९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

केचना–कन्चनजंघा सडक: निर्माणाधीन जस्बिरे–चाँपगैरी खण्ड गुणस्तरहीन

केचना–कन्चनजंघा सडकको इलामस्थित जस्बिरे–चाँपगैरी खण्ड। तस्बिर : भीम/नागरिक

मेची क्षेत्रको महत्वाकांक्षी निर्माणाधीन आयोजना केचना–कन्चनजंघा सडकको जस्बिरे–चाँपगैरी खण्डको काम गुणस्तरहीन भइरहेको छ। ठेक्का अवधि सकिन महिनादिन बाँकी रहँदा सडक गुणस्तरहीन देखिएको हो।

सडक डिभिजन कार्यालयको प्राविधिक निगरानीमा ३ करोड २५ लाख रुपैयाँमा ठेक्का लागेको सडकमा नाली निर्माण, बेस र कालोपत्रेसम्मको काम थियो। २.२ किलोमिटरको यो खण्डमा सम्झौताअनुसार गुणस्तरको काम नभएको पाइएको डिभिजनले जनाएको छ। डिभिजन प्रमुख विदुर पोख्रेलले सडकमा बिछ्याउनुपर्ने मोटाइ (थिकनेस) नपुगेको र पूर्ण रूपले सडक सफा नगरी कालोपत्रे बिछ्याउने तयारी गरेको पाइएको बताए।

सडकमा कालोपत्रे गर्नुअघिको काम (बेस) गतवर्षको फागुनमै गरिएको थियो। बर्खाभर कालोपत्रेको काम भएन। अहिले सडकको दर्जनौं स्थानमा खाल्डाखुल्डी परेका छन्। कालोपत्रेका लागि तयार गरिएको सडकमा पुन: तयारीकै काम दोहोर्‍याउनुपर्ने अवस्था रहेको स्थानीयले गुनासो गरेका छन्। ‘पोहोर कालोपत्रे गर्ने भनिएको सडक अहिलेसम्म नगर्दा बर्खामा हिलोले सवारी साधन चलाउन नसकिने र हिउँदमा धुलो उड्ने भएको छ,’ एक स्थानीयले भने, ‘तत्काल यो सडक सुधार नगरे हामी चुप लाग्दैनौं।’

सडकमा न्यूनतम् १५ सेन्टिमिटर बाक्लो बिछ्याउनुपर्ने सामग्री सम्झौताअनुसारको नभएको डिभिजन प्रमुख पोख्रेलले बताए। ‘पातलो थिकनेस भत्किन थालिसकेको रहेछ,’ उनले भने, ‘तर, हामीले ठेकेदारलाई सम्झौताअनुसार काम नगरे भुक्तानी नदिने भनिसकेका छौं।’ डिभिजनले निर्माणमा सम्झौताअनुसार काम गर्न निर्माण पक्षलाई लिखित निर्देशनसमेत दिइसकेको छ।

आउँदो वैशाख १० मा सक्नेगरी नागार्जुन कन्स्ट्रक्सन कम्पनीले सडकमा बेस राख्ने र कालोपत्रेको काम ठेक्का लिएको छ। कम्पनीका केदारबहादुर थापाले सडकमा गुणस्तरहीन काम भइरहेको स्वीकारे। सम्झौताअनुसारकै गुणस्तर कायम गरेरमात्र सडक जिम्मा दिने उनले बताए। ‘सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनअनुसार सडक सुधार्नेछौं,’ उनले भने, ‘निर्माणक्रममा केही ठाउँमा कमजोरी देखिएको भन्ने छ, हामी त्यसलाई सच्याउँछौं।’ उनले फागुनमा बेस हालेर बर्खाभर कालोपत्रे गर्न नपाउँदा सडक गुणस्तरहीन देखिएको दाबी गरे।  

जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई र सिडिओ श्रवणकुमार पोख्रेलले समेत यो खण्डमा निर्माणाधीन कामको अनुगमन गरेका छन्। सिडिओ पोख्रेलले सडक निर्माणको काम सम्झौताअनुसारको गुणस्तरमा नभएको पाइएकाले गुणस्तर कायम गर्न निर्देशन दिइएको बताए। ‘निर्माणमा कमजोरी देखियो तर निर्माण पक्षले त्यसलाई सुधार्ने प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘सम्झौताअनुसार काम नभए भुक्तानी नहुने भनिसकेका छौं।’ 

नेपालकै होचो स्थान झापाको केचनाबाट विश्वको तेस्रो अग्लो शिखर ताप्लेजुङको कन्चनजंघा बेसक्याम्पसम्म पुर्‍याउने लक्ष्यसहित यो सडक निर्माण भइरहेको छ। डिभिजन कार्यालयका अनुसार २ सय ३२ किलोमिटरको यो सडकको विभिन्न भागमा अहिले कटिङ, स्ट्रक्चर र कालोपत्रेको काम भइरहेको छ । यो सडकले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने छ।  

प्रकाशित: ३० फाल्गुन २०७९ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App