२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ओझेलमा झण्डै पाँच सय वर्ष पूरानो धुलीकोट राज्य

मोहन्याल गाउँपालिका–७ राजकाँडामा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। चिसापानीदेखी पैदल यात्रा र लम्कीदेखी सडक मार्ग हुँदै आन्तरिक पर्यटक राजकाँडा पुग्न थालेका छन्।

चुरेको चुचुरोमा अवस्थित राजकाँडा निकै रमणीय छ। यहाँबाट दक्षिणतर्फ तराईको समथर भूभाग र उत्तरतर्फ चुरे पर्वत श्रृङ्खला देख्न सकिन्छ। उत्तरतर्फ नै धेरै पर सेताम्मे हिमाल पनि राजकाँडाबाट सहजै देख्न सकिन्छ।  

आँखैले देख्न सकिने भेरी र कर्णाली नदीको दोभान। कर्णाली नदीको पुल, बिहानीपखको सुर्योदय। जताततै हरियाली। राजकाँडाका यीनै कुराले पर्यटकलाई लोभ्याउने गरेको छ।

स्थानीय मीनबहादुर बोहराले घुम्न आउनेको संख्या बढ्न थालेको बताए। उनले आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि गाउँमै होटल सञ्चालन गरेका छन। उनको होटलमा २०/२५ जनाबास बस्न सक्छन। ‘घुम्न आउने मान्छेले भोगेको समस्यालाई मध्यनजर गरेर होटल सुरु गरेको हुँ’उनले भने–‘नाफा कमाउने भन्दा पनि घुम्न आएको मान्छे दु:खपाएर फर्किन नपरोस् भन्ने हो।’

राजकाँडा प्राकृतिक रुपमामात्रै रमणीय छैन। यसको ऐतिहासिक महत्व पनि उत्तिकै छ। राजकाँडा कुनै बेलाको धुलीकोट राज्यको मुकाम हो। तत्कालिन धुलीकोट राज्यका अवशेषहरु राजकाँडामा भेट्न सकिन्छ।  

दरवारको भग्नावशेष प्रष्टै छ। त्यस वरपर पूरानाईट्टा देख्न सकिन्छ। तीईट्टा अहिले पनि जस्ताको त्यस्तै छन। दरवार क्षेत्र स्थानीयले अतिक्रमण गरेका छन। टुँडिखेल, भैरवस्थान, देवीस्थान, देवल, रानीकुवा, ओखल, खजाने ओडार, हात्तिसार, निशाने ढुंगा, हात्तिढुंगा अहिले पनि देख्न सकिन्छ। दरवारसँग जोडिएका यीकुराहरु मासिदै गएका छन्।  

वि.सं. २०२८ मा दैलेखबाट बसाई सरेर आएका ६२ वर्षका अमरसिँह बुढा युवावस्थासम्म पनि दरवारका धेरै कुरा देख्न पाएको बताउँछन। उनले अहिले भग्नावशेष बनेका थुप्रै भौतिक संरचना आफूले देखेको बताए। ‘दरवार थियो। त्यहाँ नजिकै मन्दिर पनि थियो। त्यस वरपर तामाका पैसा भेटिन्थे’ उनले भने–‘घरमा अभिभावकले नल्याउनु भन्थे।’उनले धेरै कुरा संरक्षणको अभावमा मासिएको बताए।

इतिहासविद् प्रा.डा. राजाराम सुवेदीका अनुसार धुलीकोट राज्य वि.सं. १५९० मा स्थापना भएको हो। यस राज्यमा १२ गाउँ डाँडादरा, १२ बण्डाल, १२ मलवारा र ८ तप्पारहेका थिए। भारतको मथुरा हरद्वारदेखी लखिमपुर जिल्लाको रानीगञ्ज र अमिलिया समेत यसै राज्यमा पर्दथे।

सुवेदीले गरेको अध्ययन अनुसार धुलीकोट राज्यमा २६ जना राजाले राज्य गरेका थिए। तीमध्ये १६ जनाले नेपाल एकिकरण अघि राज्य गरेका थिए। वि.सं. १८४६ माधुलीकोट राज्य नेपालमा विलय भएको थियो। कालु पाण्डेको नेतृत्वमा रहेको नेपाली सेनासँग सुर्खेतमा पराजित भएपछि धुलीकोट राज्य नेपालमा विलय भएको सुवेदीले उल्लेख गरेका छन्।

उनका अनुसार त्यसपछि पनि १० जना राजाले राज्य गरेका थिए। उनीहरु झण्डै एक शताब्दी भारतको लखिमपुरमा बसे। वि.सं. १९११–१२ मा भएको नेपाल–भोट युद्धमा धुलीकोटे राजाले नेपाललाई सघाए। त्यसपछि उनीहरु नेपाल बसोबास गर्न थालेका थिए। वि.सं. १९१७ मा अंग्रेजले हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरे। तत्कालिन जंगबहादुर राणाले यहाँ आवादी सुरु गरे। उनी बेलाबेलामा शिकारका लागि आउन थाले। वि.सं. १९१८ माउनी शिकार खेल्न आएको बेलाधुलीकोटे राजाकुलराज सिँह रायलाई निगरानीमा राखे। उनले राणाको सेवा सत्कार गरे। राणा रायको सेवा सत्कारबाट खुशी भए।

वि.सं. १९२५ देखी लागु हुने गरी राणाले राजा रायलाई केही अधिकार प्रदान गर्दै धुलीकोटे राज्यको पुरानो भुभाग प्रदान गरे। उनले शासनकालमा धुलीकोटमा धेरै काम गरेको पाईन्छ। उनको शेष पछि छोरा जगतमानसिँह रायले शासन सम्हाले।

धुलीकोट राज्यकाप्रथम राजाप्रभात रायहुनभने अन्तिम राजा नरेन्द्र विक्रम रायहुन। अन्तिम राजाले समेत धुलीकोट राज्यमा प्रशस्त काम गरेको पाईन्छ। उनकी दुई रानी थिईन। जेठी रानी चन्द्राकुमारी भारतको सिँघाईका राजाकी छोरी थिईन भने कान्छी रानी पद्मकुमारी भैरवनरसिँह राणाकी छोरी थिईन। उनीहरु दुवै रानीबाट सन्तान थिएन।  

उनी सन्तान सुख प्राप्त गर्नका लागि सिँघाईस्थित आफ्नै जेठानकी छोरीलाई तेस्रो रानीका रुपमा भित्र्याउने सोचमा थिए। काठमाण्डौंबाट सिँघाई जाने क्रममा हैजा लागेर राजाको निधन भयो।  

राजाको निधन पश्चात जेठी रानी सती गईन। कैलालीस्थित सत्तीको नामाकरण यही घटनाबाट भएको बताईन्छ। राज्यको बागडोर कान्छी रानी पद्मकुमारीले सम्हालिन। धुलीकोटे राजामौषअनुसार कहिले काँही सत्तीमा समेत बसोबास गर्थे। त्यहाँ शिवालय छ। सत्तीस्थित शिवालकहिले निर्माण भएको हो भन्ने एकिन छैन। तर त्यहाँप्रयोग भएका ईट्टामा ‘१७०५ सम्वत्’ लेखिएको छ।

रानी पद्मकुमारीले शिवालयको जिर्णोद्वार गरिन। उनले ५० धार्नीको घण्ट चढाईन। त्यस्तै घण्ट धुलीकोटे चौतरियाहरुले गाइने काँडा भैरवनाथ कुलदेवतालाई चढाए। सुवेदीले लेखेका छन –‘सत्ती शिवालयको घण्ट र गाइने काँडाको घण्टको आवाजआपसमा सुनिन्थ्यो।’

वि.सं. १९७५ मा रानी पद्मकुमारीले तत्कालिन राणालाई राज्य सुम्पिएकी थिईन। उनले सन्तान पनि नभएको, राजा परलोक भईसकेको, राजाका भाईहरु नभएकोले आफूलाई जीविकाको लागि वार्षिक ६ हजार रुपैयाँको मागगर्दै राज्य खारेजको माग गरेको बताईएको छ। तत्कालिनश्री ३ भीमशसशेरले रानीको माग सुनुवाई गरेका थिए। उनले नै धुलीकोट राज्यको दक्षिणतर्फको भुभागलाई आफ्नी श्रीमती र छोरा नातीहरुलाई बिर्ता लेखाएको इतिहास छ।  

धुलीकोटे राजाले आफ्ना भाईहरुलाई लखिमपुर, रानीगञ्ज, मोहना, तिकुनीया, इमिलियासम्म अंशबण्डा गरिदिएका थिए। उनीहरुको बसोबास भने गाइनेकाँडामा थियो। उनीहरुका सन्तान हाल बर्दियाको विभिन्न ठाउँमा बसोबास गर्ने गरेको पाईन्छ।

चौतरियाहरुले केही नपाएको भन्दै व्रिदोह गरे। चौतरिया रणविक्रमसिँह रायले केही लडाकु र हतियार लिएर दैलेख तहविल लुट्ने योजना बनाए। बडा हाकिमले थाहा पाए पछि उनको योजना विफल भयो। एकथरीले उनी लुकेर भागेको भनेका छन भने अर्को थरीले उनलाई पक्राउ पछि पट्के कागज गराएर छोडिएको थियो।  

वि.सं. १९९१ तिर रानी पद्मकुमारीले बर्दियाको भौँरा तप्पा, लखिमपुर,अमिलिया र रानीगञ्जको केही जमिन पूजारीलाई मटिदान बिर्ता दिएपछि चौतरियाहरु रिसाएका थिए। चौतरियाका सन्तान रणविक्रम शाहले ‘नेपालमान्यायमिल्दैन’भनेर इलाहावाद उच्च न्यायालयमा मुद्दा दायर गरे। सो न्यायालयले ई. १९५७–५८ मा‘हिन्द ुविधि अनुसार विधवारानीले आफ्ना खुशीले बिर्ताएको जमिन भाइअंशबाट टुटाई अन्यत्र गर्न नपाईने’ फैसला गरिदियो। तर सो फैसला हुँदा अमिलिया, रानीगञ्ज, लखिमपुर र त्रिकोलियाको जमिन भारतीय उत्तर प्रदेशमा जमिन्दारी प्रथा उन्मुलन गर्ने कानून पारित गरेकाले उनीहरुले हकदावी गर्न नपाउने भए।

उनीहरु राणा विद्रोहमा लागे। वि.सं. २००७ सालमा प्रजातन्त्र आयो। उनीहरुले सर्वोच्च अदालतमा मुद्दा हाले। खड्गविक्रम शाहले वि.सं. २००८ मा तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई भेटेर कुरा राखे। उनले जमिन्दारी प्रथाका साथै बिर्ता समेत उन्मुलन गर्ने नीति लिएको बताए पछि शाहले तारिख छोडि दिए।

ऐतिहासिक महत्व बोकेको राजकाँडाको संरक्षणमा कसैको ध्यान जान सकेको छैन। मोहन्याल गाउँपालिकाले यसको ऐतिहासिक महत्वका बारेमा कुनै पहल गरेको पाईएको छैन। विगत पाँचवर्षको अवधिमा समेत स्थानीय सरकारले कुनै काम गर्न नसकेको स्थानीयको गुनासो छ।

गाउँपालिका उपाध्यक्ष कमल साउँद राजकाँडाको ऐतिहासिक महत्व उजागार गर्ने कार्यमा ध्यान केन्द्रित गर्ने बताउँछन। उनले पालिकाले आफूले नसकेको काममा अन्य निकायको समेत सहयोग लिएर राजकाँडाको ऐतिहासिक महत्व संरक्षण गरिने बताए। ‘विगतमा भयो भएन भन्दा पनि अब हामीले गरेर देखाउने हो’ उनले भने–‘यसको ऐतिहासिकपक्षको अध्ययन अनुसन्धान हुन्छ।’

प्रकाशित: २६ फाल्गुन २०७९ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App