छोराको बिहेमा दाइजो लिएको आरोपमा पक्राउ परेका महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ६० वर्षीय राम प्रवेश चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
मंगलवार जिल्ला अदालत महोत्तरीका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।
जिल्ला अदालतको चार नम्बर इजलासमा थुनछेक बहस भएपछि चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको जाहेरीवालाको तर्फबाट बहस गरेकी अधिवक्ता रिंकु कुमारी यादवले जानकारी दिइन्।
जाहेरीवालाको तर्फबाट जिल्ला न्यायाधीवक्ता मनोज कुमार गुप्ता र अधिवक्ता रिंकु कुमारी यादवले बहस गरेकी थिइन्। चौधरी विरुद्ध अभियोग पत्र दार्ताभएपछि मंगलवार जिल्ला अदालतमा बहस भएको अधिवक्ता रिंकुले जानकारी दिइन्।
उनले भनिन् ‘चौधरीलाई थुनामा पठाउने की धरौटीमा छाड्ने विषयमा बहस भएपछि अदालतले पुर्पक्षको लागि उनलाई थुनामा पठाउने आदेश दिएको छ।’
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै मुद्दाको किनारा नलाग्दासम्म चौधरी थुनामै रहने भएका छन्। यद्यपि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पुनरावेदन जान सक्छन्।
महोत्तरीको औरही नगरपालिका–१ की २१ वर्षीया नेहा चौधरीले ससुरा राम प्रवेश चौधरी विरुद्ध गत पुस २१ गते जिल्ला अदालत महोत्तरीमा दाइजो सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन्। मुद्दा दर्ता भएसँगै फरार रहेका नेहाकी ससुरा रामप्रवेशलाई महोत्तरी प्रहरीले आइतबार पक्राउ गरेको थियो।
यसअघि नै पक्राउ परेको नेहाकी श्रीमान् डा.पंकज चौधरीलाई अदालतले पुर्पक्षको कारागार पठाइसकेका छन्। नेहाले श्रीमान् पंकजमाथि पाँच वटा मुद्दा दर्ता गराएकी छिन्। अंश, माना चामल, घरेलु हिंसा, जलसाजी लिखित बदर र दाइजो सम्बन्धी मुद्दा हालेकी हुन्। श्रीमान् पंकजले पनि नेहासँग सम्बन्ध विछेद गर्न जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।
नेहा र डा.चौधरीबीच २०७८ फागुनमा विवाह भएको थियो। विवाहमा नेहाकी परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख नगद दिएको थियो। तर पनि दाइजो नपुगेको भन्दै ससुरा पक्षले अझैँ दाइजो ल्याउन यातना दिन थालेको नेहाकी आरोप छ। गत दसैँ टिकाको दुई दिनपछि नेहालाई श्रीमान् पंकजले निर्घात कुटपिट गरेपछि माइती पक्षले उनलाई ससुरालीबाट उद्धार गरी अस्पताल पुर्याएको थियो। उपचारपश्चात् स्वास्थ्यमा सुधार आएपछि उनी श्रीमान्, सासू, ससुरा र ननदसहित ६ जनामाथि मुद्दा दायर गराएकी हुन्।
प्रकाशित: ३० फाल्गुन २०७९ १५:२१ मंगलबार