार्गको रुट पुरानै कायम राख्न माग गरेको चाँदनी चोकका ऋद्धि निरौलाले जानकारी दिए।

हुलाकी राजमार्ग निर्माणका लागि इटहरीमा स्थापना गरिएको सरकारी कार्यालयले भने सडक निर्माण हुँदा विराटनगर उप–महानगरले तोकेको मापदण्ड नै सहरी क्षेत्रमा लागु हुने स्पष्ट पारेको छ । हुलाकी राजमार्ग बनाउँदा १ सय ८० फिट चौडाई हुने मापदण्ड तोकिएको छ । ‘अरु ठाउँमा मापदण्डअनुसार नै हुलाकी राजमार्ग निर्माण हुनेछ, सहरमा भने सम्बन्धीत नगरपालिकाले तोकेको मापदण्ड नै लागुु हुन्छ,’ हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणी त्रिपाठीले भने, ‘यसमा आत्तिहाल्नु पर्ने अवस्था छैन ।’ 

ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गर्न देशभर पूर्व–पश्चिम हुलाकी राजमार्गको विस्तार गर्न डिपिआर तयार पार्ने काम भइरहेको छ । डिपिआर तयार भइरहँदा विराटनगरमा हुलाकी राजमार्गको नयाँ रुटलाई लिएर बिवाद श्रृजना भइरहेको छ । पूर्वका सप्तरी, सुनसरी, मोरङ र झापामा सडक बिस्तारका लागि हुलाकी राजमार्गको डिपिआर तयार गर्दैमा आतिनुपर्ने अवस्था नभएको त्रिपाठीको भनाई छ । ‘डिपिआर गर्ने वित्तिकै धमाधम घरहरु भत्काएर सडक बिस्तार गर्ने होइन,’ उनले भने, ‘नगरपालिका क्षेत्रमा उसकै गाइडलाइनलाई फलो गरेर अघि बढिनेछ। डिपिआर रिर्पोटमा समस्या पनि समेटिन्छन् ।’ 

विराटनगर बजार क्षेत्रमा हुलाकी राजमार्गको बिस्तार गर्दा वरगाछीलाई आधार मानेर गरिने उनले बताए । ‘सुनसरीको चिमडी जोड्ने बिन्दु भनेकै विराटनगरको बरगाछी हो,’ त्रिपाठीले भने, ‘विराटनगर बजार क्षेत्रको बीचको नक्साङ्कन किटान गरिएको छैन्, तर आधार भने बरगाछी नै हुनेछ ।’ 

२०६९ जेठ १४ गते मन्त्री परिषदबाट पारित निर्णय अनुसार, पूर्व पश्चिम हुलाकी राजमार्ग मेचीदेखि रतुवा खोलासम्म ४८ किलोमिटर र रतुवाबाट केसलिया खोलासम्म ४८ किलोमिटर उल्लेख गरिएको छ । यस्तै, केसलिया खोलादेखि सुनसरीको चिमडीबाट हरिनगरा हुदैं लौकही ३० किलोमिटर पारित गरिएको छ । यही ढंगले लौकहीबाट सप्तरी हुदैं पूर्व–पश्चिम राजमार्ग समानान्तर सीमा हुँदै करिब २० देखि ३० किलोमिटर दक्षिणतर्फ भएर फैलिएको छ। हुलाकी मार्ग तराई मधेसका जिल्लाहरु जोड्ने पहुँचमार्ग पनि हो । 

हुलाकी राजमार्ग बिस्तारका क्रममा अहिले झापामा सडक र सप्तरीमा पुल निर्माणको काम भइरहेको छ। झापाको झापा चोकदेखि राजघाटसम्म २० किलोमिटर सडक २५ करोड रुपैयाँमा अघिल्लो बर्ष ठेक्का लागेर निर्माण भइरहेको छ।

यो सडक २०७५ भदौसम्म सक्ने लक्ष्य छ । झापाकै चारआली केचना सडकको ४० किलोमिटर मध्ये २० किलोमिटर ३४ करोडमा ठेक्का लागेको छ । अरु २० किलोमिटर ठेक्का लाग्न बाँकी छ । सप्तरीमा सातवटा पुल निर्माणधीन छन् । त्यहाँ महुली, खाडो, चिमटी, कजराद, भलुवाही, विउल र सुन्दरी पुल निर्माणधीन छन् । यी सातवटा पुल कुल ३४ करोडभन्दा बढीमा ठेक्का लागेर काम भइरहेको छ । 

प्रकाशित: २० मंसिर २०७३ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App