४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा फरार अभियूक्त पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत। तस्बिर : गोविन्द केसी/नागरिक

कर्णाली प्रदेशमा अदालतबाट कैंद तथा जरिवाना फैसला भएका तर, फरार रहेका अभियूक्तहरुलाई पछिल्लो समय प्रहरीले मिसन बनाएर धमाधम पक्राउ गरिरहेको छ।

फरार अभियूक्तको सुचि तयार पारेर कर्णालीका दश जिल्लामा प्रहरी गाउँगाउँमा अदालतको फैसला कार्यान्वयन गर्न पुगेको हो।

कर्णाली प्रदेश ब्युरो शाखा, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीहरुले फरार अभियूक्तहरु पक्राउ गरेका छन्।

कर्णालीमा साउनयता विभिन्न ३० वटा मुद्दामा फैसला सुनाईएका २ सय ९ जना फरार अभियूक्त पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। अदालतबाट फैसला सुनाईएका तर, कैंद र जरिवाना भुक्तान नगरि फरार रहेका अभियुक्तहरुलाई पछिल्लो समय प्रहरीको विशेष सक्रियतामा पक्राउ गरिएको हो।

सबैभन्दा बढी दैलेखमा ७६ र सुर्खेतमा ६६ जना फरार अभियुक्त पक्राउ परेका छन् भने सवैभन्दा कम हुम्लामा १ र कालिकोटमा २ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

पछिल्लो १ महिनायता नयाँ डिआईजी भिम प्रसाद ढकाल सरुवा भएर आएसगैं सवैभन्दा बढी फरार अभियूक्तहरु खोजी गर्ने र पक्राउ पर्ने गरेको तथ्यांकले देखाएको छ। बहुविवाह, सम्वन्ध विच्छेद, लागुऔषध, कर्तब्य ज्यान, वन मुद्दा, चेक अनादर, गाली बेज्यती, अभद्र ब्यवहार लगायतका मुद्दाहरुमा फरार अभियूक्तहरु बढी पक्राउ परेका छन्।

पछिल्लो वर्षहरुमा कर्णालीमा लागुऔषध विक्रि वितरण तथा प्रयोगकर्ताहरु बढी देखिएसंगै प्रहरीको सक्रियता बढेको छ। फरार अभियूक्तहरु पक्राउ गर्न प्रदेशका सवै प्रहरी यूनिटहरुमा सक्रिय गराएसंगै कैंद भुक्तान र जरिवाना असुल अदालतबाट भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए। फरार अभियूक्त पक्राउसंगै कर्णाली सुरक्षा यात्रा र सुरक्षित कर्णाली प्रदेश कार्यक्रमको लागि जिल्ला जिल्लामा सुझाव संकलन तथा कार्यक्रम गरिरहेको छ।  

प्रकाशित: २ चैत्र २०७९ १२:१९ बिहीबार

कर्णाली प्रदेश