२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अब उपत्यकामा साझाका ३८ बस

काठमाडौं- साझा यातायात प्रालिले थप ३० बस आइतबार उपत्यकामा सञ्चालन गर्दैछ। ललितपुर पुल्चोकस्थित कार्यालयमा बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै थप ३० वटा बस उपत्यकाका सडकमा गुड्ने साझाले जनायो।

३० बस थपिएसँगै साझासँग बसको संख्या ४६ पुग्नेछ। ३८ वटा बस उपत्यकामा र ८ वटा बस उपत्यका बाहिर लामो रुटमा चलाइने साझाले जानकारी दियो। काठमाडौं महानगरपालिकाको सहयोगमा साझाले अपांगमैत्री बस सञ्चालन गर्न लागेको हो। महानगरपालिकाले सर्वसाधारणको हितमा भन्दै साझामा १० करोड रुपैयाँ शेयर लगानी गरेको छ। 'साझाको १० करोड रुपैयाँको शेयर महानगरपालिकाले किनेको हो, ' महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'सर्वसाधारणको हितका लागि त्यही शेयरको रकमले साझालाई बस किन्न लगाएका हौं। आइतबारदेखि सर्वसाधारणले ५/५ मिनेटको फरकमा साझा चल्ने रुटमा साझाका बस चढ्न पाउनेछन्।'

बसका लागि उपत्यकामा ४ वटा रुट तय गरिएको छ। थपिएका बस चल्ने रुट एउटा नयाँ हो भने बाँकी पुरानै रुटमा चल्नेछन्। साझाले यसअघि उपत्यकाका विभिन्न रुटमा १६ वटा बस २०७० वैशाख १६ यता सञ्चालन गर्दै आएको छ।

यसअघि सञ्चालित बसभन्दा थपिएका बस बढी सुविधायुक्त छन्। बसमा दुई वटा ह्विलचेयर अटाउने ठाउँ रहेको साझाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए। उनका अनुसार बसभित्र ह्विलचेयर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ। भेन्टिलेसनयुक्त बसमा मोबाइल चार्ज गर्ने सुविधा समेत छ। बसमा चालक सिटसहित ४१ सिट छन्। ११ मिटर लामो बसमा ह्यांगर समातेर उभिएर पनि यात्रा गर्न सकिने साझाले बतायो।

उपत्यकामा चल्ने साझाका रुट

रुट नम्बर १ः लगनखेलबाट जाउलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–सुन्धारा–जमल–लैनचौर–लाजिम्पाट–महाराजगन्ज शिक्षण अस्पताल–नारायण गोपालचोक–बसुन्धरा–नयाँ बसपार्क गुड्नेछ। यो रुटमा १० वटा बस गुड्नेछन्।

रुट नम्बर २ः त्रिभुवन विमानस्थलबाट गौशाला–रातोपुल–डिल्लीबजार–बागबजार–पुरानो बसपार्क–सुन्धारा–जमल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजु चोक–बाइपास–नयाँ बसपार्क रुटमा पनि १० वटा बस गुड्नेछन्।

रुट नम्बर ३ः कोटेश्वरबाट तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–त्रिपुरेश्वर–टेकु–कालिमाटी–कलंकी–सितापाइला–स्वयम्भू रुटमा पनि १० वटा नै बस गुड्नेछन्।

रुट नम्बर ४ः ग्वार्कोबाट–सातदोबाटो–लगनखेल–जाउलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–जमल–लाजिम्पाट–नारायण गोपाल चोक–गंगालाल हृदयरोग अस्पताल–बुढानिलकण्ठ अर्को रुट कायम भएको साझाले जनाएको छ। यो रुटमा ८ वटा बस गुड्नेछन्।

उपत्यका बाहिर

काठमाडौं–बागलुङ, काठमाडौं–गोरखा, काठमाडौं–लुम्बिनी, काठमाडौं–भैरहवा, काठमाडौ–वीरगन्ज चल्नेछन्। यी रुटमा भने एक/एक वटा बस असोज १६ गतेयता चलाउँदै आएको छ।

१० डिलक्स बस थपिने

साझाले उपत्यकाबाहिर सञ्चालन गर्न १० वटा डिलक्स बस थप्ने तयारी गरेको जनाएको छ। साझाकै लगानीमा डिलक्स बस थप्ने बोर्डको निर्णय पारित गरी प्रक्रिया अघि बढाइएको निर्देशक पाण्डेले बताए। उनले नमुनाको रुपमा 'सेमी लो फ्लोर' बस समेत सञ्चालन गर्न लागेको जनाए ।

प्रकाशित: १२ मंसिर २०७३ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App